+
+
एएफसी कपको प्रारम्भिक छनोट :

‘मछिन्द्र र मोहन बगानको खेल नेपाल भर्सेस भारत जस्तै’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० साउन ३० गते १९:०२

३० साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगान सुपर जायन्ट्ससँग खेल्दैछ ।

खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्र मोहन बगानलाई हराउँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ । यो खेल जित्ने टिमले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगल मध्ये एक टिमसँग प्ले अफ खेल्ने छ ।

प्ले अफ विजेता साउथ एसियन जोनबाट एएफसी कपमा छनोट हुने छ ।

मनाङ मर्स्याङ्दी क्लबले एएफसी क्लब खेलेयता अन्य कुनै पनि क्लब एएफसी कपको समूह चरणमा पुग्न सकेको छैन ।

यसअघि त्रिभुवन आर्मी र मछिन्द्रले पछिल्लो दुई संस्करणमा प्रारम्भिक चरण खेले पनि समूह चरणमा पुग्न सकेका थिएनन् । पहिलो पटक प्रारम्भिक चरणको पहिलो खेल जितेर दोस्रो चरण पुगेको मछिन्द्रले भारतको बलियो टोली मोहन बगानलाई प्रतिद्वन्द्वी पाएको हो ।

मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले मोहन बगान विरुद्ध जित्ने लक्ष्यकै साथ मैदान उत्रने बताए । ‘हामीले दुई दिन यहाँ आएर प्रशिक्षण गर्ने मौका पायौं । अली ह्युमिडिटी छ । समग्रमा राम्रो तयारी छ । जितकै लागि खेल्नेछौं’ विशालले कोलकताबाट अनलाइनखबरसँग भने ।

अगष्ट ८ मा दशरथ रंगशालम पारो एफसीसँग खेल्दा मछिन्द्रको टिममा नरहेका फरवार्ड मेसुके ओलोमोउ मोहन बगान विरुद्ध खेलका लागि टिममा थपिएका छन् ।

उनको आगमनले टिम बलियो भएको विशालले बताए, ‘अहिले मेसुके थपिएका छन् । त्यसले टिम अझ बलियो बनेको छ ।’

विशालले मोहन बगानसँगको खेल नेपाल र भारतबीचको खेल जस्तै हुने बताए ।

‘यो क्लब गेम भन्दा पनि नेपाल भर्सेस भारत जस्तै हुनेछ’, उनले भने, ‘हामी राम्रो खेल्दै जित्ने प्रयास गर्नेछौं ।’

मछिन्द्रले एएफसी कपकै लागि भनेर कमजोर रहेको पोजिसनमा अन्य ए डिभिजन क्लबाट ८ खेलाडी भित्र्याएको थियो । जसको प्रभाव पारो विरुद्ध पहिलो खेलमा पनि देखिएको थियो ।

पारोलाई ३-२ ले हराउँदा मछिन्द्रका लागि विमल घर्ती मगर, आयुष घलान र आफिज ओलावालेले गोल गरेका थिए ।

मछिन्द्रको फरवार्ड र डिफेन्स लाइन राम्रो देखिएको छ । मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले पनि डिफेन्स राम्रो रहेको र जितकै लागि खेल्ने प्रि म्याच कन्फेरेन्समा बताएका थिए ।

‘हामी राम्रो तयारीका साथ यहाँ आएका छौं र जितकै लागि खेल्नेछौं’, प्रशिक्षक किशोर केसीले भने, ‘हामी डिफेन्स बलियो बनाएर केही अवसर बनाउदै जितका लागि स्कोर गर्न चाहन्छौं’, प्रिम्याच कन्फेरेन्समा केसीले भने ।

कप्तान विशालले पनि प्रि म्याच कन्फ्रेन्समा मोहन बगान बलियो टोली भए पनि जितका लागि फाइट गर्ने बताएका थिए ।

‘मोहन बगान धेरै राम्रो टोली हो र कोचले भने जस्तै हाम्रो डिफेन्स बलियो छ र जितका लागि कडा मिहिनेत गर्नेछौं’, उनले भने ।

गोलकिपर विशालको अगाडि फिफेन्स लाइनमा करिम ओमालाजा, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र सनिस श्रेष्ठ हुनेछन् ।

प्रशिक्षक केसीले मोहन बगानको अट्याक राम्रो रहेकोले आफ्नो डिफेन्स बलियो बनाउने बताएका छन् । बगानमा अस्ट्रेलियाका जासोन कमिङ्स, अल्वानियाका अर्मान्डो साडिकु जस्ता खेलाडी पनि छन् । भारतीय राष्ट्रिय टिमा अनिरुद थापा, साहल अब्दुल सामद पनि यसै सिजन मोहन बगानमा अनुबन्ध भएका छन् ।

मछिन्द्रको टिममा पहिलो खेलमा गोल गरेका विमल, आयुष र ओलावालेसँगै मेसुके छन् । मिडफिल्डमा आन्द्रे नियासहित एरिक विष्ट र उत्सव राई हुनेछन् । फरवार्डमा आशिष चौधरी र मिडफिल्डमा लकेन लिम्बु पनि विकल्पमा छन् । यी दुवैले पारो विरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।

मोहन बगानका प्रशिक्षक जुवान फर्रान्डोले भने अन्तर्राष्ट्रिय खेल सधैं कठिन हुने तर ९० मिनेटमै खेल सकाउने गरी खेल्ने बताएका छन् ।

‘अन्तर्राष्ट्रिय खेल सधैं कठिन हुन्छ । हाम्रो विपक्षीले अघिल्लो खेल ३-२ ले जितेको थियो र आफू आक्रमक र महत्वाकाक्षी टोली भएको देखाएको छ । यो कठिन खेल हुनेछ’, फर्रान्डोले प्रिम्याच कन्फेरेन्समा भने, ‘हाम्रो लागि हरेक खेल राम्रो खेल्नु महत्वपूर्ण हुनेछ । हामी अबको खेलमा केन्द्रित हुनुपर्छ र एकपटकमा एक खेललाई हेर्नुपर्छ । हामीले ९० मिनेटमै खेल सकाउनुपर्छ तर अन्तर्राष्ट्रिय प्रतियोगिता सहज भने हुँदैन ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?