+
+
ब्रान्ड स्टोरी :

११५ वर्षदेखि एउटै स्वादमा ‘बद्रीको हलवाई पसल’

जुद्धशमशेरलाई थापाथलीस्थित राजकर्णिकार परिवारले बनाउने मिठाईको स्वादबाट मोहनी नै लागेको थियो । उनी जाउलाखेल पुगेपछि पनि त्यस्तै मिठाई खानुपर्ने भएपछि नानीबेटीले खोलेको मिठाई पसलले बिस्तारै वाहवाही पाउन थाल्यो ।

सुशील भट्टराई सुशील भट्टराई
२०८१ कात्तिक २५ गते १९:३३

२५ कात्तिक, काठमाडौं । लगभग सवा सय वर्षअघि राणा शासन उचाइमा थियो । त्यो बेला राणा शासकहरूको दबदबाले ६ दशक पार गरिसकेको थियो । काठमाडौं थापाथलीमा स्थानीय राजकर्णिकार परिवारको मिठाई पसल थियो । त्यही परिवारमा एक यस्ती छोरी थिइन्, जो बिस्तारै मिठाइ बनाउन पोख्त हुँदै गइन् ।

मिठाइ बनाएर राणा शासकका दरबारमा पुर्‍याउने दिनचर्या राजकर्णिकार परिवारको थियो । राणाहरू मिठाईका शौखिन । राजकर्णिकार परिवारकी उनै छोरी नानीबेटी राजकर्णिकारले बनाउने मिठाईको स्वादले राणाका दरबारमा वाहवाही पाउन थाल्यो ।

यो क्रमले निरन्तरता पाइरहेको थियो । एकदिन नानीबेटीको बिहेको कुरो छिनियो । बिहे भएर नानीबेटी ललितपुर हौगलको ताम्राकार परिवारमा पुगिन् । केही समय उनी घरव्यवहारमै व्यस्त भइन् ।

तर, माइतीको पसलमा बनाएको मिठाई, त्यसको स्वाद, त्यहाँको कामलाई नानीबेटीले भुल्न सकेकी थिइनन् ।

थापाथलीको राजकर्णिकार परिवारको मिठाई पसलबाट दरबार पुग्ने मिठाईको स्वाद त्यो बेलाका युवा जुद्धशमशेर राणाले पनि लिएसकेका थिए । उनी मिठाईको पारखी हुन पुगे ।

नेपालको पहिलो राणा प्रधानमन्त्री श्री ३ जंगबहादुरका भाइ धीरसमशेरका छोरा थिए जुद्धशमशेर । ललितपुर जाउलाखेलमा दरबार भएका जुद्धशमशेरलाई एकदिन आफ्नै दरबार छेउ मिठाई पसल हुनुपर्छ भन्ने लाग्यो ।

थापाथलीको राजकर्णिकार परिवारले बनाउने मिठाईको स्वादबाट लट्ठिएका जुद्धशमशेरले राजकर्णिकार परिवारलाई जाउलाखेल बोलाउने निधो गरे । राणा शासकले उर्दी जारी गरेपछि त्यो बेला नाइँनास्ती गर्ने आँट हुने कुरै भएन ।

थापाथलीको राजकर्णिकार परिवारका एक सदस्य जाउलाखेल जाने भए मिठाई पसल खोल्न । उनलाई साथ दिने मान्छे चाहियो । अनि, उनले बोलाए बिहे गरेर हौगल पुगेकी आफ्नी दिदी नानीबेटीलाई मिठाई पसल खोल्न ।

घरव्यवहारमा व्यस्त भए पनि माइतीको मिठाई, आफ्नो हातको पाककला र मिठाईको स्वाद भुल्न नसकेकी नानीबेटी हौगलबाट सिधै जाउलाखेल पुगिन् र भाइसँग मिलेर मिठाई पसल खोलिन् ।

यो विक्रम सम्वत् १९६६ सालको कुरा हो ।

जाउलाखेल चोकमा मिठाई पसल खोलेपछि नानीबेटीले दिनरात मिहिनेत गर्न थालिन् । मिठाईका परिकार थपिन् । सर्वसाधारण ग्राहक फाट्टफुट्ट आउँथे । तर, राणा शासकका घरमा दिनहुँ मिठाई पुर्‍याउने काममा पनि नानीबेटी दत्तचित्त भएर लागिन् ।

जुद्धशमशेरलाई थापाथलीस्थित राजकर्णिकार परिवारले बनाउने मिठाईको स्वादबाट मोहनी नै लागेको थियो । उनी जाउलाखेल पुगेपछि पनि त्यस्तै मिठाई खानुपर्ने भएपछि नानीबेटीले खोलेको मिठाई पसलले बिस्तारै वाहवाही पाउन थाल्यो ।

जुद्धशमशेरले त मिठाई खाने नै भए । अलि हुनेखाने परिवारका पनि मिठाई किन्न आउँथे ।

नानीबेटीले मिठाई पसल खोलेको २३ वर्षपछि जुद्धशमशेर नेपालको आठौं राणा प्रधानमन्त्री बने । जसले श्री ३ का रूपमा १३ वर्ष नेपालको शासन सत्ता चलाए ।

युवा उमेरदेखि मिठाई पारखी बनेका जुद्धशमशेरले श्री ३ बनेपछि पनि नानीबेटीको पसलमा बनेको मिठाई खान छाड्ने कुरै भएन । जुद्धशमशेरको दरबारमा नानीबेटीको पसलबाट दिनहुँ मिठाईका परिकार पुग्ने गथ्र्यो ।

हो, नानीबेटी ताम्राकारले जाउलाखेल चोकमा खोलेको त्यही मिठाई पसल अहिले १ सय १५ वर्षको पाको भइसकेको छ । त्यही मिठाई पसललाई अहिले नानीबेटीको चौथो पुस्ता (पनातिहरू) ले चलाइरहेका छन् ।

अझ, भन्नुपर्दा यो पसलमा नानीबेटीका पनातिका छोराहरू (पाँचौं) पुस्ता पनि संलग्न हुन थालिसकेको छ ।

करिब सवा सय वर्ष उमेरको यो मिठाई पसलले धेरै आरोह–अवरोह पार गरिसकेको छ । जाउलाखेल चोकमा दुई–चार झुपडी भएका बेला खुलेको एक शताब्दीपछि नानीबेटीको मिठाई पसलको नामकरण भयो– ‘बद्रीको हलवाई पसल’ । तर, आफ्नो पसलको नामकरण हुँदा नानीबेटीले यो धर्ती छाडेको दशकौं भइसकेको थियो ।

‘हाम्री जिजुआमाले १ सय १५ वर्षअघि खोल्नुभएको मिठाई पसलको नाम पनि थिएन । त्यो बेला पसलको नाम राख्ने चलन पनि थिएन,’ नानीबेटीका चौथो पुस्ताका जेठा पनाति ६३ वर्षीय केदार ताम्राकार भन्छन्, ‘चार–पाँच पुस्तादेखि निरन्तर चलिरहेको पसलको नाम राख्नुपर्छ भन्ने परिवारमा सल्लाह भयो, अनि बद्रीको हलवाई पसल नाम राख्यौं ।’

पसलको नामकरणबारे पनि रोचक कथा छ । खासमा, नानीबेटीका पनाति केदारले १२ वर्षकै उमेरमा बुबा (नानीबेटीका नाति) गुमाएका थिए । केदारले बुबाको सेवा गर्न पाएका थिएनन् ।

‘हामीले बुबाको सेवा गर्न पाएनौं । त्यही भएर मिठाई पसलको नाम बुबाकै नाममा राखौं भनेर परिवारमा सल्लाह भयो,’ केदार दुई दशकअघिको कुरा सम्झिन्छन्, ‘त्यसपछि सरकारी निकायमा दर्ता गर्दा बद्रीको हलवाई पसल नाम राख्यौं । हामीले बुबाको नाम राखे पनि जिजुआमा नानीबेटीको नाम सधैं उच्च स्थानमा छ ।’

बद्रीको हलवाई पसलको खास विशेषता भनेको यहाँ बनाइने जेरी, स्वारी र हलुवा हो । यी तीन परिकारले दशकौंदेखि ग्राहकको मनमा घर गरिरहेका छन् । तीबाहेक अन्य धेरै थरीका मिठाई यहाँ पाइन्छ । जसका ग्राहक दैनिक सयौं हुने गर्छन् ।

‘म सानो छँदा हजुरबा–हजुरआमासँग यहाँ मिठाई खान आउँथेँ, अहिले आफैं नाति लिएर मिठाई खान आएको छु,’ आफ्नो पसलका पुराना ग्राहकको भनाइ उद्धृत गर्दै नानीबेटीका कान्छा पनाति ५५ वर्षीय दीपक भन्छन्, ‘यस्तो देख्दा र सुन्दा हामी त कहिलेकाहीँ भावुक हुन्छौं ।’

४० वर्षदेखि निरन्तर आइरहेको यी ग्राहक

बद्रीको हलवाई पसलमा जेरी, स्वारी, माल्पुवा र हलुवा खान ४० वर्षदेखि एक ग्राहक निरन्तर आइरहेका छन् । उनी हुन्– नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेल ।

‘मैले यहाँ मिठाई खान थालेको ४० वर्ष भइसक्यो,’ खरेल भन्छन्, ‘मैले ४० वर्षअघि यहाँको मिठाई खाँदा जस्तो स्वाद र गुणस्तर थियो, अहिले पनि त्यसमा कुनै गिरावट छैन । त्यही भएर पनि म हप्तामा एक पटक बद्रीको हलवाई पसल आएर जेरी, स्वारी, माल्पुवा र हलुवा खाने गर्छु ।’

खासमा, मिठाई पसलका सञ्चालक दाजुभाइ केदार र दीपक दुवै खरेलका भलिबल खेल्ने साथी थिए । त्यही नाता सम्झेर भन्दा पनि मिठाईको गुणस्तरले तानेर आफू प्रत्येक हप्ता एक पटक बद्रीको हलवाई पसल आउने गरेको खरेल बताउँछन् ।

नेतादेखि अभिनेतासम्मको प्रिय मिठाई पसल

बद्रीको हलवाई पसलमा सर्वसाधारण ग्राहकमात्र नभई राजनीतिक दलका नेतादेखि चलचित्रका अभिनेतासम्म आउने गरेका छन् ।

नेपाली कांग्रेसका सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) बद्रीको हलवाई पसलको लामो समयसम्म ग्राहक थिए ।

‘किसुनजीले हाम्रो पसलमा आएर धेरै पटक जेरी–स्वारी खानुभएको छ,’ केदार सम्झिन्छन्, ‘उहाँ हप्तामा एक–दुई पटक यहाँ आइरहनुहुन्थ्यो ।’

उनका अनुसार अन्य धेरै कलाकार, नेताहरू अहिले पनि बद्रीको हलवाई पसलका नियमति ग्राहक हुन् । अभिनेत्री प्रियंका कार्की बेलाबेला मिठाई खान आइपुग्छिन् ।

मिठाईको गुणस्तरमा कहिल्यै सम्झौता नगरेको केदार र दीपक बताउँछन् । यही मिठाई पसलले नानीबेटीको पाँच पुस्ताको भरणपोषण गरेको छ । चौथो पुस्ताका केदार–दीपकको परिवार एउटै घरमा यही मिठाई पसलले चलाइरहेको छ ।

‘हामीले यो मिठाई पसल बाहेक अरू व्यापार–व्यवसायमा हात हाल्ने कहिल्यै सोचेनौं,’ केदार–दीपक थप्छन्, ‘जे छ, यसैमा सन्तुष्ट हुँदै, मिहिनेत गर्दै अगाडि बढिरह्यौं । निरन्तर मिहिनेत गरेपछि सफलता मिल्छ भन्ने विश्वास थियो, जुन अहिले पूरा भएको छ ।’

केदार र दीपक दुवै जना राष्ट्रिय भलिबलका पूर्वखेलाडी पनि हुन् । केदारले मिठाई पसलमा बढी समय दिनुपर्ने भएपछि भलिबल खेललाई निरन्तरता दिन सकेनन् । तर, दीपकले लामो समय खेले । दाजुभाइ भलिबल खेल्न जाँदा आमा–हजुरआमाले पसल सम्हाल्थे । यस्तो क्रम केही वर्षसम्म चलिरह्यो ।

त्यसपछि मिठाई पसलबाट मात्र परिवार धान्न सकिन्न कि भनेर दीपक विदेशिए र दुई दशक उतै बसे । यता दाइ केदारले मिठाई पसल हाँक्न थाले । बिस्तारै आर्थिक हिसाबमा मिठाई पसलले गति लिन थालेपछि केदारले भाइलाई नेपाल नै बोलाए ।

अनि, दीपक पनि विदेशको मोह त्यागेर नेपाल फर्किए । र, दाइसँगै ‘बद्रीको हलवाई पसल’ सम्हाल्न थाले ।

अहिले दाजुभाइ नै पसलमा बसेर मिठाई व्यापार गरिरहेका छन् । परिवारका सबै यही पेसामा संलग्न छन् । परिवारका सदस्य बाहेक आधा दर्जन बढीलाई रोजगारी पनि दिएका छन् ।

पछिल्लो पटक बद्रीको हलवाई पसलको आउटलेट खोल्ने योजनामा दाजुभाइ लागेका छन् । उनीहरूले काठमाडौंका चाबहिल र कमलपोखरीमा आउटलेट खोल्ने ठाउँ पनि भेटेका थिए । तर, प्राविधिक कारण त्यहाँ कुरा मिलेन । चाँडै आउटलेट खोल्ने योजनालाई मूर्तरूप दिने उनीहरूको वाचा छ । यसका लागि बजार अध्ययन पनि गरिरहेका छन् ।

‘बूढानीलकण्ठमा रहेका हाम्रा ग्राहकले जाउलाखेल आउन धेरै टाढा भयो, यसो हाम्रैतिर वा बीच (महाराजगञ्ज) तिर बद्रीको हलवाई पसल खोल्नुपर्‍यो भनिरहनुहुन्छ,’ दीपक भन्छन्, ‘धेरै पर–परबाट आउने ग्राहकले यस्तै माग गर्नुहुन्छ, त्यही भएर हामी चाँडै काठमाडौंका अन्य ठाउँमा पनि आउटलेट खोल्ने योजना कार्यान्वयनमा लाँदैछौं ।’

यहीबीच थप व्यावसायिक हिसाबमा अगाडि बढ्न केदार–दीपकले बद्रीको हलवाई पसलको मिठाईलाई विभिन्न डिपार्टमेन्ट स्टोरतिर पनि पुर्‍याउन थालेका छन् ।

यसका लागि उनीहरूले ‘बद्री फुड्स’ नामको उद्योग पनि स्थापना गरेका छन् । यो उद्योग भने उनीहरूका छोराहरूले हाँकिरहेका छन् । ती छोराहरू उद्योगबाट फुर्सत मिलेका बेला मिठाई पसल सम्हाल्न पनि आइपुग्छन् ।

‘हामीले छोराछोरीलाई तिमीहरूले यही मिठाई पसललाई अगाडि बढाउनुपर्छ, यहीँ काम गर्नुपर्छ भनेर कहिल्यै पनि दबाब दिएनौं,’ केदार भन्छन्, ‘उनीहरू स्वस्फूर्त आफैं यही पेसामा लागे र यसैलाई अगाडि बढाइरहेका छन् ।’

नेपाल परम्परागत मिठाई लोप हुँदै गएका कारण आफ्नो पसललाई निरन्तरता दिँदै आएको दीपक सुनाउँछन् । अन्य धेरै मिठाई पसलले परम्परागत नेपाली मिठाई बनाउनै छाडिसकेको उनी बताउँछन् । त्यसलाई जोगाएर राख्नुपर्छ भनेर बद्रीको हलवाई पसललाई अगाडि बढाइरहेको उनी सगर्व सुनाउँछन् ।

प्रतिस्पर्धासँग छैन डर

पछिल्ला केही दशकदेखि काठमाडौं उपत्यकामा सयौं मिठाई पसल सञ्चालनमा छन् । पुराना र नयाँमात्र नभई भारतीय मिठाई पसलका आउटलेट पनि धेरै खुलेका छन् । तर, प्रतिस्पर्धामा उत्रिन आफूहरूलाई कुनै डर नभएको केदार बताउँछन् ।

‘तर, म त अझै भन्छु हाम्रो जस्तो मिठाई पसलको प्रतिस्पर्धा कसैसँग हुँदैन,’ उनी भन्छन्, ‘हामीले बनाउने मिठाईको गुणस्तर र स्वाद अरूले दिनै सक्दैनन् भन्ने म दाबीका साथ भन्न सक्छु ।’

मिठाई बनाउन आवश्यक कच्चापदार्थ घिउ, चिनी, मैदा, दूध, खुवा लगायत स्थानीय उत्पादन नै प्रयोग गरिरहेको उनी बताउँछन् । यिनै कच्चापदार्थ प्रयोग गरेर मिठाई बनाउने विदेशी कम्पनीको भन्दा बद्रीको हलवाई पसलमा किलोमै ३ देखि ४ सय रुपैयाँ सस्तो पर्ने केदार सुनाउँछन् ।

अहिले पनि बद्रीको हलवाई पसलमा २ रुपैयाँको लड्डु र ३ रुपैयाँ पर्ने पेडा पाइन्छ । विशेषगरी पूजाआजामा प्रयोग गरिने त्यस्ता लड्डु र पेडा अन्त कतै नपाइने दीपक बताउँछन् ।

‘समग्रमा भन्नुपर्दा जिजुआमा नानीबेटीको बिँडो थाम्न पाउँदा औधि गर्व महसुस हुन्छ,’ दाजुभाइ केदार–दीपक एक स्वरमा भन्छन्, ‘सवा सय वर्ष पुरानो मिठाई पसल भनेर ग्राहक आउँदा गर्वले छाती चौडा हुन्छ । सन्तुष्टि नै ठूलो कुरा हो । हाम्रा छोरानातिले पनि यो मिठाई पसललाई अझै सयौं वर्ष अगाडि लैजाने विश्वास छ ।’

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

ब्रान्ड स्टोरी
लेखकको बारेमा
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?