+
+

संसदको अवरोध खोल्न एमाले भएन तयार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १९:३२

२१ साउन, काठमाडौं । संघीय संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न आइतबार सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई सिंहदरबारमा बोलाए । तर सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक सञ्चालनको विषयमा सकारात्मक निर्णय हुन सकेन ।

एमाले सचेतक महेश बर्तौलाले भने, ‘सोमबार प्रतिनिधि सभाको बैठक खुलाउने विषयमा ठोस निकास निस्कन सकेन, सत्तापक्ष सुन प्रकरणमा छानबिन समिति गठन गर्न तयार भएन । हामी छानबिन समिति गठन गर्नु नै निकास हो भनिरहेका छौं । कुरा मिलेको छैन ।’

सत्तारुढ दलका नेताहरुले सरकार भ्रष्टाचार विरोधी अभियानमा रहेकोले सहयोग गर्न आग्रह गरेको र आफूहरुले भ्रष्टाचार विरोधी सरकारको अभियानलाई सहयोग गर्नका लागि नै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको उनको भनाइ छ । उनी थप्छन्, ‘हाम्रो माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राखिन्छ ।’

साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय पार भई आएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन तस्करी प्रकरणमा विभागले राजस्व चुहावट मुद्दामा अनुसन्धान गरिरहेको थियो । आइतबारमात्र अनुसन्धानका सबै फाइल र थुनुवाहरु प्रहरीलाई बुझाएको छ ।

तर सरकारी अनुसन्धानमा आशंका गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग राखेर साउन १० गतेयता संसद चल्न दिएको छैन । शीर्ष तहमा छलफल भएर सहमति नजुटे सोमबार पनि संसदमा अवरोध कायमै रहने नेताहरु बताउँछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार सभामुखले सदनको अवरोध खुलाउन पहल लिएको बताउँछन । तर सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा रहेका कारण सोमबारको प्रतिनिधि सभा बैठकमा के हुन्छ भन्ने प्रष्ट हुन नसकेको प्रमुख सचेतक परियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?