+
+

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको भयो ‘ब्रेक थ्रु’

आर्यन धिमाल आर्यन धिमाल
२०८० साउन २२ गते १८:५३

२२ साउन, काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ ।

चार वर्ष अगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो ।

आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको थियो । जसलाई सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरियो ।

यो रेस्क्यु टनेलको लम्बाइ २.५ किलोमिटर रहेको छ । २.६ किलोमिटर लम्बाइको मुख्य टनेलको काम अब १८ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ । मुख्य टनेलमा अब ५ सय ६ मिटर खन्न बाँकी रहेको छ । यो नेपालको पहिलो ठूलो सुरुङमार्ग हुनेछ ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड बिस्तार तथा विपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । कर बाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै २ वटा फ्लाइओभर समेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदैछ । सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।  

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?