+
+
रिपोर्ट :

उच्च सुरक्षा निगरानी हुने क्षेत्रमै सुन तस्करको रजगज

सुरक्षा निकायको उच्च निगरानी रहने संवेदनशील क्षेत्रमै चिनियाँ तस्करहरूले गोदाम राखेर सुन ओसारपसारको काम गर्दा समेत तत्काल थाहा नपाउनुले नेपालको राज्य प्रणालीलाई तस्करले हदैसम्म हेपेर व्यवहार गरेको स्पष्ट हुन्छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन १४ गते १९:५५

१४ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) बाट ३० मिटर चोकतिर अगाडि बढेपछि दायाँतर्फ बिजुलीको पोल छ । पोलमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी देखिने गरी जोडिएको सीसी क्यामेरा छ ।

यो क्यामेराले सिंगो सोह्रखुट्टे चोकको गतिविधि देख्छ । क्यामेरा भएको पोलबाट ५०० मिटर पश्चिमतर्फ (ढल्कु जाने बाटो) मा अर्को सीसी क्यामेरा छ । चोकबाट बालाजुतर्फ लाग्ने मोडैमा फेरि अर्को सीसी क्यामेरा छ । त्यो क्यामेराले सोह्रखुट्टेबाट कुमारी क्लबतर्फ जाने बाटो र बालाजुतर्फ जाने अनि ठमेलतर्फ लाग्ने बाटोको गतिविधि देखिन्छ । सोह्रखुट्टे चोकमा रहेको यो तेस्रो क्यामेरा हो ।

यिनै सीसी क्यामेराबाट कैद हुँदै कुमारी क्लबतर्फ (चोकबाट उत्तरतर्फ म्हैपी जाने बाटो) अघि बढ्दा बायाँतर्फको तेस्रो बिजुलीको पोलमा अर्को सीसी क्यामेरा छ । जसले कुमारी क्लबबाट चोकतर्फ आउनेका गतिविधिको रेकर्ड राख्छ ।

बिजुलीको यही पोलबाट थप दोस्रोे पोलमा अर्को क्यामेरा छ । जसबाट कुमारी क्लबतर्फको चोक र गतिविधि देखिन्छ । तर, अचम्म के भने यही दुई बिजुलीको पोलको बीचमा रहेको सडक छेउकै सटरमा चिनियाँ तस्करले ब्रेक शु गाल्ने र सुन छान्ने गोदाम राखेका थिए । जुन गोदाम सोह्रखुट्टे प्रहरी वृत्तबाट मुश्किलले ५०० मिटर टाढाको दूरीमा छ ।

सोह्रखुट्टेस्थित सुन तस्करले लिएको भाडाको सटर, जुन प्रहरी बृत्त सोह्रखुट्टेबाट पाँच सय मिटरको दूरीमा छ ।

असार अन्तिम सातादेखि भाडामा लगाइएको मूल सडकको सटरमा हङकङबाट नेपाल भित्र्याएको ११०० थान बढी ब्रेक शुबाट अनुमानित करिब ७०० केजी सुन छुट्याइएको र अन्यत्रै पठाइसकिएको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । साउन २ गते विमानस्थल भन्सार परिसरबाट १०० किलो सुन समातिए यताका केही दिनमा सो कार्य भएको अनुमान छ ।

प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार र प्रहरी प्रशासनको सामुन्नेमा सयौंं किलो सुन समातिएको केही दिनयता गरेका विभिन्न अप्रेशनमा उपलब्ध प्रमाणले प्रहरीको नाकैमुनि चिनियाँ तस्कर समूहले आफ्ना गतिविधि गरेको देखाएको छ ।

लाजिम्पाटको मूल सडकबाट आन्तरिक राजस्व कार्यालय हुँदै भारतीय दूतावासको मूल गेट नजिक निस्कने एउटा बाटो छ । काठमाडौं ४ नम्बर वडा कार्यालयसम्म मात्रै सानो भ्यान र ट्याक्सी एकतर्फी आवतजावत गर्न सकिने बाटोको सटरमै चिनियाँले सुन लगायत अवैध धन्दा गर्न गोदाम भाडामा लिएका थिए । जुन गोदाम लाजिम्पाटको मूल सडकबाट २०० मिटर भित्री बाटोको सटरमा छ ।

लाजिम्पाटस्थित एक घरमा सुन तस्करले लिएको भाडाको सटर, जुन उच्च सुरक्षा सतर्कता रहने भारतीय दूतावाससँगै जोडिएको छ ।

केही दिनअघि राजस्व अनुसन्धान विभागले छापा मारेर सो गोदाम सिल गरेको छ । सुन तस्करीमा संलग्न कम्पनी रेडी ट्रेडर्सले आयात गरेका वस्तुहरू र अनुसन्धानलाई सघाउ पुग्ने कैयौं विवरण यो गोदाममा फेला परेका थिए । गोदामको १०० मिटर भित्र रहेको अर्को एक घर भाडामा लिएर चिनियाँहरू बसेका थिए । अहिले यी दुवै ठाउँ सिल गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट उत्तर पश्चिम महाराजगञ्जतर्फ लाग्दा आईओएम अघि पहिलो मोड आउँछ । मोडबाट दायाँ लागेर थोरै अघि बढेपछि भैरवनाथ गण पुगिन्छ । गणको पूर्वी सिमाना सकिने छेवैमा चिनियाँको अर्को गोदाम भेटियो । वरपर टन्नै किराना र खाजा पसल रहेको मूल सडकको सामुन्नेको सटरमा चिनियाँले गोदाम भाडामा लिएका थिए ।
स्थानीय बाबुलाल डंगोलको तीनतले घरको पहिलो सटर तीन महिना अघि चिनियाँले भाडामा लिएका हुन् । विमानस्थलमा २ साउनमा भेटिएको सुन यही गोदाममा ल्याउन लाग्दै गर्दा विभागको टोलीले पक्राउ गरेको थियो ।

सुनतस्करीले बालुवाटारमा भाडामा लिएको सटर । 

सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले गरेको दुई हप्ता लामो अनुसन्धानमा चिनियाँ तस्कर समूहले नेपालको सुरक्षा प्रणालीलाई समेत सहजै चुनौती दिइरहेको भेटिएको छ । हालसम्म विभागले गरेको कारबाहीमा उच्च सुरक्षा निगरानी हुने क्षेत्रको मूल बाटोमै अवैध कारोबार गर्न तस्कर समूह हिम्मतका साथ लागेको देखिएको छ ।

मूल सडकमै निर्वाध धन्दा

नयाँबजारका प्रकाश महर्जन कुमारी क्लब छेउमा वर्कशप व्यवसाय गर्छन् । एक दशकदेखि सो पेशामा रहेका उनले केही वर्षअघि नजिकैको एक खाली जग्गामा बनेको टहरो दुई वर्षका लागि भाडामा लिएका थिए । सो अस्थायी टहरामा दर्जन बढी पसल थिए ।

जसमध्ये ४ वटा सटर कुमारी क्लब सोह्रखुट्टे रोडमा जोडिएका छन् । त्यसैमध्येको एउटा सटर ६ महिनादेखि खाली थियो । छेउका ३ वटा सटरमा भने खुकुरी, बुटिक लगायत पसल थिए । असार २६ गते गौतम थर बताउने एक जना नेपाली सो सटर भाडामा माग्दै प्रकाश भएको ठाउँमा आए ।

मेशिनरी सामानको गोदाम राख्ने भन्दै ६ महिनाका लागि सटर चाहिएको र सटर चाइनिजका लागि भएको गौतमले प्रकाशलाई बताए । सोही दिन गौतमले फेरि चाइनिज लिएर त्यहीं आए । चाइनिजले आफ्नै भाषामा केही बोले गौतमले नेपालीमा उल्था गर्दै भाडामा लिन राजी रहेको कुरा सुनाए ।

मासिक ५० हजारका दरले भाडा दिन चाइनिज राजी भए ६ महिनाको अग्रिम भाडा दिए । ‘अग्रिम भाडा दिएर उनीहरूले सटरमा ताल्चा लगाए । भाडामा दिन सम्झौता गौतमले प्रकाशसँग गरे’ महर्जनले भने । दिनभर जसो बन्द हुने सटर भाडामा लगाइएको दुई सातासम्म पनि कोही मान्छे आएको आफूले नदेखेको प्रकाश बताउँछन् ।

चाइनिजले भाडामा लिएको सटरसँगै जोडिएका अन्य दुई पसलका सञ्चालकले पनि आफूहरूले सो सटर खुलेको नदेखेको बताए । ‘सयौं किलो सुन छेवैको सटरमा रहेछ, समाचार हेरेपछि थाहा पाइयो’ नजिकै बुटिक चलाउने एक महिलाले हाँस्दै भनिन्, ‘कुनै दुलोबाट छिरेर यताको सटरमा आएको भए पनि हुने !’

बिहान ९ बजे आसपासबाट बुटिक खोल्ने र साँझ ८ बजेतिर घर जाने आफूले पछिल्लो दुई सातामा सटर खुलेकै नदेखेको र कुनै शंकास्पद मानिस पनि नआएको ती बुटिक सञ्चालक महिलाले अनलाइनखबरलाई बताइन् ।

वरपरका पसल संचालक तथा स्थानीयहरूले बुधबार साँझ राजस्व अनुसन्धान विभागले छापा मारेपछि मात्रै सो सटरमा चिनियाँले अवैध गतिविधि गरेको बारे थाहा पाएको बताए । स्थानीय मानिसहरू पसल बन्द गरेर सुत्न गएपछि चिनियाँहरू आएर अवैध धन्दा गर्ने गरेको आशंका उनीहरूको छ ।

रातको समयमा भएको यो अवाञ्छित गतिविधि माथि नजिकैको प्रहरीको समेत आँखा नपरेकोमा स्थानीयहरू आश्चर्यचकित छन् । ‘प्रहरी चौकीको ५०० मिटरको दूरीमा रहेको मूल सडककै सटरमा मेशिन राखेर ५०० किलोभन्दा बढी सुन ओसारपसारमा हुँदा थाहा नपाउनु त आश्चर्यकै कुरा भयो’, एक स्थानीयले भने ।

‘मूल सडकमा जताबाट मानिस र गाडी छिरे पनि प्रहरीको ठूला दुई वटा सीसी क्यामेराले कैद गर्छ’ ती स्थानीय भन्छन्, ‘स्थानीय सुते पनि प्रहरीको २४सै घण्टा अलर्ट गतिविधि हुने सोह्रखुट्टे चोक छेवैमा कसरी चाइनिजले यत्रो अवैध गतिविधि गर्न सके ?’

स्थानीय सुमन डंगोल भित्रको गतिविधि थाहा नभएको मान्न सकिए पनि मध्यरातमा सामान ओसारपसार त भएको थाहा नपाउनु गम्भीर सुरक्षा चुनौती भएको बताउँछन् । ‘प्रहरीको केन्द्रीय अनुगमन इकाइबाट मनिटरिङ हुने दुई सीसी क्यामेरा र यस क्षेत्रका दर्जनौं क्यामेरामा सो गतिविधि कैद भएको हुनसक्छ, तर प्रहरीले किन घटना बाहिर ल्याएन ?’ उनले प्रश्न गरे ।

लाजिम्पाट र बालुवाटारमा चिनियाँले भाडामा लिएको घर र गोदाम वरपर भेटिएका स्थानीयहरू तस्करले नाकैमा फोहोर गरेको बताउँछन् । उनीहरू नेपालको सुरक्षा प्रणालीले यो सबै थाहा नपाउनुमा कि गम्भीर सुरक्षा हेलचेक्र्याइँ वा मिलोमतो देख्छन् ।

‘मानिसको धेरै आवतजावत हुने, प्रहरी गतिविधि धेरै हुने ठाउँमै उनीहरूले यस्तो काम गर्ने गरेको देखेर अचम्मित छु’ लाजिम्पाटका स्थानीय अनिल श्रेष्ठले अनलाइनखबरसँग भने, ‘नेपालको डर नमान्ने चिनियाँ तस्करले भारतीय दूतावाससँगै जोडेर तस्करीको गोदाम खोलेको चाहिं अचम्मलाग्दो छ ।’

दिनमा सर्वसाधारणको चहलपहल छल्न चिनियाँले गतिविधि नै नगरेको हुनसक्ने भन्दै उनी भन्छन्, ‘राति चिनियाँ सल्बलाएको त सुरक्षा प्रशासनले देख्नुपर्छ नि !’

बालुवाटारमा चिनियाँको गोदामसँगै एउटा किराना पसल छ । सँगै अर्को बुटिक र सिलाई–बुनाई पसल छ भने सामुन्ने अघि आधा दर्जन चिया खाजा पसल छन् । मध्यरातसम्म खुल्ने एक खाजा पसले समेत यहाँ चिनियाँको गोदाम भएकोमा आश्चर्यचकित छन् ।

‘साउन २ गते मध्यरातमा केही मान्छे सहित राजस्वका कर्मचारी आएपछि मात्रै हामीले थाहा पायौं’ ती पसले भन्छन्, ‘विदेशीले सुनको गोदाम त्यो पनि बालुवाटारको मूल सडकमा राखेको भनेर कसरी पत्याउने ?’

७०० किलो सुन ‘ओसारपसार’

नयाँबजार सोह्रखुट्टेको गोदामबाट १३ सय २० थान ब्रेक शु सुन निकालिएको अवस्थामा भेटिएको राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानमा देखाएको छ । विभागका अधिकारीहरूका अनुसार २ साउनमा विमानस्थलमा फेला परेको ब्रेक शुमा एक जोडीको तौल एक हजार ग्राम थियो । तर, सोह्रखुट्टेमा बरामद गरिएको खोलिसकिएको ब्रेक शुको तौल ४६५ ग्रामको मात्रै छ ।
सोही गोदाममा दुई वटा सुन पगाल्ने मेशिन फेला पर्नु र फेला परेका ६६ कार्टुन खोलेर रि–प्याकिङ भएको अवस्थामा रहनुले ७०० किलो बढी सुन यहींबाट गायब बनाइएको अधिकारीहरूको आशंका छ ।

‘कार्टुन खोलिनु, कुल तौलबाट ५३५ ग्राम झिकिएको पाइनु सुन लगेको स्पष्ट संकेत हो’ विभाग उच्च स्रोेत भन्छ, ‘यो प्रकरणको विस्तृत अनुसन्धान भइरहेको छ ।’ विमानस्थलमा सुन समातिएको केही दिनअघि नै नेपाल भित्रिएको सुन सोह्रखुट्टेबाट अन्यत्र व्यवस्थापन गरिएको हुनसक्ने र त्यसबारेमा सरकारका अन्य निकाय बेखबर रहनु गम्भीर विषय भएको विभागको ठम्याइ छ ।

काठमाडौं महानगरपालिका १६ का जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रको सुरक्षित भनिएको ठाउँको मूल सडकमै अवैध सुनको यत्रो धन्दा भएकोमा आश्चर्य प्रकट गरे । वडा सदस्य हर्कबहादुर खातीले घटना भएको ठाउँ २४सै घण्टा सुरक्षा उपस्थिति रहने र सीसी टिभीको निगरानी रहेको क्षेत्र भएको बताए ।

‘चोकदेखि सुन राखेको भनिएको सटरसम्म आधा दर्जन बढी सीसी क्यामेरा छन्’ वडा सदस्य खातीले भने, ‘तर यहींबाट सयौं किलो सुन अन्यत्र लगियो भनेपछि यो त सुरक्षाको दृष्टिले पनि ठूलै जोखिम हो ।’

त्यहाँ रहेका सीसी क्यामेरा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा जोडिएको र त्यहींबाट निगरानी हुने पनि उनले बताए । वडा अध्यक्ष मुकुन्द रिजालले पनि आफूले यस बारेमा समाचारबाट मात्रै थाहा पाएको बताए । प्रहरी कार्यालय र वडा कार्यालय जोडिएको र घटना भएको ठाउँ मुश्किलले ६०० देखि ७०० मिटरको दूरीमा रहेको उनले बताए ।

उच्च मनोबलका तस्करहरू

तस्करीको सुन प्रकरणमा अहिले राजस्व अनुसन्धान विभाग एक्लै काम गरिरहेको छ । विभाग स्रोतका भनाइमा, प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा विभागले विमानस्थल भन्सार हाताबाट १०० किलो सुन बरामद गरेको थियो ।

तस्कर समूहलाई सूचना चुहिने भयले एक्लै अप्रेशन अघि बढाएको बताउने विभागले विमानस्थलबाट सुन बरामद भएको केही दिनमै यस्तै किसिमको तस्करी पछिल्लो तीन महिनायता नियमित रहेको बताएको छ ।

सोह्रखुट्टे प्रहरी कार्यालय र कार्यालयको दुई वटा सीसी टिभीको निगरानीमा रहने क्षेत्रमा तस्करीको सुन अड्डा रहेको सम्बन्धमा कुरा गर्दा काठमाडौंभरिको सीसी टिभी निगरानी गर्ने उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुन प्रकरणबारे आफूहरूले अनुसन्धान नगरेको जनाएको छ ।

‘काठमाडौंमा प्रचुर मात्रामा सीसी टिभी छन् । अझै कैयौं ठाउँमा जडान हुँदैछन्’ कार्यालयका एक उच्च अधिकारीले भने, ‘यस प्रकरणमा राजस्वले नै अनुसन्धान गरिरहेकाले हामीले केही गरेका छैनौं ।’

सुन तस्करीको विषयमा देखिइरहेको परिदृश्यले नेपालको सुरक्षा कमजोरीमा चिनियाँ हाइटेक तस्करले भरपुर फाइदा लिइरहेको देखिएको पूर्व प्रहरी नायव महानिरीक्षक पीताम्बर अधिकारी बताउँछन् । पहिले भारतसँग मात्रै सतर्क रहने नेपालको सुरक्षा प्रणाली अब विभिन्न बहानामा नेपाल भित्रिएका चिनियाँहरूमाथि पनि केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

तत्काल गर्नुपर्ने अर्को काम भनेको घरभाडा सम्झौताको विवरण स्थानीय निकायसँगै सुरक्षा निकायमा पनि हुनुपर्ने र यसको सुरक्षाको दृष्टिकोणले विश्लेषण आवश्यक भएको उनी बताउँछन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायत चिनियाँको अहिलेको गतिविधिबारे राजस्वले छानबिन गरिरहेको र यसलाई प्रहरीले एक जना अधिकारी मार्फत सहयोग गरिरहेको बताउँछन् । सुरक्षा संवेदनशील क्षेत्रमा चिनियाँको गतिविधिबारे भने प्रहरी मात्रै संवेदनशील नहुने उनले बताए । उनीहरूको गतिविधिबारे काम गर्ने अन्य एजेन्सी पनि चनाखो हुनुपर्ने कडायत बताउँछन् ।

‘पक्कै पनि चिनियाँ गतिविधि निगरानी गर्नुपर्ने अवस्थाकै हो’ उनले भने, ‘तर उनीहरू उद्योग खोल्न कसरी आए ? भिसा सकिएको छ कि छैन भन्नेबारे अन्य निकाय पनि सचेत हुनुपर्‍यो । प्रहरीलाई पनि जानकारी दिनुपर्‍यो ।’

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?