+
+
फिल्मको कमाइ सार्वजनिक गर्नुपर्ने पक्षमा शोभित बस्नेत :

‘निर्माता फस्नबाट जोगिए, कलाकारले हौसियत बुझ्न थाले’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १७:३२
फिल्म निर्माता तथा निर्देशक शोभित बस्नेत । फाइल तस्वीर

काठमाडौं । शोभित बस्नेत कुनै पनि विषयमा आफ्नो धारणा आक्रामक ढंगले राख्ने निर्माता तथा निर्देशकमध्ये पर्छन् । यसपटक उनी फिल्मको कमाइ सार्वजनिक गर्ने चलचित्र विकास बोर्डको पक्षमा उभिएका छन् । उनले बोर्डको यो कदमलाई सही भन्दै तीन कारण पेश गरे ।

आफू निर्मित फिल्म ‘जय हो’को शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले फिल्मको कमाइ सार्वजनिक गर्ने उक्त कदम कलाकार र निर्माताको पक्षमा आएको बताए । उनले भने, ‘बोर्डले जुन लिस्ट निकाल्यो, यो एकदम ठीक गर्‍यो किनभने त्यो कलाकारको पक्षमा छ । यो लिस्ट हेरेपछि कलाकारले आफूले लिएको रेटअनुसार फिल्मले कमाएको छ कि छैन भनेर सोच्न बाध्य भएको छ ।’

शोभितले अगाडि भने, ‘जसले पायो त्यसले फिल्म बनाउन नसक्ने भए । कलाकारले पनि हैसियत बुझ्न भए । निर्माताले पनि सोचेर फिल्म बनाउने भए । आर्टिस्टले आफ्नो पारिश्रमिक नै अल नेपालबाट कमाउन सक्दैन भने किन निर्मातालाई मारमा पार्ने ?’ बोर्डले कमाइ सार्वजनिक गरेपछि धेरै निर्माता फस्नबाट जोगिएको र पछिल्लो समय करोडको केक काट्ने कार्यक्रम पनि हुन छाडेको भन्दै शोभितले कटाक्ष गरे ।

उनको प्रश्न छ, ‘बजेट निकाल्यो सही भएको छ । विदेशमा पनि दुई घण्टामै रिपोर्ट आएको देख्छौं भने नेपालमा देख्दा के बिग्रियो ?’

अष्ट्रेलियामा इभेन्ट सिनेमाजले रिलिज गर्ने

उक्त पत्रकार सम्मेलनमा निर्माता बस्नेतले ‘जय हो’ भदौ ८ गते नेपालसहित अष्ट्रेलियामा समेत रिलिज हुने बताए । अष्ट्रेलियाको मल्टिप्लेक्स चेन इभेन्ट सिनेमाजले ४५ शोसहित फिल्मलाई रिलिज गर्न लागेको उनले जनाए ।

५०-६० को दशकमा आफूले तीव्र रुपमा फिल्म निर्माण गरेपछि ७० को दशकमा एउटा पनि नगरेको भन्दै शोभितले त्यो ग्याप पूरा गर्न ‘जय हो’ निर्माण गरेको बताए । ‘अब म निर्माणमा फोकस हुन्छु । ७० को दशकमा त मैले फिल्म नै बनाइनँ । ५०-६० को दशकमा स्पिडमा बनाएको थिएँ । धेरै सोचेपछि यो फिल्म बनाएको हुँ,’ उनले भने ।

फिल्म निर्माणलाई अब दिगो रुपले अघि बढाउने ‘जय हो’ बनाएको भन्दै उनले यसैलाई ब्राण्ड बनाउन लागिपरेको बताए । ‘छक्कापञ्जा ब्राण्डअघि दीपकराज गिरीलाई सफलता पाउन २० वर्ष लाग्यो । मैले पनि यहीलाई ब्राण्ड बनाउने सोचेको छु,’ उनले भने ।

‘जय हो’ पारिवारिक फिल्म भएको र आफूले यसमा निर्माणमा केन्द्रित गरेको उनले बताए । ‘सुरुमा कथा सुन्दा मेरो दिमागमा केकी र अर्पणको चित्र आयो । पोखरा पुग्दा सलोनले यो क्यारेक्टर त माओत्से अंकलले बाहेक अरुले गर्न सक्दैन भनेपछि उहाँलाई कास्ट गरेका हौं,’ छेउमा रहेका अभिनेता माओत्से गुरुङतर्फ लक्षित गर्दै शोभितले भने ।

प्रेसमिटमा माओत्सेले आफूले यो फिल्ममा दोर्जे पात्रको भूमिका निर्वाह गरेको बताए । उनले यसमा उमेर ढल्किए पनि विवाह हुन नसकिरहेको दोर्जे पात्रको रोल गरेका छन् । ‘विवाहको रमाइलो क्षण कैद गर्न पोखराबाट मेरो पात्रले फोटोग्राफर लिएर जान्छ । विवाहसम्म कस्ता घटना हुन्छन् भन्ने रमाइलो कथा यसमा छ,’ माओत्सेले भने, ‘मेरो व्यक्तिगत स्वभावसँग पनि यो पात्र मिल्छ ।’

फिल्म ‘जय हो’ भदौ ८ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?