+
+

अधिकांश उपसूचक बढेपनि बैंकिङ उपसूचक ओरालो लाग्दा नेप्से घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १५:४२

२२ साउन, काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । ७ साउनमा मौद्रिक नीति आएपछि ८ साउनदेखि घट्न लागेको नेप्सेमा करिब १७९ अंकको गिरावट भएको छ ।

७ साउनमा ६३ अंकले बढेर एक वर्षयताकै उच्च २२२७.१६ को विन्दुमा पुगेको नेप्से ८ साउनदेखि लगातार ५ कारोबार दिन गिरावट भयो । त्यसपछि १५ साउनमा एकल अंककको सामान्य वृद्धि भएपनि १६ साउनमा पुनः घटेर १७ र १८ साउनमा सामान्य बढेको थियो ।

आइतबार बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेपछि सेयर बजार झनै ओरालो लागेको छ । आइतबार नै ३८.३७ अंकले गिरावट भएको नेप्से सोमबार पनि ३.२१ अंकले गिरावट हुँदा २०४८.२६ को विन्दुमा बन्द भएको छ ।

सोमबार नेप्सेमा बैंकिङ, हाइड्रोपावर, अन्य र लगानी बाहेकको ९ वटा सूचक बढेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा गिरावट भएको हो ।

वाणिज्य बैंकको खराब वित्तीय विवरणले वाणिज्य बैंकहरुको बैंकिङ उपसूचकमा गिरावट भएको हो । बैंकिङ उपसूचक सर्वाधिक ०.९४ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक ०.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३३ प्रतिशतले गिरावट भएको छ ।

वित्त कम्पनी उपसूचक १.६५ प्रतिशतले वृद्धि हुँदा विकास बैंक र होटल तथा पर्यटन उपसूचक१.४१ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएको छ । नेप्सेमा सूचीकृत भएर आइतबार मात्रै कारोबार सुरु भएको आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर कारोबार उच्च हुँदा नेप्सेमा कारोबार बढेको छ। सोमबार १ लाख १ हजार २३६ वटा कारोबारमा ६६ लाख ४७ हजार १४३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ३३ करोड ३६ लाखको कारोबार भएको छ ।

जसमध्ये आईएमई लाइफको सर्वाधिक ४३ करोड ६३ लाख र नेपाल रिपब्लिक मिडियाको ८ करोड २५ लाख १९ हजारको कारोबार भएको छ । नयाँ सूचीकृत कम्पनीको सेयर बिक्रीको चाप बढेसँगै यी कम्पनीको उच्च कारोबार भएको छ भने नेप्सेमा कुल कारोबार संख्या पनि बढेको छ ।

यस्तै सोल्टी होटलको सेयर पनि ७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १०० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ । त्यस्तै स्वाभिमान लघुवित्तको सेयरमूल्य ८.१६ प्रतिशतले बढेको छ ।

छ्याङदी हाइड्रोपावरको सेयरमूल्य ६.४५ प्रतिशतले गिरावट हुँदा, पिपुल्स पावर कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशत र विजय लघुवित्तको सेयरमूल्य ४.४८ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?