+
+

चारवर्षे स्नातक हटाउन छलफल, तीन वर्षमै फर्किने हो ?

नुनुता राई नुनुता राई
२०८० साउन १७ गते २०:३७
त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थी ।

१७ साउन, काठमाडौं । नेपालमा स्नातक तहलाई चारवर्षे बनाइएको एक दशक पनि पूरा नहुँदै यसको औचित्यमाथि प्रश्न उठेको छ । त्रिभुवन विश्वविद्यालय र अरू केही विश्वविद्यालयका प्राध्यापक तथा शिक्षकहरूले चारवर्षे स्नातकको समीक्षा आवश्यक रहेको अभिव्यक्ति सार्वजनिक गरेर छलफलको प्रारम्भ गरेका छन् ।

२०५२ सालसम्म दुई वर्षको रहेको स्नातक तहलाई २०५३ सालदेखि २०७१ सम्म तीन वर्षको बनाइएको थियो । तर विदेशका कतिपय विश्वविद्यालयमा चारवर्षे स्नातक तह रहेको र नेपाली विद्यार्थी ती विश्वविद्यालयमा पढ्न जाँदा स्नातकमै थप एक वर्ष पढ्नुपर्ने कारण देखाएर नेपालमा २०७२ सालदेखि चारवर्षे स्नातक कार्यक्रम सुरु भएको थियो ।

मुलुककै ठूलो त्रिभुवन विश्वविद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा संकायमा २०७२ साददेखि र मानविकी तथा सामाजिक शास्त्र संकायमा २०७६ देखि स्नातक कार्यक्रम चार वर्षको बनाइएको थियो । तर हिजोआज स्नातक तहमा भर्ना हुने विद्यार्थी घटिरहेको र भर्ना भएकाहरूले पनि बीचैमा पढाइ छाड्ने गरेको पाइएको प्राध्यापकहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकीका अनुसार स्नातक तह दुई वर्षको हुँदा भर्ना भएका अधिकांश विद्यार्थीले पढाइ पूरा गर्थे । तीन वर्षको बनाएपछि करिब २५ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाड्थे । अहिले चार वर्षको बनाएपछि अन्तिम परीक्षा दिने विद्यार्थी ३० देखि ३२ प्रतिशत बाँकी रहने गरेका छन् ।

चारवर्षे स्नातकको नतिजा आउँदासम्म ६ वर्ष लाग्ने, स्नातक उत्तीर्ण भइसक्दा पनि जागिरको ग्यारेन्टी नहुने जस्ता कारणले भर्ना हुने र ड्रप आउट हुने विद्यार्थी बढिरहेको उनको भनाइ छ ।

‘स्नातक तह पढ्नकै लागि ५÷६ वर्ष लाग्ने भएपछि छोडिरहेका छन् । त्यसैले यो अलि व्यावहारिक भएन कि, देशलाई सुहाउँदो भएन कि भनेर छलफल हुनुपर्छ’, बुढाथोकीले भने ।

चारवर्षे स्नातक कार्यक्रमले विद्यार्थीको समय धेरै खपत गरेको, अभिभावकलाई बोझिलो भएको व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराम शर्मा बताउँछन् । यही कारण वैदेशिक अध्ययनमा जाने विद्यार्थी बढेको हुनसक्ने उनको भनाइ छ । ‘तीनवर्षे बनाएर मात्रै विद्यार्थी रोकिन्छ भन्ने होइन सबै कार्यक्रम चार वर्षकै चाहिन्छ त भनेर सोच्ने बेला चाहिं भएको छ ।’

चिकित्सा शिक्षा, विज्ञान, सूचनाप्रविधि, इन्जिनियरिङ लगायत प्राविधिक विषयको स्नातक चार वर्षको उचित भए पनि शिक्षा, मानविकी र व्यवस्थापन जस्ता विषय तीन वर्षको बनाउँदा पनि हुने उनको राय छ । यद्यपि यस विषयमा व्यापक छलफल हुनुपर्ने प्रा.डा. शर्मा बताउँछन् ।

शिक्षा शास्त्र संकायको स्नातक तह चार वर्षको बनाउँदा धेरै विषयवस्तुको ज्ञान हुने, विद्यार्थीको बुझाइ फराकिलो हुने, हरेक विषयको गहिरो ज्ञान हुने हुनाले राम्रा शिक्षक उत्पादन हुने तर्क गरिएको थियो ।

तर चारवर्षे स्नातकबाट उत्पादन भएका विद्यार्थी पनि शिक्षकको प्रतिस्पर्धात्मक परीक्षा, ज्ञान, सीप, शिक्षण दक्षतामा धेरै फरक नदेखिएको शर्माले बताए । ‘तीनवर्षे र चारवर्षे कार्यक्रमले शिक्षण दक्षतामा पनि खासै फरक नदेखिंदा अव्यावहारिक, लामो र खर्चिलो मानेर विद्यार्थीले पढाइ पूरा नगरेको देखियो’, उनले भने ।

डीन प्रा.डा. शर्माले चारवर्षे स्नातक कार्यक्रमको समीक्षा हुनुपर्ने बताए । ‘हामीले चारवर्षे कोर्सबाट जुन प्रतिफलको अपेक्षा गरेका थियौं त्यो अनुरूप प्रतिफल आयो कि आएन समीक्षा गर्नुपर्ने बेला आयो’, उनी भन्छन् ।

चार वर्षको स्नातक कार्यक्रमका लागि पाठ्यक्रम सुधार, प्रयोगात्मक विषय थप गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

विदेशका कतिपय विश्वविद्यालयमा स्नातक तह तीन वर्षकै छ र स्नातकोत्तर तह एक वर्षको छ । ती विश्वविद्यालय पढेर आउने विद्यार्थीले त्रिविबाट समकक्षताको प्रमाणपत्र पनि पाइरहेका छन् ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनका प्रा.डा.लक्ष्मण ज्ञवाली भने तीनवर्षेबाट चारवर्षे बनाउनु नै गलत भएको बताउँछन् । अमेरिका, बेलायत पढ्न जाँदा नेपाली विद्यार्थीले स्नातकमै थप एक वर्ष पढ्नुपर्ने भनेर यहाँ सबै विश्वविद्यालयका कार्यक्रम चार वर्षको बनाउनु गलत हुने उनको भनाइ छ ।

‘बाहिर कुरा उठिरहेको छ तर कुनै औपचारिक रूपमा छलफल भएको छैन । अब यो विषयमा प्राज्ञिक परिषद्‍मा बहस हुनुपर्छ र निचोड निकाल्नुपर्छ’

‘यहाँबाट पढ्न जानेले त पढ्नु परेर केही बिग्रिंदैनथ्यो तर त्यहाँ जाने विद्यार्थीलाई हेरेर यहाँका विद्यार्थीमा एक वर्ष बोझ थप्न हुँदैनथ्यो’, उनी भन्छन् ।

शिक्षा, मानविकी तथा सामाजिक विज्ञान विषयमा स्नातक तह चार वर्षको बनाउँदा विद्यार्थीमा बोझ हुने उनको भनाइ छ । ‘हाम्रा विद्यार्थी तीन वर्षसम्म घरको सहयोगबाट दुःखसुख गरेर पढ्छन् त्यसपछि जागिर गर्छु भन्ने हुन्छ तर चार वर्ष त एकदमै टाढा भयो । विद्यार्थीको पढाइ खर्च बढाउने काम मात्रै ग¥यो’, उनले भने ।

विश्वविद्यालय अनुदान आयोगका प्रा.डा. देवराज अधिकारीले त्रिविले चारवर्षे कार्यक्रमलाई व्यवस्थित गर्न र समयमा नतिजा दिन नसकेका कारण प्रश्न उठेको हुनसक्ने बताए ।

तीन वर्षेमै फर्किनु समाधान हो ?

शिक्षा संकायका डीन डा. बुढाथोकी स्नातक तहलाई तीन वर्षमै झारेर परीक्षा प्रणाली पनि सुधार गर्ने हो भने धेरै विद्यार्थी विदेश जानबाट रोकिने दाबी गर्छन् । त्रिविको उत्तरपुस्तिका सम्बन्धित जिल्ला वा प्रदेशमा जाँच्न सकेमा परीक्षाको ६ महिनाभित्र नतिजा दिन सकिने उनको भनाइ छ ।

मानविकी संकायकी डीन प्रा.डा.कुसुम शाक्य भने चारवर्षे कार्यक्रम लागू भएको एक दशक पनि पूरा नहुँदै फेरि तीन वर्षमा झार्नुपर्छ भन्ने बहस उचित नरहेको बताउँछिन् । ‘हुन त यसमा गम्भीर रूपले बहस नै त सुरु भएको होइन तर चारवर्षे बनाउँदा के कस्तो फरक देखियो भन्ने पनि थाहा छैन’, उनले भनिन् ।

रत्न राज्य क्याम्पसका सहायक क्याम्पस प्रमुख रविन श्रेष्ठ विद्यार्थीको लामो समय खपत हुने र चारवर्षे कोर्समा आन्तरिक मूल्यांकनमा देखिएको समस्याले गर्दा शैक्षिक वर्ष घटाउने कुरा उठेको हुनसक्ने बताउँछन् । ‘समस्या छ तर त्यसको समाधान चारवर्षेलाई तीनवर्षे बनाउँदा हुँदैन । अगाडि बढिसकेको कुरा फेरि फर्काउने भन्ने सही होइन’, उनले भने ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी तारा चौलागाईं स्नातक तह तीनवर्षेमा झार्दैमा समस्या समाधान नहुने बताउँछिन् । बरु त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा दिनुपर्ने उनले बताइन् । ‘चार वर्षको कोर्स घटाएर तीन वर्ष बनाए पनि पढाइ सकिन पाँच वर्ष लाग्ने भए के मतलब भयो र ?’ उनले प्रश्न गरिन् ।

चारवर्षेलाई नै प्रभावकारी बनाउने हो : त्रिवि

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. शिवलाल भुसालले भने स्नातक कार्यक्रमको विषयमा औपचारिक छलफल सुरु नभएको तर केही डीन र प्राध्यापकहरूले कुरा उठाएको बताए ।

‘औपचारिक रूपमा छलफल सुरु भएको छैन । एक कार्यक्रममा प्रसंगवश कुरा उठेको हो । तर अब चारवर्षेलाई नै कसरी व्यवस्थित बनाउने भन्नेमा केन्द्रित हुन्छ त्रिवि’ उनले भने । चार वर्षको स्नातकलाई नै प्रभावकारी बनाउने र सुधार्ने बारेमा काम गर्ने भुसालले बताए ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष श्यामराज ओझा यो विषयमा विश्वविद्यालयको प्राज्ञिक परिषद्मा छलफल हुनुपर्ने बताउँछन् । ‘बाहिर कुरा उठिरहेको छ तर कुनै औपचारिक रूपमा छलफल भएको छैन । अब यो विषयमा प्राज्ञिक परिषद्‍मा बहस हुनुपर्छ र निचोड निकाल्नुपर्छ’, उनले भने ।

शिक्षा संकायका सहायक शिक्षक बाबुराम राई स्नातक तीन वर्षको हुँदा विद्यार्थीको विशिष्टीकरण एउटा विषयमा मात्र हुन्थ्यो । चारवर्षे कोर्समा दुई वटा विषयमा विशिष्टीकरण हुन्छ । चारवर्षे बीएड गरेको एउटा विद्यार्थीले दुई वटा विषय पढाउन पाउँछन् ।

त्यसैले यसलाई फेरि पुरानै अवस्थामा फर्काउने वा अहिलेकै चारवर्षेलाई प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनुपर्ने बताए । ‘चारवर्षे कार्यक्रम लागू गर्नुको उद्देश्य प्राप्ति भयो कि भएन, यो कार्यक्रम आजको आवश्यकता हो कि होइन भनेर मिहिनढंगले अध्ययन हुने बेला भयो’, उनले भने ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?