+
+

लगानी सम्मेलन : लगानीको वातावरण बनेको सन्देश दिने प्रयास

आइतबारदेखि काठमाडौंमा सुरू लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रले एकै स्वरमा नेपालमा लगानीका लागि आह्वान गरेका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ वैशाख १६ गते २०:२३
Photo Credit : RSS

१६ वैशाख, काठमाडौं । तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । १ हजार ४ सयभन्दा धेरै पाहुना सहभागी सम्मेलनमा सहभागी उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेतृत्व र निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि उपयुक्त स्थल भएको सन्देश प्रवाहमा अधिकतम समय खर्चिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले समेत एकैस्वरमा नेपालमा लगानीका लागि आह्वान गरे ।

लगानी सम्मेलनको पहिला दिन वातावरण प्रवाहमा महत्त्वपूर्ण देखिएको लगानी बोर्डको भनाइ छ । बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्री दाहालले आइतबार नै विभिन्न देशका २२ वटा बढी प्रतिनिधिमण्डलसँग भेटघाट गरेका छन् ।

छुट्टाछुट्टै भएको भेटघाट तथा छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले करिब साढे दुई घण्टा समय बिताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले हरेक भेटमा मुलुकमा लगानीको वातावरण बनेको र यहाँ आएका लगानीकर्ताले राम्रो प्रतिफल पाएको जानकारी गराएका थिए ।

आइतबार उद्घाटन सत्रमा समेत उनले सोही सन्देश प्रवाह गर्ने जमर्को गरे । उनले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताए ।

उनले भने, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’

लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए ।

सोही सन्दर्भमा हालै सरकारले कानुन परिमार्जन गरेको उनले उल्लेख गरे । नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्रीको भनाइ छ ।

देउवाले विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला रहेको भन्दै यसका लागि आह्वान गरे । उनले पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिमा बढी सम्भावना रहेको उल्लेख गरे ।

सरकारले नीतिहरू परिमार्जन र पुनर्संरचना गर्दा वातावरण बनाइरहेको र यसमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले समेत काम गरेको उनको भनाइ थियो ।

अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य रहेको बताए । उनले नेपालका आर्थिक सूचक स्थिर र सकारात्मक गएको भन्दै आश्वस्त पार्न खोजेका थिए ।

राजनीतिक दलहरुको सहमतिमा ऐनहरूमा गरिएको संशोधनबाट नेपाल लगानी भित्राउन कट्टिबद्ध रहेको सन्देश प्रवाह भएको उनको दाबी छ ।

निजी क्षेत्रको होस्टेमा हैंसे

लगानी सम्मेलनमा यस पटक निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एक स्वरमा सरकारको समर्थन गर्दै लगानीका लागि आह्वान गरे ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आह्वान गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीको सम्भाव्य क्षेत्रबारे चर्चा गरेका थिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सस्तो श्रमशक्ति, छिमेकी मुलुक भारत र चीनको उपभोक्ता बजार लगायत कारण नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताए ।

सम्मेलनका क्रममा आज दुईवटा सम्झौता सम्पन्न भएका छन् । डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो ।

बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष थायन लाईले हस्ताक्षर गरेका छन् ।

दिनभर छलफल र प्रदर्शनी

प्रत्यक्ष वैदेशिक लगानी तथा सार्वजनिक–निजी साझेदारी अवधारणामा अघि बढाउन खोजिएको आयोजनाहरूको प्रदर्शनी विभिन्न प्रदर्शनी कक्षहरूमार्फत कार्यक्रम अवधिभर चलेको थियो ।

१४ सयभन्दा धेरै सहभागी सम्मेलन स्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । सहभागी एवम् लगानीकर्ताले ती प्रद्धर्शनीकक्षमार्फत विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । सम्मेलनका क्रममा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कुल एक सय ५४ परियोजना प्रस्तुत गरिएका छन् ।

को कसको रह्यो सहभागिता ?

उद्घाटन समारोहमा नेपालका लागि चीनका राजदूत चेन सोङ, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनलगायतले सम्बोधन गरे ।

युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव रेबेका ग्रेन्सपान, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलको नेतृत्व गरेका सुप्रतिम दत्ता र यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल केशपले सम्बोधन गरे ।

एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) कार्यबाहक उपाध्यक्ष रजत मिश्रलगायतले सम्बोधन गरेका थिए ।

यसैगरी चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष तथा महाप्रबन्धक सुशील शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायतले पनि सम्बोधन गरेका थिए ।

उद्घाटनसत्र पश्चात दुई मुख्य सत्रहरू ‘नेपालमा लगानीका सम्भावनाको खोजी’ तथा ‘नेपालमा लगानी सफलताका कथा’ सञ्चालन भएका थिए । जसमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, डा. प्रकाशशरण महत, सांसद डा. स्वर्णिम वाग्लेसहितका वक्ताले भाग लिएका थिए ।

सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय साइडलाइन बैठकहरू सम्पन्न भएको लगानी बोर्डले जनाएको छ ।

सम्मेलन सोमबारसम्म चल्ने छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?