+
+

बैंकिङ उपसूचकमा १ प्रतिशतले वृद्धि हुँदा दोहोरो अंकले बढ्यो नेप्से

पहिलो दिनमै घोराही सिमेन्टको सेयरमूल्यमा नेगेटिभ सर्किट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १५:३८

२८ साउन, काठमाडौं । मौद्रिक नीतिपछि लगातार गिरावट भएको सेयर बजारमा गत सातादेखि देखिएको सुधारले आइतबार पनि निरन्तरता पाएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले वृद्धि भएर २०८०.८६ को विन्दुमा बन्द भएको छ । नेप्से गत बिहीबारको तुलनामा ०.७१ प्रतिशतले वृद्धि भएको हो ।

गत साता सार्वजनिक भएको वाणिज्य बैंकहरूको अपरिस्कृत वित्तीय विवरणपछि लगातार घटेको वाणिज्य बैंकहरुको सेयरमूल्य आइतबार भने बढेको छ । बैंकिङ उपसूचक १.०७ प्रतिशतले वृद्धि हुँदा नेपसे बढ्न सहयोग पुगेको हो । आइतबार उत्पादनमूलक, लघुवित्त र वित्त कम्पनी र अन्य उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचमा वृद्धि भएको छ । निर्जीवन बीमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.०७ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सूचीकृत भएर आइतबारदेखि कारोबार सुरु भएको घोराही सिमेन्टको सेयरमूल्य घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा उत्पादनमूलक उपसूचक ०.१८ प्रतिशतले गिरावट भएको छ । यस्तै लघुवित्त उपसूचक ०.३५ प्रतिशत, वित्त कम्पनी उपसूचक ०.०७ प्रतिशत र अन्य उपसूचक ०.०१ प्रतिशतले घटेर बन्द भएको छ ।

आइतबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । लगातार करिब २ अर्बको हाराहारीमा कारोबार भइरहेको बजारमा आइतबार कारोबार रकम ३ अर्ब नाघेको छ । ९५ हजार ९६५ वटा कारोबारमा ९७ लाख १८ हजार ७५४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब १ करोड ८५ लाखको कारोबार भएको छ । आइतबार नेपाल इन्स्योरेन्सको संस्थापक सेयर ५८ करोड ६५ लाख ६१ हजारको कारोबार हँदा कारोबार रकम वृद्धि देखिएको हो । कम्पनीका संस्थापक सेयर प्रतिकित्ता ३६६ रुपैयाँमा १९ लाख ४८ हजार ५३८ कित्ता सेयर कारोबार भएको हो ।

यस्तै नेप्सेमा सूचीकृत भएर आइतबारदेखि मात्रै कारोबार सुरु भएको घोराही सिमेन्टको २३ करोड १६ लाखको सेयर कारोबार भएको छ । जसले आइतबार नेप्सेमा कारोबार रकम बढ्न पुगेको हो । सोल्टी होटलको सेयर पनि १४ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार बजारमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १०० कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ११७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकामध्ये थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत र अपर स्याङ्‍गे हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै माउन्टेन इनर्जीको सेयरमूल्य ९.७४ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्सेका स्पेशल प्रि ओपन सेसनमा ५६५.५ रुपैयाँमा ओपनिङ कारोबार भएको घोराही सिमेन्टको सेयरमूल्य ९.९९ प्रतिशतले गिरावट भएर बन्द भएको छ । यस्तै अभियान लघुवित्तको सेयरमूल्य ७.१८ प्रतिशत र सिंगटी हाइड्रोपावरको सेयरमूल्य ६.५५ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?