+
+

‘महानगर’को काव्यात्मक ट्रेलर : सपना र यथार्थको भागदौडमा कार्म र मेनुका 

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १७:४४

काठमाडौं । कार्म र मेनुका प्रधान स्टारर फिल्म ‘महानगर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

देश-विदेशका थुप्रै फेस्टिभलमा सहभागी भई केही अवार्ड पनि जित्न सफल फिल्मको ट्रेलरले फिल्म काव्यात्मक भएको छनक दिन्छ । ट्रेलरको सुरुमै मेनुकाको पात्रले वाचन गर्ने कविता मात्र नभई फिल्मको लय, संवाद र दृश्य संयोजनले पनि ट्रेलरलाई पृथक बनाएको छ । फिल्ममा मेनुकाले महानगरको सपनाको बोझले थिचिएकी युवतीको भूमिका निर्वाह गरिरहेको संकेत पाइन्छ भने कार्म उनलाई त्यो बोझबाट निकाल्ने जिम्मेवारीमा छन् ।

फिल्ममा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल लगायत कलाकारको पनि अभिनय छ । सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको ‘महानगर’ले निफमा राष्ट्रिय फिल्मको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

माउन्टेन रिभर फिल्म्स तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको महानगरको लेखन तथा निर्देशन मोहन राईले गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आचार्यको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ । फिल्म भदौ ८ गते देशव्यापी रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?