+
+

‘भूराजनीतिको भार’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २० गते २१:४४

२० साउन, काठमाडौं । बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार : नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र पत्रकार कुन्दन अर्यालले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

पत्रकार तथा अनुसन्धाता विश्वकर्माको पुस्तकमा नेपालमा छिमेकी मुलुक चीन र भारत तथा शक्ति राष्ट्र अमेरिकाबीच हुने गरेको शक्ति संघर्षको विषय समेटिएको छ । पुस्तकमा एमसीसी, बीआरआई, एसपीपी, जीएसआई, इन्डोप्यासिफिक रणनीति र सीमा विवाद लगायतका १३ अध्याय समेटिएका छन् ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पुस्तक नेपालको भूराजनीति र परराष्ट्र सम्बन्धका आयाम केलाउन सफल रहेको बताए ।

मुलुकको परराष्ट्र नीतिमा सन्तुलन नरहेको भन्दै श्रेष्ठले नेपालको कूटनीति कोल्टे फर्किएको बताए । ‘आन्तरिक सम्बन्ध सबल नभएसम्म बाह्य सम्बन्ध सुदृढ हुन सक्दैन । मुलुक सधैं दरिद्र भइराख्ने हो भने अन्तर्राष्ट्रिय क्रीडास्थल भइरहन्छ र विदेशी चलखेल बढ्छ’, उनले भने ।

कांग्रेस नेता रिजालले झुटा राष्ट्रवादभन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्ध देशको हितमा हुनुपर्ने बताए । कहिले दक्षिणलाई गाली गर्ने र कहिले उत्तरलाई गाली गर्ने राजनीतिले मुलुकलाई कहीं नपुर्‍याउने उनको भनाइ छ ।

यस्तै परराष्ट्र विज्ञ अधिकारीले चार वर्षयताको घटनालाई पुस्तकले मिहिन ढंगले वर्णन गरेको बताइन् । अधिकारीले नेपाल विस्तारै चीनको पकडमा गइरहेका बेला पुस्तक पनि चीनकेन्द्रित रहेको धारणा राखिन् ।

उनले मित्रता र सद्भाव अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायी नहुने भन्दै अगाडि भनिन्, ‘अहिलेको विश्वमा प्रतिस्पर्धी शक्ति चीन रहे पनि हाम्रो हित विपरीत कुनै प्रस्ताव आए अस्वीकार गर्न सक्नुपर्छ ।’

पत्रकार अर्यालले नयाँ विश्व परिस्थितिमा भूराजनीतिलाई सबैले बुझ्नुपर्ने भन्दै पुस्तकले बहस र विमर्शको बाटो खोलेको बताए । उनले नेपाली राजनीतिक नेतृत्वको अलमलले घरेलु राजनीतिमा बाह्य प्रभाव परेको भन्दै लेखकले जटिल विषयलाई पनि सहज ढंगले प्रस्तुत गरेको बताए ।

लेखक विश्वकर्माले सक्रिय पत्रकारिता छाडेर अनुसन्धानमा लागेको परिणामस्वरूप पुस्तक लेख्न सकेको बताए । दुई दशकभन्दा लामो समयदेखि खोज पत्रकारितामा सक्रिय विश्वकर्माको यो दोस्रो पुस्तक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?