+
+

वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा आयुष कुँवरले भाग लिने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १७:५७

२८ साउन, काठमाडौं । नेपाली स्प्रिन्टर आयुष कुँवरले हंगेरीको बुढापेष्टमा हुने वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन् ।

एथ्लेटिक्सको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालबाट यस पटक २८ वर्षीय आयुषले मात्रै सहभागिता जनाउन लागेका हुन् ।

यसअघि नेपालले मध्यम र लामो दूरी (म्याराथन) मा भाग लिने गरे पनि यस पटक भने स्प्रिन्टरलाई पठाएको छ ।

नेपाल एथ्लेटिक्स संघको तदर्थ कमिटीका संयोजक राजिवविक्रम शाहले वर्ल्ड च्याम्पियनसिपमा आयुषले भाग लिने पुष्टी गरे ।

‘यसअघि मध्यम दूरीमा खेलाडी पठाउने गरेका थियौँ । तर हाम्रो खेलाडीहरुले धेरै ल्याप खाने भएकोले छोटो दूरीमा प्रयास गरौँ भनेर हो’, आयुषलाई पठाउने निर्णयबारे शाहले भने ।

आयुष नेपालबाट वाइल्ड कार्ड कोटामा वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएका हुन् । नेपालबाट खेलाडी सिधै छनोट हुन कठिन रहेकोले वाइल्ड कार्डमा नेपालले एक कोटा पाउने र त्यसमा आयुषलाई पठाएको शाहले बताए ।

शाह आफैं वर्ल्ड एथ्लेटिक्सको निर्वाचनमा भाग लिन आइतबार बुढापेस्ट प्रस्थान गरेका छन् । वर्ल्ड एथ्लेटिक्सको ५४ वार्षिक साधारण सभा निर्वाचन अगष्ट १७ मा हुँदैछ ।

गत महिला एसियन एथ्लेटिक्स एसोसिएसनको काउन्सिल मेम्बरमा निर्वाचित भएका शाहले वर्ल्ड एथ्लेटिक्सको निर्वाचनमा मत हाल्नेछन् ।

वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप यही अगष्ट १९ देखि २७ सम्म आयोजना आयोजना हुँदैछ । जहाँ विश्वका २०० भन्दा बढी राष्ट्रका दुई हजार बढी खेलाडीले सहभागिता जनाउनेछ वर्ल्ड एथ्लेटिक्सले जनाएको छ ।

स्प्रिन्टर आयुषले वर्ल्ड च्याम्पियनसिपमा १०० मिटरमा दौडने शाहले जानकारी दिए । शाहका अनुसार अमेरिकामा रहेका आयुष उतैबाट बुढापेष्ट पुग्ने र त्यहाँ थप तयारी गर्नेछन् । नेपाली खेलाडीको प्रशिक्षण र व्यवस्थापनमा लागि तेज थापा म्यानेजर र प्रशिक्षक भएर जाने शाहले बताए ।’

हाल अमेरिकामा बसेर उतै अध्ययन गरिरहेका आयुषले गत असारमा थाइल्याण्डमा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिएका थिए । जहाँ उनले १०० र २०० मिटरमा प्रतिस्पर्धा गरेका थिए ।

नेपालको राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य बनाएका आयुष त्यसको छेउ भने पुग्न सकेनन् । थाइल्याण्डमा आयुषले १०० मिटर दूरी ११.२० सेकेण्डमा पूरा गरेका थिए ।

आयुषसँगै दौडिएका अर्का नेपाल स्प्रिन्टर शिवराज पार्कीले ११.२२ सेकेण्डमा दौड पूरा गरेका थिए । यस्तै २०० मिटरमा आयुषले २२.४० र शिवराजले २२.६२ सेकेण्डमा दूरी पूरा गरेका थिए ।

१०० र २०० मिटरमा राष्ट्रिय कीर्तिमान रामकृष्ण चौधरीको नाममा छ । उनले सन् १९९९ मा नेपालकै भएको आठौं सागमा १०० मिटरमा १०.७१ सेकेण्ड तथा २०० मिटरमा २१.९२ मिनेटको इलेक्ट्रोनिक टाइमको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

आयुषको मुख्य विधा १०० र २०० मिटर नै हो । उनले एसिएन एथ्लेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगिता राम्रो गरेपछि एसियन लेभलमा पहिलो पटक दौडन पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?