+
+

‘म आँपपिपल पढेको, माधव सरको विद्यार्थी हुँ’

जहाँ पुगे पनि आफ्नो जरो नबिर्सिन आफ्ना विद्यार्थीहरूलाई आग्रह गर्नुहुन्थ्यो । आँपपिपल विद्यालयप्रति हेडसरको आगाध प्रेम थियो । उहाँ भन्नुहुन्थ्यो, ‘जहाँ गए पनि, जहाँ रहे पनि सपना देख्दा पलपल म त आँपपिपलकै सपना देख्छु ।’

डा. ऋषि बस्ताकोटी डा. ऋषि बस्ताकोटी
२०८० साउन २० गते १७:२२

‘आँपपिपल स्कूल पढेको । म माधव सरको विद्यार्थी हुँ ।’

नेपाल छँदा कहाँ पढेको भनेर आउने प्रश्नहरूमा म गर्वका साथ उत्तर दिने गर्थें । माधव सरसँग जोडेर परिचय दिंदा आफ्नै प्रतिष्ठा बढेको महसुस हुन्थ्यो ।

गोरखा र आसपासका मात्र होइन शिक्षामा चासो राख्ने धेरैजसोका लागि माधव मरहट्टा एउटा स्थापित नाम थियो । आफ्ना असल कर्मले गर्दा उहाँ एउटा कुशल शिक्षक, दक्ष व्यवस्थापक, लेखक, शैक्षिक अभियन्ता र शैक्षिक आन्दोलन अगुवाको रूपमा चिनिनुहुन्थ्यो ।

शारदा प्रावि बज्रेडाँडाबाट पाँच कक्षा उत्तीर्ण गरेपछि म जनता मावि आँपपिपलमा छ कक्षामा भर्ना भएँ । त्यतिबेला नजिकमा प्राथमिक र निम्न माध्यमिक विद्यालयको पढाइ सकेपछि बाँकी अध्ययनको लागि वरपरका गाउँहरूबाट आँपपिपलमा आउने चलन थियो।

त्यतिमात्र होइन, गोरखा, लमजुङ र तनहुँका कतिपय विद्यार्थीका अभिभावकहरूले आफ्ना छोराछोरीलाई आँपपिपलमै पढाउनको लागि डेरा गरेर राख्ने गरी पनि ल्याउनुहुन्थ्यो।

मलाई सम्झना छ, बिहानको प्रार्थनामा सामान्य सतर्क, गोडाफाटपछि राष्ट्रिय गान हुन्थ्यो । प्रार्थनापछि प्रधानाध्यापक माधव मरहट्टा सरबाट विद्यालयका नीति, नियम तथा अनुशासनका बारेमा प्रवचन हुन्थ्यो । उहाँले विद्यार्थी तथा शिक्षकहरूलाई आवश्यक निर्देशन दिनुहुन्थ्यो ।

कहिलेकाहीं नयाँ कुराहरू सुनाउनुहुन्थ्यो । अरु शिक्षकहरूलाई पनि नयाँनयाँ कुरा सुनाउन प्रोत्साहन गर्नुहुन्थ्यो । थोरै विद्यार्थी हुने गाउँको सानो प्राथमिक विद्यालयबाट आएको मलाई त्यति धेरै विद्यार्थीहरूको हुलमा मिसिंदा कताकता हराए झैं लाग्थ्यो ।

हेडसर (माधव सर) सँग सबै डराउँथे । मलाई पनि डर लाग्थ्यो । तर उहाँले प्रार्थना सभामा नियमित गर्ने प्रवचनहरूले बिस्तारै नयाँ वातावरणमा घुलमिल हुन मद्दत पुर्‍यायो ।

विद्यार्थीको चापलाई हेरेर ६ कक्षादेखि माथि प्रायः दुईदेखि चार वटासम्म सेक्सन हुन्थे । शैक्षिक सत्रको सुरुमा नयाँ विद्यार्थी आएपछि को कहाँबाट आयो ? पढाइमा कस्तो छ ? अनुशासनमा कस्तो छ ? अतिरिक्त क्रियाकलापमा कस्तो छ ? भन्ने जस्ता विषयमा शिक्षकहरूका बीचमा निकै चासो हुन्थ्यो ।

हेडसरले सायद प्रत्येक कक्षा शिक्षक वा विषय शिक्षकसँग यी विषयमा खोजीनीति गर्नुहुन्थ्यो । उहाँले त्यसबेला तल्ला कक्षाहरूमा नियमित पढाउनु त हुन्नथ्यो, तर शिक्षक नआएर खाली हुँदा कक्षामा पस्ने, पढाउने तथा विद्यार्थीहरूको पढाइको गुणस्तर जाँच्ने गर्नुहुन्थ्यो ।

राम्रो कच्चा पदार्थ राम्रो कर्मीको हात पर्‍यो भने राम्रो सामग्री बनाउन सक्छ भन्ने कुरामा विश्वास थियो, उहाँलाई । विद्यार्थीहरूको आवश्यकता अनुसार पठनपाठनको व्यवस्था गरी सकेसम्म उनीहरूलाई राम्रो नतिजा ल्याउने बनाउने भन्ने उहाँको ध्येय रहन्थ्यो ।

आजका निजी विद्यालयको जति त होइन तर त्यतिबेला सामुदायिक विद्यालयमै पनि ६ कक्षादेखि महिनावारी शुल्क बुझाउनुपर्थ्यो । गाउँका एकाध शिक्षक र जागिरेभन्दा बाहेक अधिकांशका हातमा पैसा हुँदैनथ्यो । निर्वाहमुखी खेतीपाती गर्थे ।

मेरो बुवा अब छोरो पढाउन खर्च चाहिन्छ भनेर म ६ कक्षा पढ्न थालेपछि भारत पस्नुभएको अझै सम्झना छ । यता शैक्षिक सत्र सुरु भएको दुई हप्तामा हेडसरले छात्रवृत्तिको बारेमा सूचना जारी गर्नुभयो । मैले छात्रवृत्तिका लागि निवेदन दिएँ ।

अनुशासित र पढाइमा सम्भावना भएको विद्यार्थीका रूपमा गुरुहरूका आँखामा परिसकेको थिएँ । यसैले म छात्रवृत्तिको लागि छनौटमा परें । पहिले तिरेको भर्ना शुल्क र दुई महिनाको नियमित शुल्क समेत फिर्ता पाएँ ।

‘बस्ताकोटीको छोरोले त स्कुलमा तिरेको शुल्क पनि फिर्ता पायो रे !’ गाउँमा हल्ला चल्यो । मेरो परिवारलाई छात्रवृत्तिले राहत मिल्यो, यता मेरो मनोबल बढ्यो ।

पढाइमा पनि मैले सधैं राम्रै गरें । प्रत्येक वर्ष छात्रवृत्तिका लागि छनौटमा परिरहें । यसले मेरो जीवनमा दूरगामी प्रभाव पारेको छ ।

कक्षा सुरु भएको केही महिनापछि १० प्रतिशत अंक भार बराबरको एकाइ परीक्षा भयो । परीक्षाको नतिजामा म थोरै अन्तरले प्रथम भएँ । त्यतिबेला मेरा निकटतम प्रतिष्पर्धी दिनेश वाग्ले र उमेश मरहट्टा थिए । दिनेश विद्यालयकै नेपाली शिक्षक टीकाराम वाग्लेका छोरा हुन् भने उमेश स्वयम् हेडसरकै छोरा ।

हेडसरले पढाउने बेला विद्यार्थीमा भएको अनुशासन र मिहिनेत जाँच्नुहुन्थ्यो भने नतिजाका बखत पारदर्शिता र विश्वासनियता ख्याल गर्नुहुन्थ्यो । स्वच्छ प्रतिष्पर्धाले बाल मनोविज्ञानमा पार्ने सकरात्मक प्रभाव बारे उहाँ सचेत हुनुहुन्थ्यो ।

उहाँ विद्यार्थीहरूमा दम्भ र ईर्ष्याभन्दा माथि उठेर सहकार्य र मित्रवत् व्यवहारको बीजारोपण गराउनुहुनथ्यो । सायद यसैको प्रभाव होला हामी कक्षामा प्रथम, दोस्रो, तेस्रो हुने या अन्य साथीबीच मित्रवत् सम्बन्ध रहिरह्यो । कहिल्यै पनि सङ्कीर्ण प्रतिष्पर्धा भएन । स्वस्थ प्रतिष्पर्धाबाट हामी सबैले ऊर्जा प्राप्त गरिरह्यौं ।

उहाँले हामीलाई अङ्ग्रेजी पढाउँदा ‘प्राक्टिकल ईङ्ग्लिस ग्रामर एण्ड कम्प्रिहेन्सन’ प्रकाशित भइसकेको थियो । उहाँले विद्यार्थीलाई अङ्ग्रेजी व्याकरणका नियमहरू निकै राम्रोसित अभ्यास गराउनुहुन्थ्यो । त्यतिबेला हामीलाई दिनकै १०० देखि १२० जति अङ्ग्रेजी व्याकरणका प्रश्नहरू अभ्यास गराउनुहुन्थ्यो । कहिलेकाहीं त पाठ्य पुस्तकका अतिरिक्त यो गृहकार्य बोझिलो लाग्थ्यो । तथापि यसले हाम्रो अङ्ग्रेजी बुझाइ र सिकाइलाई निकै राम्रो प्रभाव पारेको थियो ।

उहाँबाट मैले अनुभव गरेको अर्को महत्वपूर्ण कुरा – उहाँ सबै विद्यार्थीसँग उत्तिकै अपेक्षा गर्नुहुन्न थियो। एउटा स्तरमा पुगिसकेपछि केही छानिएका विद्यार्थीहरूले चाहिं अतिरिक्त चुनौती लिएर आफूलाई प्रमाणित गरून् भन्ने चाहनुहुन्थ्यो।

त्यही अनुसार ऐच्छिक तर अतिरिक्त गृहकार्य दिनुहुन्थ्यो। उहाँ भन्ने गर्नुहुन्थ्यो ‘तिम्रो प्रतिष्पर्धी तिमी आफैं हो ।’ उहाँ थप्नुहुनथ्यो ‘यस विद्यालयका मात्रै होइन, काठमाडौंमा अङ्ग्रेजी माध्यमका स्कूलमा पढेकाहरूसँग पनि तिमीहरू जोखिएर आफूलाई प्रमाणित गर्न सक्नुपर्छ । त्यसैले तिम्रो प्रतिष्पर्धी तिमी आफैं हो। आफूलाई अब्बल बनाउन सक्दो कोसिस गर्नु ।’ यसले हाम्रो सिकाइको दायरालाई फराकिलो पार्न मद्दत गर्थ्यो ।

पढाउने विषयमा त उहाँ पोख्त हुनुहुन्थ्यो नै उहाँले गरेको विद्यालय व्यवस्थापन देख्दा लाग्थ्यो, उहाँ विद्यालय व्यवस्थापन कलाकौशल भएको व्यक्ति हुनुहुन्छ । उहाँको नेतृत्वमा शिक्षकहरूको राम्रो टोली थियो । त्यसबेला आँपपिपल स्कूलको नाम त्यत्तिकै चलेको होइन ।

आफ्नो विषयमा अब्बल सुरेश वाग्ले सर विहङ्गम दृष्टिकोण भएको, समाजलाई फरक ढङ्गले बुझ्नसक्ने शालीन शिक्षक हुनुहुन्थ्यो । उहाँले हेडसरलाई सफल बनाउन आन्तरिक रूपमा धेरै कुरामा सघाउनुहुन्थ्यो । त्यस्तै गणित विषयका प्रखर शिक्षक रामजी मरहट्टा सरले पनि सहायक प्रधानाध्यापकको रूपमा रहेर व्यवस्थापकीय काममा माधव सरलाई निकै सहयोग गर्नुहुन्थ्यो ।

आफ्नो विषयको राम्रो ज्ञान भएको विज्ञान शिक्षक लोकनाथ वाग्ले सर विद्यार्थीहरूलाई उत्प्रेरणा भर्न सक्ने युवा पुस्ताका मिलनसार शिक्षक हुनुहुन्थ्यो । त्यसैगरी ईश्वरी सापकोटा र सोमनाथ न्यौपाने लगायतका अरु शिक्षकहरू पनि आ-आफ्नो विषयमा पारङ्गत र अनुभवी हुनुहुन्थ्यो ।

हेडसर विद्यार्थीहरूको जग बलियो बनाउनुपर्ने कुरामा सचेत हुनुहुन्थ्यो । माध्यमिक तहमा मात्र शिक्षकले मिहनत गरेर पुग्दैन, जग बसाउने प्राथमिक र निम्न माध्यामिक तहमा हो भन्ने माधव सरको बुझाइ थियो । त्यही अनुरूपका शिक्षक शिक्षिकाको उहाँ व्यवस्थापन पनि गर्नुहुन्थ्यो । विद्यार्थीको व्यक्तित्व विकासलाई टेवा पुग्ने गरी विद्यालयमा सबै तहमा अतिरिक्त क्रियाकलापहरूको आयोजना गर्नुहुन्थ्यो।

****

त्यसबेलाको हाम्रो विद्यालय स्रोतसाधनले सम्पन्न थिएन । यद्यपि पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतका अन्य शिक्षण सामग्री जुटाउन भने हेडसर आफैं लागिपर्नुहुन्थ्यो । जिल्लामा हुने प्रतियोगिताहरूमा आफ्ना विद्यार्थीलाई सहभागी गराउने व्यवस्था मिलाउनुहुन्थ्यो ।

त्यतिबेला गोरखा सदरमुकाम होस् वा बक्राङ्ग भोगटेनी या अन्यत्र कतै प्रतियोगितामा भाग लिनलाई विद्यार्थी पठाउन त्यति सजिलो थिएन । तथापि माधव सर आफ्ना विद्यार्थीहरू यस्ता प्रतिष्पर्धाहरूमा सहभागी होऊन् र आफ्नो क्षमता विकास गर्दै प्रदर्शन पनि गरून् भनेर लागिपर्नुहुन्थ्यो ।

जिल्ला स्तरीय कार्यक्रमहरूमा सहभागिता जनाउनु र उत्कृष्ट नजिता ल्याउनु समग्र विद्यालयकै मूल्याङ्कन हुनु सरह हुन्थ्यो । अर्कातिर प्रधानाध्यापकको समेत आफ्नो प्रतिष्ठाको विषय हुन्थ्यो । यस्ता प्रतिष्पर्धामा जानुपूर्व यथेष्ठ तयारी र अभ्यास गरेर जानु भन्नुहुन्थ्यो । विषय विज्ञता भएका शिक्षकहरूले प्रशिक्षण गर्नुहुन्थ्यो ।

त्यतिबेला म कक्षा आठमा पढ्थें । माध्यमिक विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता बक्राङ्ग भोगटेनीमा हुने भयो । आन्तरिक प्रतिष्पर्धामा दिनेश वाग्ले र म छानियौं । सुरेश वाग्ले गुरुले प्रस्तुति र विषयवस्तु सम्बन्धी प्रशिक्षण दिनुभयो । टीकाराम वाग्ले गुरुले हामी दुईलाई लिएर जानुभयो । अन्य प्रतिष्पर्धीहरूभन्दा हामी उमेरमा साना थियौं । तर वतृत्वकलामा तेजिला ठहरियौं । पुरस्कृत भयौं ।

भोलिपल्ट बिहान विद्यालयको प्रार्थना सभामा हेडसरले हामीलाई स्याबासी दिएर हौसला बढाउनुभयो । उमेश, दिनेश र म पटक-पटक सदरमुकाममा हुने प्रतिष्पर्धाहरूमा भाग लिन गएका थियौं । त्यतिबेला हामी हेडसरको गोरखा बजारको घरमा समेत बसेका थियौं ।

विद्यार्थीहरूलाई उहाँ आफ्नै छोराछोरीलाई सरह माया र ख्याल गर्नुहुन्थ्यो । एक पटक विज्ञान शिक्षा परियोजनाले गोरखाका माध्यमिक विद्यालयका १०-१० जना विद्यार्थीहरूको अङ्ग्रेजी, गणित र विज्ञान विषयको परीक्षा लिनेभयो । हामी त्यसका लागि छनौट भएर गयौं । त्यो परीक्षामा हाम्रो विद्यालय प्रथम भयो र हामीले नगद पुरस्कार समेत प्राप्त गर्‍यौं ।

हाम्रो विद्यालयको लागि यो ठूलो गौरवको कुरा थियो। यो कुराले हेडसर निकै खुसी हुनुभयो । अनि प्राप्त रकम हामी सहभागी १० जना विद्यार्थीहरूलाई दामासाहीले बाँडिदिनुभयो । सायद त्यो रकम विद्यालयले राख्न पनि सक्थ्यो होला तर हेडसरले हामीलाई प्रोत्साहन गर्न चाहनुभयो ।

****

विद्यालयमा हेडसरप्रति सबैको सम्मान थियो । उहाँले बोलेपछि कसैले कुरा काट्न सक्दैनथिए । सबैलाई अनुशासनमा राख्न सक्नु उहाँको खूबी थियो । विद्यालयमा मात्रै नभएर अभिभावक र समाजमा पनि उहाँको ठूलो प्रतिष्ठा थियो ।

बेलाबेलामा स्थानीय बुद्धिजिवीहरू रुद्र बस्नेत, शम्भुलाल श्रेष्ठ, गेहेन्द्र राना र जीवन रानाहरू विद्यालयमा आउनुहुन्थ्यो । उहाँहरूले माधवबाबु भनेर स्नेहपूर्वक विद्यालयका बारे सोध्नुहुन्थ्यो । अनि आवश्यक सहयोग गर्ने वचन दिनुहुन्थ्यो ।

हेडसरको अगुवाइमा हुने योजनाहरूमा सहयोग र श्रमदान गर्न स्थानीय अभिभावकहरू सदा तत्पर रहनुहुन्थ्यो । विद्यालय भवन बनाउन झन्डै २ घण्टा परको चेपे नदीबाट विद्यार्थीहरूले झोलामा चार माना बालुवा बोकेर, अभिभावकहरूले अन्य निर्माण सामग्री बोकेर र श्रमदान गरेर त्यतिबेला उहाँको नेतृत्वमा नयाँ भवनहरू बने।

टाढाबाट आउने विद्यार्थीहरूको सुविधाको लागि छात्रावास समेत बन्यो। पछि सामुदायिक विकास, दीगो विकास आदि बारे मेरो अध्ययनको सीमा फराकिलो हुँदै गएपछि लाग्यो- हाम्रो हेड सरसँग समुदायमा आधारित विकासबारे स्पष्ट दृष्टिकोण रहेछ।

समुदायको अपनत्वले भौतिक संरचना सुधार र संरक्षण मात्र होइन विद्यालयको शैक्षिक उन्नतिमा पनि कसरी भूमिका खेल्छ भन्ने राम्रो हेक्का रहेछ। म आफैं ठूलो भएर जब व्यवस्थापन भन्ने कुरा कति जटिल रहेछ भन्ने बुझें त्यतिबेला मलाई लाग्यो- हेडसरले कसरी सबैलाई खुशी पारेर, सबैको विश्वास जितेर, काम गर्नुभएको थियो होला ?

स्रोतसाधनको अभाव हुँदाहुँदै पनि जनता मावि आँपपिपलको शैक्षिक गुणस्तर उकासेर जिल्लाकै अब्बल विद्यालयका रूपमा कसरी स्थापित गर्नुभयो होला ? त्यतिबेला उहाँ यस्तै ३०-३५ वर्षको हुनुहुन्थ्यो होला। त्यो उमेरमा विद्यार्थीदेखि गाउँलेहरू सबैलाई उत्प्रेरित गरी स्थानीय स्रोत र साधन परिचालन गरी आवश्यक निर्माण कार्य सम्पन्न गर्नु कम्ति चुनौतीपूर्ण कार्य थिएन।

अहिले आएर उहाँको त्यतिबेलाको यी कामहरू सम्झिँदा जनमुखी विकासका अग्रणी रूपचन्द्र विष्टका कामसँग उहाँको अभियानलाई तुलना गर्न मन लाग्छ ।

****

२०४७ सालमा उमेश र मैले सँगै एसएलसी दिंदा हामी एउटै डेरामा थियौं । एसएलसीका लागि भवानी माध्यमिक विद्यालय ठाँटीपोखरीमा हाम्रो परीक्षा केन्द्र तोकिएको थियो । पढाइमा तिक्ष्ण भए पनि उमेरमा हामी औसतभन्दा कम उमेरका थियौं ।

आफ्ना विद्यार्थीहरूको मनोबल उच्च होस् भनेर हेडसरले आफ्नो विद्यालयका शिक्षकहरूलाई परीक्षा केन्द्र जान मिल्ने गरी व्यवस्था मिलाउनुभएको थियो । विष्णुहरि मरहट्टा लगायतका सरहरूले हाम्रो विशेष रेखदेख गर्नुहुन्थ्यो । त्यसले गर्दा हामीलाई निर्धक्क भएर परीक्षा दिन सहज भयो ।

चालीसको दशक राजनीतिक रूपमा पनि सजिलो समय थिएन । व्यवस्था विरोधी लहर भुसको आगो झैं सल्किएको थियो । एकातिर प्रधानाध्यापक भएपछि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्थ्यो । यस्तो अवस्थामा बाहिर जति सजिलो देखिए पनि भित्र सबै कुराको व्यवस्थापन उहाँका लागि चुनौतीपूर्ण नै थियो ।

त्यतिबेला विद्यालयभित्रको आन्तरिक व्यवस्थापनमा निकै सुझबुझ जरुरी हुन्थ्यो। बेलाबेला राजनीतिक दलका इसारामा लाग्ने विद्यार्थीहरूलाई सम्हाल्नु र त्यसको असर अध्ययन अध्यापनमा पर्न नदिनु, शिक्षक, अभिभावक सबैको चित्त बुझाएर नेतृत्व प्रदान गर्नु ठूलै खूबीको कुरा थियो।

उहाँको नेतृत्वकालमा विद्यलयको पठनपाठनमा उल्लेख्य सुधार भएको मानिन्छ। माधव सरको व्यवस्थापकीय कुशलतालाई चिन्ने जान्ने सबैले तारिफ गर्थे। यद्यपि प्रजातन्त्र स्थापनपछिको खुल्ला समयमा पनि उहाँ शक्तिकेन्द्रहरूको आँखामा परिरहनुभयो । जनता माविको समग्र सुधारमा अतुलनीय योगदान पुर्‍याए बापत पुरस्कृत गर्नुपर्नेमा उल्टो २०४९ सालमा उहाँलाई पेल्ने मनसायले सरुवा गरेर नामजुङ पठाइयो । २०५२ सालसम्म नामजुङको विद्यालयमा पनि काम गर्नुभयो ।

त्यसपश्चात् काठमाडौं स्थानान्तरण हुनुभयो। काठमाडौं आएपछि निजी विद्यालयको स्थापना गरी उहाँ शिक्षण, विद्यालय व्यवस्थापन, लेखन र शैक्षिक आन्दोलनमा जीवनपर्यन्त सक्रिय रहनुभयो।

गोरखा र काठमाडौं गरेर उहाँले हजारौं विद्यार्थीहरूमा ज्ञानको ज्योति छर्नुभयो । भविष्य कोर्न सिकाउनुभयो, बाटो देखाइदिनुभयो र आफ्नै छोराछोरीलाई जस्तै माया दिनुभयो । जहाँ जानुभयो, आफ्नो फरक पहिचान बनाउनुभयो ।

****

विद्यालयको अध्ययन सकिएपछि पनि म हेडसरसँग सम्पर्कमा रहिरहें । उमेश मेरा सहपाठी भएको कारण पनि मलाई सहज भइरह्यो । अचम्म त के लाग्छ भने नेपाल, भारतका शिक्षण संस्थाहरूमा प्रायः प्रतिष्पर्धाको होड हुन्छ । कक्षामा पहिलो, दोस्रो हुनेहरूको त्यति मेल भएको देखिंदैन ।

मौका परे अनेक तिकडम पनि हुन्छ । तर उमेश र म अनि अरु साथीबीच कहिल्यै पनि पढाइको प्रतिष्पर्धाको कारणले सम्बन्ध तिक्ततापूर्ण भएन। हामी सधैं सौहार्द साथी भयौं र आजपर्यन्त सौहार्द सम्बन्धमा छौं। एक अर्काको प्रगतिमा खुशी हुन्छौं।

हेडसरका दाजुका छोरा क्यानडा निवासी डा. पुण्यसागर मरहट्टाले बेलाबेला मलाई भनिरहनुहुन्छ, ‘ऋषि, तिमी त हाम्रो परिवारमा नजन्मेका तर भाइ छोरा सरह नै हौ । तिमीले हाम्रो कान्छोबा (हेडसर) को मन जितेका छौं ।’

साँच्चै नै हेडसरको ममाथि एक प्रकारको अपेक्षा र विश्वास थियो । त्यही विश्वास र अपेक्षाले गर्दा भूगोलको जुन कुनामा उभिए पनि आज म शैक्षिक र सामाजिक रूपले यो स्थानमा छु ।

****

एक पटकको कुरा । वन विज्ञान पढ्ने बेला मलाई प्राज्ञिक सिफारिस चाहिएको थियो । उहाँले सिफारिस पत्रमा लेख्नुभएको थियो, ‘ऋषि निकै राम्रो सम्भावना बोकेको छात्र हो । आजसम्म पढाएका विद्यार्थीहरूमध्ये मेरा लागि ऊ एकदुई जनाको गन्तीमा पर्ने अत्यन्त मेधावी विद्यार्थी हो ।’

कक्षा छ मा जनता मावि आँपपिपलबाट गरिब तथा जेहेन्दार भएर छात्रवृत्तिमा पढ्न सुरु गरेको म स्नातकोत्तर गर्दा जर्मनीको प्रतिष्ठित डीएएडी छात्रवृत्ति अनि विद्यावारिधीका लागि क्यानडा सरकारले संसारका अब्बल दर्जाका अनुसन्धानकर्ताहरूलाई आफ्नो विषयमा निरन्तर अनुसन्धान गर्नका लागि प्रदान गर्ने अति विशिष्ट श्रेणीको Vanier Canada Graduate Scholarship पाउँदाका बखतसम्म कायम रह्यो ।

त्यतिबेला मैले मेरो जीवनका दुई व्यक्तित्वहरूलाई सम्झें र श्रद्धाले शिर निहुरियो । ती दुई व्यक्ति अरु कोही नभएर मेरो शिक्षादिक्षा र उज्यालो भविष्यको सपना देखेर कमाउनको लागि भारत पस्ने मेरो पिताजी मेघनाथ बस्ताकोटी र अर्को व्यक्ति मेरा पिताजी मलाइ पढाउने खर्च जोहो गर्न भारत पसेकै वर्ष मलाई छात्रवृत्तिका लागि छनौट गरी पढ्न उत्प्रेरित गर्ने र मेरो पिताजीको सापनाको कलिलो बिरुवाको जरामा मलजल गरी हुर्काउने माधवप्रसाद मरहट्टा सर ।

****

हेडसर गोरखा छाडेर काठमाडौं आए पनि आफ्नो ऊर्जाशील समय खर्चेको आँपपिपल स्कूल र आँपपिपल क्षेत्रको विकासका लागि सधैं चिन्तनशील रहनुभयो । आफू संरक्षक/अभिभावकको भूमिकामा रहेर आँपपिपलका पूर्व विद्यार्थीहरूलाई एकजुट हुन अभिप्रेरित गर्नुभयो ।

उहाँको प्रेरणाले नै जनता मावि पूर्व विद्यार्थी समाजको स्थापना भयो । पूर्वविद्यार्थी समाज मार्फत् विद्यालय र स्थानीय सरोकारमा पूर्व विद्यार्थीहरूलाई जोडिराख्ने र आफ्नो माटोको लागि केही गरौं भन्ने भावना सबैमा जीवन्त राख्ने उहाँको सपना हो।

जहाँ पुगे पनि आफ्नो जरो नबिर्सिन आफ्ना विद्यार्थीहरूलाई आग्रह गर्नुहुन्थ्यो । आँपपिपल विद्यालयप्रति हेडसरको आगाध प्रेम थियो । उहाँ भन्नुहुन्थ्यो, ‘जहाँ गए पनि, जहाँ रहे पनि सपना देख्दा पलपल म त आँपपिपलकै सपना देख्छु ।’

आँपपिपल क्षेत्रको शैक्षिक तथा समग्र विकासको लागि उहाँको ठूलो सपना थियो। ठूलो समर्पण थियो। जीवन रहँदासम्म त्यो सपनाले उहाँलाई कहिल्यै छोडेन। त्यसलाई साकार पार्ने र त्यही सपनाको जगमा अन्य सपनाहरू फुलाउने जिम्मा अब परिवारजन, उहाँका विद्यार्थी र शुभचिन्तकको काँधमा आएको छ। आँपपिपलको लागि माधव सर अर्थात् हेड सर एउटा जोगाउनुपर्ने र गर्व गर्न लायक दुर्लभ ‘लिगेसी’ हो।

जीवनमा धेरै गुरुहरूको सानिध्यमा धेरै कुरा सिक्न पाइयो । देश, विदेशका धेरै विद्यालय, विश्वविद्यालयहरूमा पढियो, आफूले अध्ययन गरेको विषयमा विशिष्टीकरण हासिल गरियो तर काँचो माटोलाई उपयुक्त आकारमा ढाल्ने काम हेडसरकै हातबाट भयो ।

उहाँबाट माया, प्रेरणा र ज्ञान मिल्यो । उहाँले खनेको बाटोमा अनि उहाँले देखाएको बाटोमा अघि बढ्दै जाँदा अहिलेको स्थानमा आइपुगिएको हो। अहिले जहाँ पुगेपनि जग त त्यहीं छ।

उहाँले सिकाएका कुरा उतिबेलै सिकियो, कति सिक्दै गइयो, कति कुरा त अहिले पो बुझिंदैछ । किताबी ज्ञान उतिबेलै सिकियो, जानियो । तर व्यवस्थापकीय र जीवन उपयोगी व्यवहारिक ज्ञानको भण्डार भने बहुमूल्य सन्दर्भ सामग्री जस्तै भएका छन् । तिनले अहिले पनि मार्गनिर्देशन गरिरहेका छन् । गुरु मन्त्रका अर्थ खुल्दै प्रयोगमा आइरहेका छन् । यसैले अहिले पनि भन्न मन लाग्छ– म आँपपिपल पढेको हुँ । म माधव सरको विद्यार्थी हुँ ।

(वातावरणीय नीति विषयमा क्यानाडाको क्यालगेरी विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्ताकोटी अमेरिकाको नर्थ क्यारोलाइना वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञको रूपमा कार्यरत छन्। यो आलेख स्वर्गीय माधबप्रसाद मरहट्टाको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ ‘माधव सर’ बाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?