+
+

सामाखुसी खोला सतह माथिको संरचना हटाउँदै महानगर

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन २० गते ६:३०

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले सामाखुशी नदीमाथि बनाएको कंक्रिट ढलान (स्ल्याब)सहितको संरचना धमाधम हटाइरहेको छ । बसुन्धराबाट रेर्डन क्याम्पससम्म सामाखुशी खोला माथि रहेको संरचना हटाइरहेको हो ।

१ साउनदेखि खोलामाथिको संरचना हटाउने काम यो हप्ताभित्र सकाउने गरी काम गरिरहेको महानगरले जनाएको छ । ‘सामाखुसी खोला सतहमाथिको संरचना हटाउने अभियान मैह्पी मन्दिर स्थित विष्णुमती नदी जोड्ने ठाउँसम्म पुर्‍याउने छौं,’ संरचना हटाउने जिम्मेवारीको नेतृत्व लिएका नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन् ।

भट्टका अनुसार करिब साढे २ किलोमिटर सामाखुसी खोलामाथि रहेको कंक्रिट ढलानको संरचना हटाइसकेको छ । ‘अब ५ सय मिटरजति हटाउन बाँकी होला, त्यो पनि यो हप्ताभित्र हट्छ,’ भट्टले अनलाइनखबरसँग भने ।

महानगरपालिकाले चालु आवको बजेट तथा कार्यक्रममा महानगर भित्र रहेको खोला, खोल्सीको संरक्षण गर्ने नीति पास गरेको भन्दै कार्यान्वयन सुरु भएको प्रवक्ता नवीन मानन्धरले बताए । ‘हामीले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरुको संरक्षण गर्ने नीति अनुसार नै छोपिएको खोला खोलेका हौं,’ प्रवक्ता मानन्धरले भने ।

स्थानीयहरु अहिलेसम्म ठुलो विरोध नगरेको भन्दै व्यक्तिको घर नचलाएको मानन्धरले बताए । ‘खोला बगिरहेको ठाउँमा अरु संरचना बनाउन भएन नी, व्यक्तिको सम्पत्ति छोएकै छैन, त्यसकारण अहिलेसम्म विरोधको आवाज सुनिएको छैन’ प्रवक्ता मानन्धरले दाबी गरे ।

महानगरका अनुसार खोलाको बीच भागबाट १३-१३ फिट फराकिलो बनाएर सामाखुसीमा सफा पानी बगाउने योजना रहेको छ । ‘महानगरका नदिहरु आफ्नै स्वरुपमा बगाउन यो काम सुरु गरेका हौं । खोलामा ढल नमिसाउन, छुट्टै ढल र करिडोर निर्माण गर्ने हाम्रो योजना छ, पहिलो चरणमा खोला माथिको संरचना हटाएका हौं,’ मेयर बालेन्द्र साह (बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन् ।

उनले खोला मिचेर बनाएको संरचना हटाएर करिडोर निर्माण गर्ने र ढल निर्माण गरेर प्रशोधन केन्द्रमा लैजाने तयारी समेत गरेको बताए ।

स्थानीयको घर जाने बाटै बन्द गरेर महानगरले संरचना बाटो भत्काउन मिल्छ ? भन्ने प्रश्नमा लम्साल भन्छन्,’उहाँहरुले नदी किनारबाट ४ मिटर छोड्नुपर्ने जमिन छोडिदिए महानगरपालिकाले करिडोर नै निर्माण गरिदिन्छ नि, आफू गैरकानुनी रुपमा नदीबाट छोड्नुपर्ने सेटब्याक नछोड्ने अनि बाटो भएन भन्ने ?’

स्थानीय भन्छन : घर जान नै सास्ती भयो

महानगरपालिकाले सामाखुसी नदी माथि बनेको स्ल्याब ढलान हटाउँदा स्थानीयल म्हैपी, रानीबारी, बसुन्धरा लगायत क्षेत्रमा नदि छेउमा पर्ने घरधनीहरुले महानगरको कदमको विरोध गर्दै आएका छन् । उनीहरुले जनतालाई दुख दिएर विकास नहुने बताएका छन् ।

रेडन कलेज छेउका स्थानीय काजीरत्न बज्राचार्यले महानगरपालिकाले स्थानीयसँग छलफल र जानकारी विना नै धमाधम स्ल्याब हटाउँदा समस्या भएको बताए । ‘मान्छे घरबाट अफिस जाँदा गएको बाटो आउँदाखेरी त खोला माथि त खाली छ, अब घर चाहीँ कसरी जाने ? स्थानीय सरकार जनताको लागि होनी कम्तीमा छलफल गरेर त गर्नुपर्छ’ बज्राचार्यले भने ।

यस्तै सामाजिक सञ्जाल टि्वटरमार्फत रोयल नामक स्थानीयले भनेका छन ‘महानगरलाई भत्काउन हतार हुन्छ, बनाउन हुँदैन, अब कसरी आवतजावत गर्ने हो ? मान्छे लडेर मरे, खोलाले बगाए को जिम्मेवारी हुने हो ? हुन त भगवानलाई प्रश्न सोध्न पनि नमिल्ने होला ?’ मेयर बालेनलाई ब्यंग्य गर्दै उनले भनेका छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?