+
+

एमालेले सुन तस्करीमा उच्चस्तरीय समितिको अडान नछाडेपछि संसद स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १७:१७
फाइल तस्वीर

१५ साउन, काठमाडौं । प्रमुख दलहरुबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि सोमबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

१० साउनमा नेकपा एमालेले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद अवरोध गरेको थियो । त्यतिबेला सभामुख देवराज घिमिरेले सोमबारका लागि बैठक तोकेका थिए ।

संसदको अवरोध खोल्ने विषयमा सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता पनि भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग पनि छलफल गरे । भेटमा प्रधानमन्त्री संसदको अवरोध खुलाउने र सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयक अगाडि बढाउने विषयमा सकारात्मक भइदिन आग्रह गरेका थिए ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जारी अवरोध खुलाउने सहमति भएको थियो । सुरुमा एमालेको एक जना सांसदले बोल्ने र त्यसपछि सुन प्रकरणको विषयमा गृहमन्त्रीले जवाफ दिने तय भएको थियो ।

‘तर बालुवाटारमा भएको सहमति एमालेले बानेश्वर आएर उल्लंघन ग¥यो’, पाण्डे भन्छन्, ‘शीर्ष तहमा सहमति भयो भनेर गृहमन्त्री जवाफ दिने तयारी गरेर दिउँसो १ बजे नै संसद भवन आउनुभयो । तर, एमालेले बोली फेरेपछि बैठक नै बस्न सकेन ।’

एमालेले भने सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको अडान रहेको बताएको छ । ‘हाम्रो बटम लाइन नै हो– कुनै सम्झौता वा सहमतिबाट उच्चस्तरीय छानबिन समिति नबनाउने कुरा हामी गर्दैनौं’, एमाले सचेतक महेश बर्तौलाले अनलाइनखबरसँग भने ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । एमाले सचेतक बर्तौला भन्छन्, ‘मंगलबारको बैठक सञ्चालन गर्ने सम्बन्धमा पनि एमालेको फरक कुरा हुँदैन ।’

राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो । उच्च तहको संलग्नताविना विमानस्थलबाट सुन तस्करी हुन नसक्ने भन्दै एमालेले यो विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि प्रश्न उठाउँदै उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरेको हो । सुन तस्करी प्रकरणमा सरकारको जवाफ सुन्नु भन्दा पहिले समिति गठन हुनुपर्ने एमालेको अडान छ ।

बर्तौला भन्छन्, ‘विमानस्थलको सुरक्षा घेरा तोडेर सुन बाहिरिएको छ । यस सम्बन्धमा सरकारले नै गर्ने अनुसन्धानमा हामीलाई विश्वास छैन । छुट्टै उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्छ ।’

सत्तारुढ दलहरुले भने सबै घटनामा उच्चस्तरीय छानबिन समिति गठन गर्नु उचित नहुने बताइरहेका छन् । सरकारी अनुसन्धान टुंगोमा पुगेपछि मात्रै संसदले छानबिन समिति बनाउन सक्ने उनीहरुको तर्क छ ।

संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पनि पहल गरेका थिए । उनले ‘संसद चल्ने भयो आउनुहोस्’ भनेर सबै दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएका थिए । ‘सभामुखले विशेष समय र शून्य समयको विषयमा कुरा गर्न खोज्दै हुनुहुन्थ्यो एमालेका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद नचल्ने अडान राख्नुभयो’ माओवादीका मुख्य सचेतक पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?