+
+

बढुवा नभएको भन्दै राखेप कर्मचारी संघद्वारा संघर्षका कार्यक्रम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १७:१०

२५ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले नियमअनुसार हुनुपर्ने बढुवा नभएको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

कर्मचारी संघले बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै विभिन्न चरणको संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

परिषदको ११६औं बवर्ड बैठकले निर्णय गरे पनि युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहीत स्वार्थ बोकेका कर्मचारीले असहयोग गरेका कारण बढुवा रोकिएको कर्मचारी संघले आरोप लगाएको छ ।

‘परिषद्को ११६ औ बोर्ड बैठकको निर्णय अनुसार कर्मचारी सेवामा २०६८ को दोश्रो संशोधन परिच्छेद ६ को दफा ५६ को उपनियम १ र १ (क) का मा भएको व्यवस्था बमोजिम कर्मचारीहरुको बढुवा प्रक्रिया अगाडि बढाइ सूचना प्रकाशित समेत गरी परिषद अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका कर्मचारी हरुमध्ये नियमानुसार सम्भावित कर्मचारीहरुले तोकिएकै मिति भित्र परिषद्मा आएर पदपूर्ति समितिबाट बढुवाका लागि स्वीकृत दरखास्त फारम भरी बुझाईसकिएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘पदपूर्ति समितिले पनि विद्यमान नियमावली बमोजिम समितिबाट गर्नुपर्ने प्रारम्भिक चरणका कार्यहरु ९९ प्रतिशत भन्दा बढी सम्पन्न गरी बढुवाको लागि योग्य उम्मेदवारको अन्तिम नामावली निर्णय गरी अनुमोदनका लागि परिषद् समक्ष सिफारीस गर्नुपर्ने काममात्र बाँकी रहेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहीत स्वार्थ बोकेका कर्मचारीहरुले राखेपप्रति रहेको असहयोगका कारणले ऐतिहासिक र सकारात्मक कार्यले समेत सार्थक परिणाम पाउन सकेको छैन ।’

२७ वर्षदेखि राखेप कर्मचारीको बढुवा रोकिएको भन्दै कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले व्यवस्थापनले गर्नुपर्ने काममा पनि आफैं नलडी नहुने अवस्थामा आइपुगेको बताइन् ।

‘परिषदका ३८५ कर्मचारी बढुवा प्रक्रियामा छन् । बढुवा व्यवस्थापनले गर्नुपर्ने अवस्थामा कर्मचारी आफैँ लड्नुपर्ने अवस्था आएको छ’, केसीले भनिन्, ’२७ वर्षदेखि बढुवा नभएकाहरु छन् । तर केही व्यक्तिको स्वार्थ बाझिएकोले हाम्रो कर्मचारीलाई बढुवा हुन नदिन उहाँहरुले पहल गर्नुभएको छ । त्यहाँ निहीत स्वार्थ देखिएको छ ।’

युवा तथा खेलकुद मन्त्रालयका मन्त्री, राखेपका उपाध्यक्ष, राखेपका सदस्य सचिवसबैले सहयोग गर्दा पनि केही व्यक्तिगतले गर्दा बढुवा रोकिएको उनले बताइन् ।

अध्यक्ष केसीले ती व्यक्तिको नाम नभने पनि कर्मचारी संघका महासचिव कुमार बस्नेतले नामै तोकेर बढुवा रोक्ने काम भएको बताए । ‘मन्त्रालयका सदसचिवद्वय कुमार दाहाल र इमनारायण श्रेष्ठले विशेषगरी बढुवामा अवरोध गर्नुभएको छ । उहाँहरुले किन यसो गर्नुभएको हो थाहा छैन । हामीले कानुन कमोजिम बढुवा खोजेको हो । क्राइटेरियामा परेका करिब चार सय जना बढुवा पर्खिरहेका छन्’, उनले भने ।

युवा तथा खेलकुद मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कुमार दाहाललाई सोध्दा उनले आफू त्यहाँ गएको भर्खर दुई महिना हुन लागेको र बढुवा रोक्ने काम आफूले नगरेको बताए ।

संघर्षका कार्यक्रम बढुवा प्रक्रिया रोकिएकै विषयमा राखेप कर्मचारी संघले तत्कालका लागि एक साताको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

जसमा साउन २६ देखि भदौ १ गतेसम्म कर्माचारीले कालोपट्टी बाँध्ने देखि पेन डाउन गर्नेसम्मका कार्यक्रम छन् ।

यस्ता छन् संघर्षका कार्यक्रमहरू :

१) २०८० साउन २६ गते शुक्रबारका दिन बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला र कोण सभा कार्यक्रमको आयोजन गर्ने ।

२) २०८० साउन २८ देखि ३० गते सम्म कालो पट्टी बाँधी नियमित कार्यालयको काम गर्ने ।

३) २०८० साउन ३१ गते बुधवारका दिन काला पट्टी बाँधी १ घण्टा, साउन ३२ गते बिहीबारका दिन भाद्र १ गते शुक्रबारका दिन कालो पट्टी बाँधर २ घण्टा पेन डाउनगरी विरोध जनाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?