+
+

‘क्यामिनो’मा प्रदीपको जोडी आना

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १३:१३

काठमाडौं । प्रदीप खड्काको शीर्ष भूमिका रहने फिल्म ‘क्यामिनो’मा आना शर्मा जोडिएकी छन् । निर्देशक दीपक वलीले अभिनेत्री शर्मासँग फिल्मबारे मौखिक सहमति भएको र केही दिनमा लिखित सम्झौता हुने जानकारी दिए ।

यसअघि नीति शाहले फिल्म छाडेपछि निर्माताले नयाँ अभिनेत्रीको खोजी थालेका थिए । जसमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या र आनासँग कुराकानी भएको थियो । तर आनालाई लिने सहमति जुटेको निर्देशक वलीले बताए ।

आनाले अब यो फिल्ममा प्रदीपको अपोजिटमा अभिनय गर्नेछिन् । यसबाहेक फिल्ममा रविन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस लगायत छन् ।

निर्देशक वलीले केही सातामा फिलिपिन्सबाट छायांकन सुरु हुने बताए । निर्माता र व्यानर हेरफेर हुँदा फिल्मको निर्माणमा ढिलाइ भएको थियो । यो फिल्मको निर्माणमा नयाँ कम्पनी एवान क्रिएसन जोडिएको छ । अमृतमान वली नयाँ निर्माताको रुपमा भित्रिएका छन् ।

‘अब दुई साताजतिमा सुटिङमा जाने तयारीमा छौं । मौसम र निर्माताको हेरफेर, नामसारीले ढिलाइ भयो,’ दीपकले भने । उनका अनुसार फिलिपिन्समा ४५ दिन रहेर फिल्म छायांकन हुनेछ । त्यसपछि तिहारपछि बाँकी छायांकन नेपालमा गर्ने तयारी छ ।

हिंडेर अमेरिका जाने कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो । निर्माताले दक्षिण अमेरिकी मुलुकको सेटिङमा फिल्मलाई फिलिपिन्समा छायांकन गर्न लागेका हुन् ।

आनाको कुरा गर्दा, उनी यतिबेला राजेश हमाल र अनुपविक्रम शाहीको अभिनय रहेको फिल्म ‘मायाको माया’को सुटिङमा व्यस्त छिन् । ८० प्रतिशत छायांकन सकिएको यो फिल्मको बाँकी चरण मुस्ताङमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?