+
+

चितवनमा महिलाले नि:शुल्क यात्रा गर्न पाउने रवि लामिछानेको ब्लू बस सञ्चालनमा

सुवास पण्डित सुवास पण्डित
२०८० साउन १७ गते १५:४६

१७ साउन, चितवन । चितवन क्षेत्र नं. २ बाट दोस्रोपटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

क्षेत्र नं. २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनादेखि स्वास्थ्य बीमा, महिलाहरुका लागि नि:शुल्क बस, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर नि:शुल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण लगायत घोषणा गरेका छन् ।

निर्वाचित भएको १०० दिनसम्मको तयारी पछि उनले घोषणा गरेका कार्यक्रम, कार्यालय सञ्चालन, कार्यकारी अधिकृत जस्ता विषय निर्वाचित क्षेत्रमा सांसदको खर्च बढाउने गरी सार्वजनिक भएका छन् । ३२ सिटे निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिइएको सांसद रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । सो बसमा महिलाहरु मात्रै चढ्न पाउने छन् र उनीहरुले बसको भाडा तिर्नुपर्दैन ।

भाडामा चल्ने बसको पुरानो स्वरुपको रंगलाई बदलेर राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह नीलो रंग लगाइएको छ । स्वकीय सचिव सिग्देलका अनुसार हरेक दिन बिहान बस कालिका नगरपालिकाको शक्तिखोरदेखि चल्न सुरु गरेर जुटपानी, खोलेसिमल पदमपुर हुँदै भरतपुर आउने छ ।

भरतपुरको वाइपास रोड, सरकारी अस्पताल, चौबिसकोठी पुल्चोक, पोखरा बसपार्क, देवघाट, ठिमुरा रामनगर, पोखरा बसपार्क, पुल्चोक शिवघाट, धर्मचोक चौबिसकोठी, अस्पताल रोड, हाकिमचोक बसपार्क लगायत क्षेत्रमा घुमिरहने स्वकीय सचिव सिग्देलले जानकारी दिए ।

बस रातिमा बास बस्न शक्तिखोर नै जानेछ । बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटो सहितको एक कार्ड दिइने छ । सो कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । यस्तो कार्ड सुरुको चरणमा ५०० र पछि आवश्यकता अनुसार थप गरिनेछ । कार्ड मार्फत बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने स्वकीय सचिव सिग्देलले बताए ।

बस भित्र आफ्ना गुनासा तथा सुझावहरु राख्न सुझाव पेटिका, स्यानिटरी प्याड लगायत सामग्री राखिनेछ । बसका सिट कभर घण्टी चिन्ह सहितको नीलो कपडाले बेरिएका छन् । बसभित्र रवि लामिछानेले गरेको अपील बजिरहने व्यवस्था मिलाइएको छ । अहिले हाल एउटा मात्रै बस चलाएर परीक्षण गर्ने र पछि आवश्यकता अनुसार बसहरु थप्दै लैजाने योजना रहेको सांसद लामिछानेले बताएका छन् ।

लामिछानेले निर्वाचन जितेको १०० दिनको अवसरमा गरिब तथा विपन्न नागरिकका लागि ५ लाख बराबरको स्वास्थ्य बीमा, ६५ वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धा र अशक्तलाई घरमा नै गएर स्वास्थ्य जाँच गर्ने एक भ्यान सहितको चिकित्सकीय टोली पनि बनाएका छन् ।

एक जना एमबीबीएस चिकित्सक सहितको यस्तो टोलीले हरेक दिन विभिन्न टोलमा पुगेर स्वास्थ्य जाँच गर्ने तथा अस्पतालसम्म लैजानका लागि सहयोग गर्ने र आवश्यक स्वास्थ्य सल्लाह समेत दिने लामिछानेले बताए । विदेशमा रहेका १०० जनालाई नेपालमा रोजगारी दिने कार्यक्रमहरू सुनाए ।

सांसद लामिछानेले विदेशमा रहेका नेपालीलाई स्वदेशमा नै कामको अवसर दिन विभिन्न निजी संघसंस्थाहरुसँग कर्मचारी आवश्यकताको माग गरेर त्यसलाई सार्वजनिक गरेका छन् । अहिले एक सय जनालाई विभिन्न संस्थामा रोजगारी दिने भनेर उनले विज्ञापन गरेका छन् । विभिन्न स्वदेशी तथा विदेशी पत्रिकामा विज्ञापन दिएको दाबी गरेका लामिछानेले उनीहरुलाई निःशुल्क रुपमा नेपाल ल्याएर मासिक ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म तलब दिने भनिएको छ ।

लामिछानेले सूचनामा कुन संघसंस्थाका लागि कामदार मागिएको हो भन्ने खुलाएका छैनन् । उनले निर्वाचनमा प्रतिबद्धता गरे अनुसार बेलायतबाट उच्च शिक्षा हासिल गरेर स्वदेश आएका कार्यकारी निर्देशकका रुपमा हेमन्त बराललाई छनोट गरेको जनाएका छन् ।

४०० बढी आवेदनबाट अन्तर्वार्ता लिएर सूचनाप्रविधि तथा डाटा सेन्टर कन्सल्टेन्ट भएर काम गरेका बराल कार्यकारी अधिकृत बनाइएको लामिछानेले बताएका छन् । बरालले पाउने सेवा सुविधा के हुने भन्ने बारेमा केही खुलाइएको छैन ।

कालिका नगरपालिकाको चतुर्मुखी मावि र भरतपुर १ को रामनगर माविको कक्षा ११ र १२ लाई नमूना विद्यालय बनाउने कार्यक्रम पनि उनले घोषणा गरेका छन् । यी विद्यालयमा पढ्ने विद्यार्थीलाई काठमाडौंको बूढानीलकण्ठ र पोखराको गण्डकी बोर्डिङमा पढ्नेसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्य आफूले लिएको लामिछानेले बताए । उनले पछि थप १ विद्यालय पनि थपिने बताउँदै अहिले ११ र १२ कक्षाबाट सुरु भए पनि पछि त्यसलाई कक्षा १०, ९, ८ गर्दै कक्षा १ सम्म ल्याउने बताए ।

उनको निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालय (१–७)को स्तरोन्नति गर्ने र कक्षा १२ सम्म आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरे ।

लामिछानेले उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याएका थिए । त्यही मत बराबरको संख्यामा वृक्षरोपण गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् । एक मत बराबर एक बिरुवा रोप्ने अभियानको सुरुवात गरिएको उनको भनाइ छ ।

हरेक चार महिनामा विभिन्न सरोकारवालाहरुलाई राखेर सार्वजनिक सुनुवाइ गर्ने र पहिलो पटक भदौ १० गते यस्तो कार्यक्रम राखिएको लामिछानेले जानकारी दिए ।

मासिक बस भाडा, त्यसको सञ्चालन, कार्यकारी अधिकृतको सेवासुविधा, सम्पर्क कार्यालयको भाडा, चिकित्सक सहितको टोलीको भ्यान सहितको खर्च, स्वास्थ्य बीमा कार्यक्रमको रकम, विद्यालयलाई नमूना बनाउने जस्ता कार्यक्रममा हुने खर्चको स्रोत के हुने भन्ने प्रश्न पनि खडा भएको छ ।

लामिछानेले समाजमा भएका स्रोतहरू, व्यक्ति, संघसंस्था, दाता, शुभचिन्तकहरूको साथ लिएर यी कार्यक्रम चलाउने बताए । उनले यस्तो चिज मान्छेको खल्तीबाट नभई व्यवस्थापन गर्ने कुरा मात्रै भएको बताए । उनले पछि रकम कहाँबाट कति आयो भनेर सार्वजनिक गर्ने पनि बताएका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?