+
+
Shares

बालसाहित्यका ५ पुस्तक बालबालिकाबाटै लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १५:०१

२७ माघ, काठमाडौं । साङ्ग्रिला बुक्स र रुम टु रिड नेपालको सहकार्यमा विकास गरिएका बालसाहित्यका पाँच पुस्तकको लोकार्पण गरिएको छ ।

रुम टु रिडले नेपालमा पहिलो पटक निजी प्रकाशन गृहसँग सहकार्य गरेर बालसाहित्यका पाँच पुस्तकको लोकार्पण गरिएको हो ।

लेखक अस्मिता वादीको “जुन र किरी”, अनामिका गौतमको “इभा मख्ख, आमाबुबा छक्क’, दिपमाला महर्जनको “स्मार्ट आद्या”, रवी मिश्रको “दिव्याको कृष्टल बल” र रेणुका जिसीको “चमत्कारी घडी” चित्र पुस्तकहरु अनुदिता बस्नेत, आद्याश्री पौडेल, देवांश आर भट्टराई, मारिया काफ्ले र सर्वज्ञ पौडेलले सामूहिक रुपमा लोकार्पण गरेका हुन् ।

सामाजिक मनोविज्ञानमा आधारित कथाहरुमा अनामिका गौतम, प्रज्ज्जल थापा मगर, रवी मिश्र र सरिस्मा अच्छामीले चित्र बनाएका छन् । नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित पुस्तकको अङ्ग्रेजी अनुवाद अवनी गिरीले गरेकी हुन् ।

पुस्तक लोकार्पणमा बोल्दै लेखक तथा सम्पादक आन्विका गिरीले साङ्ग्रिला बुक्सले बालबालिकाको सिकाइ, मनोरञ्जन र पढ्ने बानीका लागि बाल साहित्यका पुस्तकलाई प्राथमिकता दिएको बताइन् । उनले रुम टु रिड नेपालको प्राविधिक सहयोगले गुणस्तरिय बाल साहित्य प्रकाशन गर्न टेवा पुग्ने बताइन् ।

रौतहटको जनशक्ति माध्यमिक विद्यालय, चन्द्रपुरकी प्रधानाध्यापक तथा लेखक रेणुका जिसीले शिक्षणमा बाल साहित्यका पुस्तकले निकै सघाउ पुग्ने भएकाले यसको प्रवर्द्धनमा सरकारको विशेष चासो हुनुपर्ने बताइन् । उनले शिक्षक र अभिभावकले समेत बाल साहित्यका पुस्तक पढ्ने बानी बसाल्नु जरुरी भएको उल्लेख गरिन् ।

रुम टु रिडका राष्ट्रिय निर्देशक पुष्कर श्रेष्ठले रुम टु रिडका पुस्तक सबैको पहुँचमा पुगुन् भनेर निजि प्रकाशन गृहसँग सहकार्यको थालनी गरिएको बताए । रुम टु रिडले यसलाई अन्य प्रकाशन गृहसँग पनि बिस्तार गरिने बताए ।

बुढानीलकण्ठ स्कुलका प्रधानाध्यापक केशर बहादुर खुलालले बालबालिकाको संवर्द्धनका लागि बालसाहित्यको महत्व रहेको बताए । बालबालिकाको समग्र व्यक्तित्वमा बाल साहित्यको छाप निकै पछिसम्म रहने हुँदा बाल साहित्यको पुस्तक सबै बालबालिकाको पहुँचमा हुनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?