+
+
Shares

… अनि बाघ मर्दा च्याब्रुङ बाँच्दछ

नाटकमा ढुकुर, खरायो, मृग, बाघ जस्ता जनावर पात्रहरू छन् । तिनको शारीरिक चाल र हाउभाउमा पोख्त निर्देशकीय गुण भेटिन्छ ।

सापेक्ष सापेक्ष
२०८३ साउन २५ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनिल सुब्बाद्वारा निर्देशित नाटक केसामी नाम्सामीले लिम्बू समुदायको मुन्धुममा आधारित पौराणिक कथालाई रङ्गमञ्चमा प्रस्तुत गरेको छ ।
  • यस नाटकले प्रकृति र सभ्यताबीचको सम्बन्धका साथै मानिसमा हुने जंगली आवेग र विवेकको सङ्घर्षलाई मार्मिक ढङ्गले उजागर गरेको छ ।

एउटी आमालाई छोरोले प्रश्न गर्छ – कि मलाई रोज कि दाइलाई । अब हामी दाइभाइसँगै रहन सक्दैनौं । कि म मर्छु; कि दाइलाई मार्छु ।

यो स्थितिमा एउटी आमाले के भन्दी हुन् ? उनको वेदना कस्तो हुँदो हो ? उनले कस्तो जवाफ देलिन् ?

यो रहस्यको उद्घाटन नाटक केसामी नाम्सामीमा हुन्छ ।

सन्दर्भमा लागि, 

केसामी नाम्सामी साख्खे दाइभाइ हुन् । उनीहरू लिम्बू (याक्थुङ) समुदायको मुन्धुममा जीवित छन् । उनीहरूको लोककथालाई केसाम (च्याब्रुङ) बाजाको उत्पत्तिको कथाको रूपमा पनि लिने गरिन्छ ।

लोकउक्ति अनुसार प्राचीन समयमा तिगेन्जुङना नामकी एक महिला थिइन् । उनले कुनै पुरुषसँगको सम्बन्ध बिना नै जुम्ल्याहा छोराहरू जन्माइन् – केसामी र नाम्सामी । केसामी दाइ र नाम्सामी भाइ हुन् । तर, उनीहरूको चोला फरकफरक थियो । केसामी बाघको रूपमा जन्मे भने नाम्सामी मान्छेको रूपमा ।

सुरुमा दुवै दाजुभाइ मिलेर बस्थे । केसामीले शिकार गरेर नाम्सामीलाई पनि भाग दिन्थे । तर, उमेर बढ्दै जाँदा केसामीको जंगली स्वभाव बढ्दै गयो । यता नाम्सामी पनि बढ्दै जाँदा उनमा विवेक बढ्दै गयो । उनीहरूको यो फरक व्यक्तित्वले एकअर्काको अस्तित्वमाथि खलल पुर्‍याउन थाल्यो । 

केसामीले नाम्सामीका साथीहरूको शिकार गर्न थाल्यो ।  यी कारणले गर्दा उसले भाइ नाम्सामीलाई खाने धम्की दिन थाल्यो । 

सुरुमा नाम्सामी भाग्दै हिँड्थ्यो । उनले दाइबाट बचाउँन आमालाई पनि याचना गरेका थिए । तर, एउटा बिन्दुमा पुगेपछि नाम्सामी आफ्नो दाइ केसामीसँग लड्ने निधोमा पुग्छ ।

त्यसपछि के हुन्छ ? भन्ने कुरा नै नाटकको बाँकी कथा हो ।

000

यो नाटक ऐतिहासिक मिथकमाथि बनाइएको छ । लिम्बु समुदायलाई अझ नजिकबाट बुझ्न यो नाटक पक्कै उपयोगी साबित हुन जान्छ । अर्कोतर्फ, गैर समुदायका मानिसलाई मिथकबारे बुझ्न केही समय लाग्न सक्ला ।

तर, नाटकको मूल मर्म भने सबैका लागि मिल्न जान्छ ।

किनकि अनिल सुब्बा निर्देशित यो नाटकलाई मुन्धुमको मिथकलाई रङ्गमञ्चमा उतार्ने प्रयासका रूपमा महत्वाकांक्षी र संवेदनशील भन्न सकिन्छ । नाटकमा बाघ (दाइ) र मान्छे (भाइ)को लडाइँको कथालाई लोककथाको पुनरावृत्तिमा सीमित नराखी सांस्कृतिक स्मृतिको पुनर्निर्माणको रूपमा प्रस्तुत गरिएको छ । 

त्यससँगसँगै नाटकले मानव र प्रकृतिबीचको सम्बन्ध, सहअस्तित्व, मातृत्व, द्वन्द्व, भाइचारा र नैतिक जिम्मेवारीको विषयलाई पनि उठाउँछ । 

निर्देशक सुब्बाले नाटकमा परम्परा र आधुनिक रंगभाषाको सन्तुलन खोजेका छन् । न्यूनतम सेट, प्रकाशको सूक्ष्म प्रयोग र रैथाने आवाजलाई बारम्बार दोहोर्‍याएर कथाको स्मृति र घाउ दुवैलाई जीवित राखिएको छ । यासेली योङहाङको नाट्य रूपान्तरणले मुन्धुमको मौखिक लयलाई संवादमा रूपान्तरण गर्दा कतैकतै काव्यात्मक गहिराइ दिएको छ भने कतै संवाद अलि लामो र व्याख्यात्मक भएका छन् ।

नाटकको सबैभन्दा बलियो पक्ष भनेको यसले दाजुभाइको झगडामा मात्र कथालाई सीमित नगर्नु हो । प्रकृति र सभ्यताबीचको अपरिहार्य द्वन्द्व, हिंसाको चक्र र स्मृतिको रूपान्तरणलाई उजागर गर्नु नाटकको थप राम्रो पक्ष हुन् । नाटकले दर्शकलाई सोध्छ – हामी प्रकृतिसँग कसरी सम्बन्ध राख्छौं ? र हामीले मारेको कुरालाई कसरी स्मृतिमा परिणत गर्छौं ?

नाटकमा ढुकुर, खरायो, मृग, बाघ जस्ता जनावर पात्रहरू छन् । तिनको शारीरिक चाल र हाउभाउमा पोख्त निर्देशकीय गुण भेटिन्छ । विशेष गरेर केसामी (बाघ)को भूमिका निभाएका आकाश सुहाङ लिम्बुको भूमिका लोभलाग्दो छ । अर्कोतर्फ नाम्सामीको भूमिकामा रहेका सौजन सेनेहाङ उत्सुक र रहस्यमी देखिन्छन् । 

उनीहरूको एकआपसको द्वन्द्वमा जंगली आवेग र मानवीय विवेक दुवै देखिन्छ । आमाको भूमिकामा रहेकी पुष्पाञ्जली लिम्बुले असह्य मौन पीडा र असहायता देखाउन सकेकी छिन् । त्यसैगरी झाँक्रीको रूपमा आएकी अन्जना राईले भड्किरहेको एउटा आत्मालाई उतार्न सकेकी छिन् । अन्य भूमिकामा कलाकारहरूको प्रस्तुति सन्तुलित छ । साथै उनीहरूले जसरी मञ्चबाट बाहिरको ठाउँलाई सदुपयोग गरेका छन्; त्यसले पनि दर्शकमा पक्कै उत्सुकता, रौनकता थप्छ । 

यद्यपि केही दृश्यहरूमा गति सुस्त हुने र संवाद दोहोरिने प्रवृत्ति छ । कतिपय ठाउँमा संवाद बनावटी पनि सुनिन्छ । मुन्धुमको गहिराइलाई पूर्ण रूपमा रङ्गमञ्चीय भाषामा रूपान्तरण गर्न अझै केही ठाउँ बाँकी देखिन्छ । विशेष गरी अन्तिम भागमा बाजाको उत्पत्तिलाई अलि बढी प्रतीकात्मक बनाउन सकिन्थ्यो ।

अर्कोतर्फ नाटकको प्रकाश औसत छ भने प्रप्स र प्रत्यक्ष संगीतमा राम्रो काम गरिएको छ । पात्रहरूको लुगाले हामीलाई ऐतिहासिकता प्रदान गर्छ भने संगीतले नाटकको विषयमा बाँधिराख्छ ।

समग्रमा केसामी नाम्सामी गजबको सांस्कृतिक नाटक बनेको छ । यसले लिम्बू मुन्धुमलाई समकालीन दर्शकसामु पुनः जीवित बनाएको छ । परम्परा र प्रयोगको सन्तुलन खोज्नेहरूका लागि यो प्रस्तुती राम्रो सगुन हुन सक्छ ।

फोटो: चन्द्र बहादर आले

नाटक : केसामी नाम्सामी
थिएटर : एक थिएटर नेपाल, थापागाउँ
नाट्य रुपान्तरण : यासेली योङहाङ
परिकल्पना तथा निर्देशन : अनिल सुब्बा
मञ्चमा : सौजन सेनेहाङ, आकाश सुहाङ लिम्बु, अन्जना राई, पुष्पाञ्जली लिम्बु, अपेक्षा सुब्बा, रमिता राई, चिराज पनेरु
मञ्चन अवधि : १८ साउदेखि १३ भदौसम्म (बुधबार बाहेक)

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?