+
+

दिउँसोदेखि अझै धेरै पानी पर्ने, सोमबारसम्मै वर्षा हुने पूर्वानुमान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते ७:०५

२७ साउन, काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने प्रक्षेपण छ । पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले आज दिउँसोदेखि पानी पर्ने क्रम झन् बढ्ने बताएका छन् । आगामी सोमबारसम्मै देशभर पूर्ण बदली हुने र पानी पर्ने पूर्वानुमान गरिएको उनको भनाइ छ ।

गएरातिदेखि देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती प्रदेशको नुवाकोटस्थित ककनी जलमापन केन्द्रमा भने ६ घण्टाको अवधिमा भारी वर्षा रेकर्ड भएको छ । अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । गत २४ घण्टाको अवधिमा भने कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

‘आज दिउँसोतिर पानी पर्ने क्रम अझै बढ्ने नै देखिन्छ,’ मौसमविद लामिछानेले भने, ‘आइतबार र सोमबार अझै धेरै पानी पर्ने सम्भावना छ ।’

अहिले सातै प्रदेशमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । यस्तो अवस्था सोमबारसम्मै रहने सम्भावना छ । आज राति र भोलि भारीदेखि र धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद लामिछानेले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्मको बादलको प्रकृति हेर्दा दिउँसोपख पानी पर्न कम हुने र अपराह्नपख फेरी पानी पर्ने सम्भावना देखिन्छ । ‘अहिले नेपालतर्फ आइरहेको बादल हेर्दा बेला–बेला रोकिने, फेरी पानी पर्ने, घाम लागेजस्तो त हुने तर पानी पर्दै नपर्ने भन्ने चाहिँ हुँदैन,’ उनले भने ।

आज राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । भोलि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?