+
+

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारी टोलीबीच वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २० गते २१:२६

२० साउन, काठमाडौं । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच शनिबार साँझ वार्ता भएको छ ।

वार्ता पुनः भोलि बस्ने गरी स्थगित भएको संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले जानकारी दिइन् । उनका अनुसार गृह मन्त्रालयको टोलीले प्रधानमन्त्रीसँग छलफल गरेर आइतबार मागका विषयमा छलफल गर्ने बताएको छ ।

‘आज सामान्य कुराकानी भयो, उहाँहरुले प्रधानमन्त्रीसँग सल्लाह गरेर भोलि वार्तामा बोलाउछौं भन्नुभएको छ’, उनले भनिन् ।

७ चैत २०६३ मा कार्यक्रम गर्ने स्थानको विवादमा रौतहटको गौरस्थित राइस मिलमा तत्कालिन मधेशी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए । सो घटनामा आफन्त गुमाएकाहरुले विभिन्न माग राख्दै रौतहटको चन्द्रनिगाहापुरमा धर्ना दिइरहेका छन् ।

उनीहरुले हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको सम्मानमा त्यहाँको सडकलाई शहीद मार्ग नामकरण गर्नुपर्ने, शहीद परिवारलाई रोजगारी दिनुपर्ने, घाइते तथा अपांग भएकाहरुलाई उपचार र राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।

संघर्ष समितिका पदाधिकारीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले आफूले माग पूरा गर्ने भन्दै धर्ना स्थगित गर्न आग्रह गरेका संयोजक उपाध्यायले बताइन् । ‘उहाँले धर्ना स्थगित गर्नुस्, माग पूरा गर्छु भन्नुभयो, हामीले पहिले माग पूरा गर्नुस् न भनेका छौं’ उपाध्यायले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?