+
+
प्रोफाइल  :

६२ वर्षदेखि उही ‘ब्रान्डेड’ स्वाद : नारायण दाइको मःम

मैदाको डल्लोमा मासुको किमा बफ्याएर, लप्सी–भटमासको झोल अचारमा डुबाएर, स्टिलको मझौला प्लेटमा पस्किएर, १२ वटाका दरले मःम राखेर ग्राहकको हात–हातमा पुर्‍याउने पहिलो दोकाने उनै नारायण दाइ थिए ।

शिव मुखिया शिव मुखिया
२०८१ वैशाख १६ गते २०:२०

१६ वैशाख, काठमाडौं । ६२ वर्षअघि काठमाडौंको मासाङ गल्ली भन्नासाथ धेरैको मुखमा पानी आउँथ्यो, तात्तातो मःम सम्झेर । जिब्रोको स्वाद फेर्न भनी त्यहाँ मःम पारखीको मेला लाग्थ्यो । उनीहरू टोकन लिएर, लाइन लागेर, बाटोमा उभिएर मःम खान्थे । मासाङ गल्लीको गुरुत्वबल उही मःम थियो । किनभने, त्यहाँ नारायण दाइ जो थिए ।

नारायण दाइ अर्थात् लक्ष्मीनारायण महर्जन । भारत दार्जिलिङबाट बरालिँदै काठमाडौं आइपुगेका अल्लारे थिए, तर पाककलामा पोख्त भान्छे पनि थिए । यसो भनौं न, भान्छेमात्र थिएनन्, काठमाडौंलाई मःमको स्वाद पस्किने रसिक ‘ट्रेन्ड सेटर’ पनि थिए ।

मैदाको डल्लोमा मासुको किमा बफ्याएर, लप्सी–भटमासको झोल अचारमा डुबाएर, स्टिलको मझौला प्लेटमा पस्किएर, १२ वटाका दरले मःम राखेर ग्राहकको हात–हातमा पु¥याउने पहिलो दोकाने उनै थिए ।

त्यसअघिसम्म मःमले मःम बन्न पाएकै थिएन, ममचा थियो । त्यो स–साना हुन्थ्यो । गोलभेँडाको अचारमा चोपेर खाइन्थ्यो । नारायण दाइले अचारमा खास तरक्की गरे । उनले तिल–धनियाँको अचारमा लप्सीको अमिलो मिसाएर घोल बनाइदिए । त्यसलाई चिसो राख्न माटोको भाँडा प्रयोग गरे । तात्तातो मःममा चिसो झोल ! ग्राहकको जिब्रो ट्वाक्क हुने, सबैलाई त्यही स्वादले लोभ्यायो ।

व्यञ्जनमै विद्यावारिधि गरे झैं लाग्ने सिपालु नारायण दाइले मःमचालाई मःम बनाइदिए । उनको यो पाक कौशलले सहरमा नयाँ स्वादको नयाँ अध्यायमात्र थपिएन, अरू पनि थुप्रै कुरा थपिदियो ।

काठमाडौंवासीका लागि सर्वप्रिय नास्ता थपिदियो । टोकन लिएर नास्ता खानुपर्ने थिति थपिदियो । मासाङ गल्लीको नाममा ‘मःम गल्ली’ थपिदियो । कुनै पनि परिकारमा इमान र लगाव मिश्रण गरिदियो भने त्यो ‘ब्रान्ड’ बन्छ भन्ने विश्वास थपिदियो । अनि, एउटा व्यक्तिले आर्जेको ख्याति पुस्तौं–पुस्ताका लागि आय–आर्जनको स्वादिलो स्रोत बन्छ भन्ने उदाहरण थपिदियो ।

अहिले । नारायण दाइको नाति पुस्तामा यो उद्यम हस्तान्तरण भएको छ । उनीहरूले ‘नारायण दाइको मासाङ गल्लीको मःम’ सहरभरि विस्तारमात्र गरिरहेका छैनन्, नयाँ पुस्तालाई उही स्वादको मःमले जोडिरहेका छन् ।

कतिपय बुढापाका आफ्ना छोरानातिलाई साथमै लिएर मःम खान आउँदा रहेछन् । यसो भन्दै, ‘उहिले मासाङ गल्लीमा खाएको मःमको तलतल लागेर आएको ।’

हुन पनि बुढापाकादेखि किशोर पुस्तासम्मको जिब्रोमा मोहनी लगाइदिएको छ नारायण दाइको मःमले । निशान मालाकार सुनाउँछन्, ‘अहिले हाम्रोमा बाजेदेखि नातिसम्म आउँछन् । धेरैजसो चाहिँ युवाहरू, मेरै उमेरका !’

निशान २६ वर्षका भए । साइनो–सम्बन्ध केलाउँदा उनी नारायण दाइका नाति हुन् । जेठी छोरीतर्फका । काठमाडौंका चार ठाउँमा चलायमान हुने नारायण दाइको मःम पसल रेखदेख गर्ने जिम्मा उनकै हो । पोखरासहित अहिले नारायण दाइको मःम पसल आठ पुगेको छ ।

नयाँबानेश्वर, एयरपोर्ट, बसन्तपुर, गौशाला आदिमा सञ्चालित पसलको फन्को लगाउँदैमा बित्छ, निशानको दैनिकी । इस्लिङ्टन कलेजबाट मल्टिमिडियामा स्नातक सकाएका उनी बाजेको विरासतलाई नयाँ पुस्ता र उन्नत प्रविधिसँग जोड्दैछन् ।

उहिले नारायण दाइको हातबाट पाकेको मःम खान मान्छेहरू मासाङ गल्ली धाउँथे । अहिले आफ्नै घरमा बसिबसी मःम मगाएर खान सक्छन् । प्रविधि र प्रतिस्पर्धाले धेरै कुरा बदलिएको छ । तर, स्वाद ‘ए–वान’ ।

पुस्ताको पाककला, स्वादको शृंखला

नारायण दाइले आफ्नो पाककलामा त्यति तरक्की नगरिदिएको भए के हुन्थ्यो होला ? उनको मःम दोकान त्यसरी नै हराएर जान्थ्यो होला जो मासाङ गल्लीमा खुलेका खाजा घरहरू हराए झैं । उनका छोरी–नातिहरू त्यसरी नै लाखापाखा लाग्थे होलान्, जो मध्यम वर्गीय परिवारको हालत छ ।

तर, आफ्नो सिप र सन्तति एकापसमा जोडेर वर्षौं–वर्ष दिगो राख्न नारायण दाइको पसिना काम लाग्यो । उनको मिहिनेत काम लाग्यो । उनी कति मिहिनेती थिए भने बिहान ३ बजे उठेर मःमका लागि सरसामन जुटाउन लाग्थे । मैदा मुछ्ने, मासु ल्याउने, अदुवा–लसुन पिस्ने, प्याज काट्ने, भटमास–तिल भुट्ने काम गर्थे ।

‘त्यसबेला मासाङ गल्लीको साँघुरो कोठामा बुबाको मःम पसल थियो । माथिल्लो तलामा हाम्रो डेरा । बुबा बिहानै उठेर मःमका लागि सबै काम आफैं गर्नुहुन्थ्यो,’ नारायण दाइकी जेठी छोरी पुनम मालाकार भावुक सुनिन्छिन् ।

सबै सरसामन तयार गरेपछि उनी एक चरण सुत्थे । त्यसपछि खाजा–नास्ता खाने समय हुन्थ्यो । ग्राहक ओइरिन थाल्थे । आसपासमात्र होइन, टाढा–टाढाका मान्छे ‘मासाङ गल्लीको मःम खाने’ भन्दै आइपुग्थे ।

सानो दोकान । आरामसँग बसेर खाने ठाउँ पनि थिएन । टेबुल–कुर्सी हुने कुरै भएन । मान्छेहरू हात–हातमै मःम थाप्थे । सडक किनारमा उभिएर कपाकप प्लेट रित्याउँथे । तर, यसरी हत्तपत्त मःम खाने मेलो पनि त्यति सजिलै कहाँ जुर्नु ? यसका लागि घण्टौं लाइनमा उभिनुपर्थ्यो । पैसा तिरेर टोकन लिनुपर्थ्यो । तब पो थालभरि हल्का अमिलो झोलसँग तात्तातो मःम खान पाइन्थ्यो । मासाङ गल्ली, मःम र नारायण दाइको प्रसङ्‍ग आउनासाथ धेरैले सुनाउने कथा यही हो ।

‘बुबाको हातै मिठो,’ पुनम भन्छिन्, ‘जे पकाए पनि स्वादिलो हुने । छोयला पकाए पनि, तामा बोडी पकाए पनि, भुटन पकाए पनि मिठो हुने ।’

मासाङ गल्लीको त्यो पसलमा नारायण दाइले अन्य खाजा–नास्तासँगै आफ्नो उद्यम सुरु गरेका थिए । त्यो मामुली दोकान चलाएर पुग्दो धन–दौलत जोड्ने आकांक्षा उनमा थियो न चर्चा कमाउने भोक । तर, आफ्नो कामप्रति अत्यन्तै इमान्दार थिए । त्यसैले त उनी आफूले पकाएको खानेकुरामा आवश्यक मरमसला मात्र मिसाउँदैनथे, लगाव र जुक्ति पनि मिसाइदिन्थे । यस्तै लगाव र जुक्तिको नतिजा थियो– मःम ।

नारायण दाइले मःमको स्वाद मात्र फेरेनन्, मःम पकाउने र खुवाउने शैली पनि फेरिदिए ।

साना ममचालाई उनले ठूलो मःम बनाए । गोलभेँडाको अचार हटाएर लप्सी–भटमासको अचार बनाए । यस्तो स्वादले ग्राहकलाई अम्मली बनाइदियो । जति खाएपनि धित नमर्ने । खानेहरूको भीड थामिनसक्नु भएपछि पो नारायण दाइलाई लाग्यो– यसरी त भद्रगोल हुन्छ ।

अब ग्राहकलाई मिठो खुवाएरमात्र भएन, सेवा छरितो र भरपर्दो पनि बनाउनुपर्‍यो । घण्टौं हिँडेर मासाङ गल्ली आएपछि उनीहरू भोकै फर्किन नपरोस् ।

अन्ततः उनले मःम पकाउने सानो भाँडा एकातिर थन्क्याए । महाबौद्ध गएर ठूलो डेक्ची किने । त्यसलाई छोप्ने ढकनी किने । ढकनीको माथि किलाले स–सानो प्वालैप्वाल पारे । अब एकै पटकमा थुप्रै मःम पकाउन सकियो । हातले मैदा मुछेर साध्य नचल्ने भयो । उनी वर्कसपमा गए, मैदा मुछ्ने मेसिनको डिजाइन लिएर । अब एकसाथ धेरै मैदा मुछ्न सकियो । दोकानमा बिक्री भएका कोकाकोला, फेन्टाको बिर्को जम्मा गरे । कागजमा नम्बर राखेर बिर्कोमा टाँसे । अब ग्राहकलाई टोकन दिन सकियो ।

यसरी नारायण दाइले मःमको स्वादमात्र फेरेनन्, मःम पकाउने र खुवाउने शैली पनि फेरिदिए । त्यो समयमा हातको औंलामा गन्न सकिने थियो, मःम दोकान । न्युरोडको रञ्जना सिनेमा हल परिसरमा रामकृष्ण श्रेष्ठ र चेतनारयण मानन्धरले मिलेर सञ्चालन गरेको ‘आरसी मःम’ चर्चित थियो । कतिपयले खर्पनमा मःम बोकेर बाटो–बाटोमा बेच्दै हिँड्थे । त्यही पृष्ठभूमिमा मासाङ गल्लीमा पाइने मःमको किस्सा कम रोचक थिएन :

  • मान्छेहरू मःम खानका लागि हातमा टोकन लिएर यसरी पंक्तिबद्ध भएका हुन्थे, जुन लस्कर अर्को टोलसम्म पुग्थ्यो ।
  • टोकन लिएर नजिकैको रञ्जना हलमा सिनेमा हेरिसक्दा मात्र मःम खाने पालो आउँथ्यो ।
  • नारायण गोपालजस्ता त्यसबेला चल्तीका कलाकारहरू साँझतिर मःम खान त्यहाँ पुग्थे र रमझम गर्थे ।

‘हामी सानै थियौं, सबै कुरा त थाहा भएन । तर, राति सबै काम सकेपछि भने बुबालाई रमाइलो गर्नुपर्थ्यो,’ पुनम सम्झिन्छिन् ।

नारायण दाइ मान्छे रसिक थिए । सफासुग्घरी थिए । छरिता थिए । ‘सेफको जस्तो सेतो लुगा लगाएरमात्र मःम पकाउने काम गर्नुहुन्थ्यो,’ पुनम भन्छिन्, ‘आफ्नो कामप्रति सम्मान गर्ने र रमाइलो गर्ने खालको हुनुहुन्थ्यो ।’

शानदार स्वाद, वजनदार ‘ब्रान्ड’

‘त्यसबेला दोकानको नाम राख्ने चलन थिएन । ठाउँको नामबाटै पसल चिन्ने गरिन्थ्यो,’ नारायण दाइका जेठा ज्वाइँ निरज मालाकार भन्छन्, ‘मासाङ गल्लीमा मःम खान जाने भनेपछि सबैले नारायण दाइकै दोकान सम्झिन्थे ।’

निरज मालाकार

तात्तातो मःम रित्याएपछि मान्छेहरू भन्थे, ‘आहा, क्या शानदार !’ एक होइन, दुई होइन, हरेकजसो ग्राहक यसै भन्थे । आखिर नारायण दाइले एउटा रातो तुल (कपडा) किने । पेन्टरकहाँ गए । अनि लेख्न लगाए, ‘शानदार मःम ।’

यसरी नारायण दाइले ग्राहककै मुखबाट आफ्नो दोकानको न्वारान गरिदिए ।

खासमा नारायण दाइको ग्राहकप्रतिको अनुराग नै त्यस्तै थियो । ‘यदि ग्राहकले यो परिकारमा नुन लागेन वा यो पुगेन, त्यो पुगेन भन्यो भने त्यस दिन दोकान नै बन्द गरिदिनुहुन्थ्यो,’ छोरी पुनम उबेलाको माहोल सम्झिन्छिन्, ‘ग्राहकको स्वादअनुसार के पुगेको छैन, जतिसुकै समय लगाएर भए पनि त्यो पुर्‍याएरै छाड्ने बानी बुबाको थियो ।’

ग्राहकको मर्जीलाई सर्वोपरि ठानेर हुनसक्छ, उनले कहिल्यै विश्राम लिनुपरेन । यो अविराम यात्रा त्यसबेला मात्र रोकियो, जब उनले देह त्यागे । ‘हिजोसम्म मःम पसलमा काम गरिरहेको मान्छे,’ पुनम भन्छिन्, ‘अचानक बित्नुभयो । यो २०५० सालको कुरा हो ।’

त्यतिबेलासम्म नारायण दाइ आफैंमा एक ब्रान्ड बनिसकेका थिए र उनको मःमको साम्राज्य फैलिसकेको थियो । मासाङ गल्लीको कुचुक्क परेको कोठा छाडेर शानदार मःम आफ्नै घरमा सरेको थियो गौशालामा । अब नारायण दाइ त थिएनन्, तर उनले संयोजन गरेको स्वाद कायम थियो । त्यसलाई कायम राख्न कम्मर कसेका थिए, उनकै छोरीहरूले ।

स्वाद उही, सुविधा फरक

सहरमा यस्तो गल्ली बाँकी रहेन, जहाँ मःम दोकान नहोस् । सहरको वायुमण्डल यस्तो नहोस्, जहाँ मःमको बास्ना नफैलिएको होस् । ‘जहाँ पनि, जहिले पनि’ भने झैं हरपलको नास्ता बन्यो– मःम ।

भट्टी पसलदेखि तारे होटलसम्म, ठेलागाडादेखि रिसोर्टसम्मको मेनुमा मःमका आइटम थपिए ।

ग्राहकको रोजाइसँगै मःमको स्वाद एकनास रहेन । झोल मःम, फ्राइ मःम, स्टिम मःम, सी मःम, कोथे मःम कति हो कति । भेज, ननभेज सबैखाले । मःमको वृन्दावनमा आफ्नो असली स्वादलाई कसरी जोगाइराख्ने ? बरमझियाको पेँडा झैं यहाँ नामकै महाभारत हुने भो ।

अन्ततः नारायण दाइका छोरीहरूले मःम पसलको नयाँ नाम राखिदिए– ‘नारायण दाइको मासङ गल्लीको फेमस मःम ।’

पुनम मालाकार

‘ग्राहकलाई अलमल नहोस् भनेर हामीले नारायण दाइको नामःमा पसल चलाउन थाल्यौं,’ पुनम भन्छिन्, ‘बजारमा थरीथरी मःम आए पनि हामीलाई बुबाकै हातले पाक्ने मःमको स्वाद बेच्नु थियो ।’

छोरी पुस्ता हुँदै नारायण दाइको मःम नाति पुस्तामा पुगिसक्दा पनि ६ दशकदेखिको स्वाद उही छ ।

‘हामीले दिने भनेकै बाजेको हातको स्वाद हो,’ नाति निशान भन्छन्, ‘किनभने, त्यो स्वादको तलतल बोकेर बस्नेहरू अहिले पनि थुप्रै छन् ।’

स्वादलाई यथास्थितिमा राखेर अरू कुरा भने फेरबदल गरेका छन् उनले । आरमदायक बस्ने ठाउँदेखि भुक्तानी प्रणालीसम्म ।

निशान मालाकार

‘बाजेले कोकको बिर्कोमा नम्बर राखेर टोकन दिने व्यवस्था गर्नुभयो, हामीले पेमेन्ट गर्ने प्रणालीलाई डिजिटलाइज्ड गरिदियौं,’ निशान थप्छन्, ‘साथै, अहिलेको समयअनुसार अनलाइन अर्डरदेखि होम डेलिभरीसम्म सुविधा जोडिदियौं ।’

उनका बाजेले प्रतिप्लेट २ रुपैयाँमा मःम बेचेका थिए । अहिले त्यसको मूल्य दुई सय रुपैयाँ हाराहारी छ । अहिले नारायण दाइको मेनुमा छोयला (बफ–भेज) थपिएको छ । अनि थपिएको छ, पिरो अचार पनि ।

‘टिनएजर्सले बढी पिरो मन पराउने रहेछन्,’ निशान भन्छन्, ‘त्यसैले एकदमै पिरो अचार पनि राखेका छौं ।’

स्वादको यो शृंखलालाई उनी अरू विस्तार गर्दै लाने योजनामा छन् । सुविधा प्रविधिमैत्री एवं छरितो बनाउने यत्नमा छन् ।

‘नारायण दाइको मःम नास्तामात्र होइन, इतिहास पनि हो,’ उनी भन्छन्, ‘यसलाई जोगाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।’   

तस्विर/भिडियो : शंकर गिरी

 

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?