 
																			२९ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोसो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.६१ अंकले गिरावट हुँदा २०७७.२४ को विन्दुमा बन्द भएको छ । गत बुधबारदेखि लगातार ३ कारोबार दिन बढेर बन्द भएको नेप्सेमा सोमबार भने सामान्य गिरावट भएको हो ।
७ साउनमा पछिल्लो एक वर्ष यताकै उच्च २२२७.१६ को विन्दुमा पुगेर बन्द भएको नेप्से नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि घट्न थालेर गत बुधबार ‘इन्ट्रा–डे’ कारोबारमा २०००.२३ सम्म झरेर पुनः बढ्न सुरु भएको थियो । मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो । जसले ७ साउनमा नेप्सेमा ६३ अंकको उच्च वृद्धि भयो । तर, सोही दिन गभर्नर महाप्रसाद अधिकारीले सबै कर्जाको नभई ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशत बनाएको बताएका थिए । २५ लाखसम्म १० प्रतिशत रहेको जोखिम भार हाल राष्ट्र बैंकले ५० लाखसम्म १०० प्रतितशत बनाएको छ । जसले गर्दा ८ साउनदेखि नेप्सेमा उच्च गिरावट भयो ।
गत बुधबारको ‘इन्ट्रा–डे’ कारोबारमा सुरुवातमा गिरावट भएपनि अन्तिममा नेप्से बढेर बन्द भयो । बिहीबार र आइतबार पनि नेप्सेमा वृद्धि भएको थियो । तर, सोमबार भने एकल अंकको सामान्य गिरावट भएको छ । हाइड्रोपावर, बीमा, होटल तथा पर्यटन, लगानी लगायतका १३ मध्ये ८ उपसूकमा गिरावट भएको छ । तर, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक सहित विकास बैंक, लघुवित्त लगायतका उपसूचकमा वृद्धि हुँदा नेप्सेमा समान्य गिरावट भएको छ । बैंकिङ उपसूचक ०.५३ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.०२ प्रतिशतको सामान्य वृद्धि भएको छ ।
यस्तै उत्पादनमूलक उपसूचक ०.६५ प्रतिशत र लघुवित्त उपसूचक ०.३७ प्रतिशतले बढेको छ । यता हाइड्रोपावर उपसूचक सर्वाधिक १.५९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.५८ प्रतिशतले गिरावट भएको छ। यस्तै व्यापार उपसूचक ०.४१ प्रतिशतले गिरावट भएको हो ।
नेप्सेमा सामान्य गिरावट हुँदा कारोबार रकम करिब २१ अर्बले घटेको छ । आइतबार ३ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार कारोबार रकम २ अर्ब ९ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ । ६८ हजार ८४२ वटा कारोबारमा ५४ लाख १७ हजार ९२८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
सोमबार बजारमा आईएमई लाइफको सेयर सर्वाधिक ११ करोड २४ लाखको कारोबार हुँदा सोल्टी होटलको सेयर १० करोड ८७ लाख र घोराही सिमेन्टको सेयर ८ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १४५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६८ कम्पनीका सेयरमूल्य बढेको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर छ ।
सोमबार कारोबार भएकामध्ये थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत र अपर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सीवाईसी नेपाल लघुवित्तको ७.४४ प्रतिशतले वृद्धि भएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ४.६४ प्रतिशतले गिरावट हुँदा बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ४.८० प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ४.२९ प्रतिशतले गिरावट भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4