+
+

राप्रपाको कार्यक्रमका लागि गण्डकी प्रदेशसभा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते १३:२३

२९ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमका लागि सोमबार पोखरामा गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक सचना टाँस गरेर स्थगित गरिएको छ ।

सभामुख कृष्ण धितालले राप्रपाका प्रदेशसभा सदस्यहरुको आग्रहमा बैठक स्थगित गरिएको बताए । ‘राप्रपाका माननीयले आग्रह गर्नुभयो, अरु दलका साथीहरुले पनि ठिकै छ भन्नुभयो र बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ,’ उनले भने ।

राप्रपाले सोमबार आफ्नो कार्यकर्ता भेलाका लागि अध्यक्ष राजेन्द्र लिङ्देन आउने भन्दै प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको थियो । राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले पार्टी अध्यक्ष लिङ्देन आउने भनेर प्रदेशसभा बैठक स्थगित गर्न भनिएको तर मौसमका कारण उनी पनि नआएको जानकारी दिए । राप्रपाले यो कार्यक्रम मंगलबारका लागि सारेको छ ।

सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संबोधन गर्ने, शून्य तथा विशेष समयमा सांसदले भनाइ राख्ने गरी छलफल भएको थियो ।

तर मुख्यमन्त्री पाण्डेले आफ्नो तयारी नपुगेको बताएका थिए भने सरकारले अरु बिजनेससमेत दिएको थिएन ।

नेकपा एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, लम्पी स्किन रोग नियन्त्रण तथा खोपको व्यवस्था र आँखा पाक्ने रोगबारे संसदमा छलफल हुनुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

मंगलबार संसदीय समितिको गठनसमेत गर्ने तयारी छ । गण्डकी प्रदेश सभामा ४ वटा संसदीय समिति छन् । जसमध्ये ६० सदस्यीय प्रदेश सभाका ३ वटामा १५/१५ जना र एक वटामा १३ जना रहने छन् ।

पहिलेको विधायन समिति खारेज भएको छ भने अन्य समितिको क्षेत्राधिकार परिवर्तन भएको छ । नियमावली मस्यौदा समितिले पुरानो व्यवस्थालाई हटाएर सबै समितिमा विधेयक छलफलका लागि जाने गरी क्षेत्राधिकार तोकेको छ ।

सार्वजनिक लेखा, अर्थ तथा विकास, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?