News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा दुई समुदायबीचको झडपमा परी चार जनाको मृत्यु भएको छ भने भौतिक तथा आर्थिक रूपमा ठूलो क्षति पुगेको छ।
- सुनसरीमा ११२ घर र ६१ सवारीसाधनमा क्षति पुगेको छ भने सिरहामा एक किशोरको मृत्यु हुनुका साथै ठूलो मात्रामा भौतिक क्षति भएको छ।
- गृहमन्त्रालयले गठन गरेको छुट्टाछुट्टै छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको छ र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ।
२५ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानञ्जबाट सुरु भएको दुई समुदायबीचको तनाव अन्यत्र जिल्लाहरूमा फैलँदा मानवीयका साथै ठूलो रुपमा भौतिक क्षति पनि भएको छ।
हिन्दु र मुस्लिम दुई समुदायबीच झण्डा नहटाएको र डिजेको आवाज चर्को बनाएको विषयमा विवाद हुँदा बढेको तनावले तत्कालै एक जना ज्यान लियो भने पछि तीन जनाको मृत्यु भयो । चार युवाको ज्यान गएको कप्तानगञ्ज घटनामा आर्थिक तथा भौतिक रुपमा पनि ठूलो क्षति भएको पाइएको छ।
तनावको बिन्दु सुनसरीमा भएको क्षतिबारे प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ। अहिलेसम्मको विवरणअनुसार सुनसरीमा ११२ घरमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अहिलेसम्मको विवरणअनुसार ११२ घर तथा भौतिक संरचनाहरूमा क्षति भएको छ।
११२ मध्ये २३ वटा पक्की घर छन्। ती घरहरू दुई समुदायबीच तनाव बढ्दा ध्वस्त भएको प्रहरीले बताएको छ । त्यस्तै ३४ कच्ची घरमा पनि क्षति भएको छ । जसमध्ये २५ कच्ची घर त जलेर नष्ट भए।
त्यस्तै ५० अन्य घर टहराहरूमा पनि क्षति भएको छ। एउटा इँटा भट्टा, २ मन्दिर र पाँच अन्य संरचनाहरूमा पनि तोडफोड भएको सुनसरी प्रहरीको रिपोर्ट छ। अझै मुचुल्काको काम भइरहेकाले यो संख्यामा केही बढ्न सक्ने बताइएको छ।
त्यसैगरी सवारी साधनतर्फ ६१ सवारीमा क्षति भएको छ । जसमा दुई पांग्रे सवारी ४४ वटा र चार पांग्रे सवारी ५ वटा पूर्ण रुपमा क्षति भएका छन्। ती सवारीहरू जलाने र कामै नलाग्ने गरी तोडफोड भएका छन्।
त्यस्तै, ६४ वटा सवारीसाधनमा क्षति पुगेको छ। दुई पांग्रे तथा स्कुटर र मोटरसाइकल गरी ५२ सवारीमा तोडफोड र आगजनी भएको छ। तीन पांग्रे तथा ८ वटा अटो रिक्सा र ४ वटा चार पांग्रे सवारीमा तोडफोड र आगजनी भएका छन्।
क्षतिको विवरण संकलन गर्ने, पीडितबाट उजुरी लिने क्रम जारी रहेकाले यो संख्या बढ्ने क्रममै रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्ले बताउँछन्।
सुनसरीपछि सबैभन्दा बढी क्षति सिरहामा भएको छ। सुनसरीपछि मानवीय क्षति भएको जिल्ला पनि सिरहा नै हो। सिरहामा गोली लागेर १५ वर्षीय किशोर गणेश यादवको मृत्यु भएको थियो।
यहाँ पनि ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी वासुदेव पाठकका अनुसार अहिलेसम्म ५० जना प्रहरीकहाँ निवेदन दिएका छन्।

प्रहरीकहाँ प्राप्त निवेदनअनुसार क्षति भएको ठाउँको मुचुल्का उठाउने काम अहिले भइरहेको उनले बताए । ‘अहिलेसम्म ५० जनाको उजुरी आएको छ । उजुरी आएअनुसार क्षतिको मुचुल्का उठाउने काम भइरहेको छ । जसकारण अहिले नै यति क्षति भन्ने यकिन भइसकेको छैन’ उनले अनलाइनखबरसँग भने ।
सिरहाको एबी मलले मात्रै २५ करोडको क्षति भएको भन्दै उजुरी समेत दिएको छ। अन्य व्यक्तिका निजी घर–टहराहरू, सवारी साधनमा पनि क्षति भएको भन्दै उजुरी आएको एसपी पाठक बताउँछन् ।
त्यतिबेला सुनसरी र सिरहा बाहेक अन्य जिल्लाहरूमा पनि तनाव भएको थियो। मोरङ, सप्तरी, धनुषा र पर्सासम्मका जिल्लाहरूमा पनि तनाव भएको थियो । अन्य जिल्लाहरुमा भने छिटपुट घटनाहरु भन्दा ठूलो क्षति नभएको प्रहरी अधिकारीहरु बताएका छन्।
मधेश प्रदेशका डीआईजी ओम अधिकारी सिरहा बाहेक मधेशका अन्य जिल्लामा ठूलो भौतिक क्षति नभएको बताउँछन् । ‘मुख्यगरी क्षति भएको सिरहामा हो । अन्य ठाउँहरूमा भने छिटपुट घटनाहरू भएका हुन् । हामी ती जिल्लाहरुलाई पनि मुचुल्का संकलन गरेर पठाउन भनेका छौं’ डीआईजी अधिकारीले भने ।
क्षति भएका व्यवसायीहरूले भने सुरक्षाको पूर्ण ग्यारेन्टी हुनुपर्ने, तत्काल क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै आएका छन् । कतिपय नागरिकका भने घर टहराहरु जलेर नष्ट भएकाले बास बस्न नै समस्या हुनु गरेको भन्दै प्रशासनमा निवेदन दिएका छन् ।
सुनसरी घटनाको चौथो दिनपछि बल्ल गृहमन्त्री सुधन गुरुङ काठमाडौंबाट तराई झरेका थिए । सुरक्षा निकायदेखि राष्ट्रिय सुरक्षा परिषद्सम्मले संवाद तथा धार्मिक, सामाजिक र राजनीतिक कोणबाट हल खोजिनु पर्ने बताएपछि गृहमन्त्री गुरुङ १४ साउन साँझ सुनसरी गएका थिए ।
गुरुङ सुनसरी घटनाका मृतक देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता, सोही ठाउँका २२ वर्षीय जयप्रकाश मेहताको घर पुगे । परिवारलाई भेटे ।

छानबिन गरेर दोषीलाई कारबाही गर्नेदेखि क्षतिपूर्ति, शहीद घोषणालगायतको विषयमा सहमति भयो । त्यसपछि सुनसरीको अवस्था विस्तारै मत्थर भयो । सुनसरी घटनाको विरोधमा सिरहा, सप्तरी, मोरङ, धनुषालगायत जिल्लामा विरोध, प्रदर्शन भएका थिए । सिरहामा व्यक्तिको घर, मल जलाउनेदेखि तोडफोडसम्म भयो ।
सिरहामा पनि मृत्यु भएको यादवको घरमा पुगेर परिवारलाई भेटे । त्यहाँ पनि सहमती भयो । पछि उपचारकै क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा रवीन्द्र मेहताको मृत्यु भयो ।
यो घटनामा ४ जनाको मृत्यु भयो भने सुरक्षाकर्मी र सर्वसाधारण गरी घाइते हुनेको संख्या भने ठूलो थियो । मृतकको परिवारलाई क्षतिपूर्ति, राहतलगायका दिने सहमति भयो भने भौतिक तथा आर्थिक क्षति हुनेले कसरी न्याय पाउँछन् भन्ने विषय अन्योलमै छ ।
अहिले सुनसरी र सिरहा घटनाका लागि गृहमन्त्रालयले छुट्टा छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।
प्रतिक्रिया 4