+
+

यी घटना, जसले कांग्रेस-माओवादीबीच दूरी बढाउँदैछन्

प्रचण्डको मन्त्रिपरिषद्मा सबैभन्दा बढी मन्त्रालय पाए पनि कांग्रेस खुसी देखिँदैन । प्रधानमन्त्री स्वयंका बोली व्यवहार, अनि माओवादीले लिएका मन्त्रालयमार्फत भएका क्रियाकलापमा प्रतिशोध र पूर्वाग्रहको गन्ध आएको कांग्रेस नेताहरु हाकाहाकी भन्न थालेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन ३१ गते १८:५६

३१ साउन, काठमाडौं । पोहोर चैत १७ मा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी भएसँगै कांग्रेस नेता तथा कार्यकर्तामा उत्साह थियो । गठबन्धन टुटेपछि निराशामा पुगेका नेता कार्यकर्तालाई कांग्रेस सत्तारोहण हुँदा खुसी छाउनु स्वभाविक पनि थियो ।

एमालेलाई प्रचण्डले छाडेपछि पुरानो गठबन्धन ब्यूँतिएको र कांग्रेस सरकारमा पुगेको कारणले पार्टीपंक्तिमा व्याप्त खुसी पाँच महिना पुग्दा उस्तै देखिँदैन ।विगतमा चुनावअघि माओवादीसँग गठबन्धन नगरौं भन्ने संस्थापनइतरका नेताहरुमात्रै होइन, स्वयं संस्थापनकै नेताहरु पनि माओवादीसँग बेखुसी व्यक्त गर्न थालेका छन् ।

कांग्रेसले सरकारमा सबैभन्दा बढी नौ मन्त्रालय सम्हालिरहेको छ । तर, कांग्रेसका नेता, सांसद र कार्यकर्ताको आशा निराशामा परिणत हुँदै गएको उनीहरुको अभिव्यक्तिले पुष्टि गर्दछ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसँगको दूरी विस्तारै बढिरहेको छ । चैतमा देखिएको कांग्रेस–माओवादी सौहार्दता हाल भेटिँदैन । सरकारको काम कारबाहीप्रति कांग्रेसभित्र आशंका थपिँदै गएको छ ।

२ साउन देखि सुरु भएर १० साउनमा सकिएको केन्द्रीय समिति बैठकमा व्यक्त विचारहरुले तथा गत शुक्रबार, आइतबार र सोमबार संसदीय दल बैठकमा आएका धारणाहरुले दुई दल वीचको तिक्तता बढ्ने संकेत गरेका हुन् । पार्टीले संस्थागत रुपमा माओवादी नेतृत्वको सरकार माथि प्रश्न उठाएको छैन । तर, केन्द्रीय सदस्य र सांसदहरु माओवादीप्रति रुष्ट देखिन्छन् ।

कतिपय नेताले माओवादी नेतृत्वको सरकारको निरन्तरतामा पुर्नविचार गर्नुपर्ने पनि बताएका छन् । केन्द्रीय समितिको बैठकदेखि संसदीय समितिसम्म आउँदा कांग्रेस–माओवादी सम्बन्धमा तिक्तता बढ्दै गएको देखिएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्राउ हुँदै सांसद सुनिल शर्माको पक्राउसम्म पुग्दा कांग्रेसका नेताहरु झस्किएका छन् । सुनकाण्डमा सन्दिग्ध कृष्णबहादुर महरा र उनका छोरा राहुलप्रति नरम व्यवहार, ल्हारक्याल लामाको नियुक्ति, विश्व आदिवासी दिवसमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, संघीय शिक्षा विधेयकमा प्रधानमन्त्रीको निरीहता लगायत विषयमा कांग्रेसका नेताहरुले प्रश्नसँगै आशंका व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा संलग्न भनिएका चिनियाँ व्यापारीसँग पटक पटक सम्पर्क भएको  प्रहरीको अनुसन्धान ब्यूरोले प्रतिवेदन तयार गरेको छ । चिनियाँ नागरिकसँग पटक पटक संवाद भएका महरा छानबिनको दायरामा आएका छैनन् ।

सुन प्रकरणले देश नै तरंगित भइरहेको बेला महरा बाबु छोरा अनुसन्धानको दायरा किन आएनन् भनी कांग्रेसले प्रश्न उठाएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीको अनुसन्धानको आधारमा पक्राउ हुने तर प्रहरीकै अनुसन्धानको आधारमा महरा माथि छानविन नहुने भन्दै नेताहरुले आक्रोश पोखेका छन् ।

कांग्रेस महामन्त्री गगन थापा महराले स्पष्टीकरण पार्टी भित्र नभई सीआईबीमा दिनुपर्ने तर्क गर्छन् । सुनकाण्डमा महरा पनि सन्दिग्ध रहेको सीआईबी रिपोर्टमा उल्लेख हुँदाहुँदै राज्यको निकायले अनुसन्धान गर्नुसाटो उन्मुक्तिका लागि उनकै पार्टीमा सफाईको मौका मिल्न खोजेको भन्दै कांग्रेस आशंकित छ । माओवादी केन्द्रले सुन प्रकरणको पार्टीमा स्पष्ट पार्न महरालाई निर्देशन दिएको थियो ।

‘हाम्रो स्मृतिमा रहेका जति पनि ठुला काण्डहरु छन ती सबैको फाइल खोलौं’, महामन्त्री थापा भन्छन्, ‘अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस, मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।’

माओवादी केन्द्रको नेतृत्वको सरकारले अनियमितताको प्रकरणमा अन्य र कांग्रेसका सांसदलाई समान व्यवहार नगरेको सोंच पार्टीभित्र वृद्धि हुँदै गएको छ । केन्द्रीय सदस्य उदयशमशेर राणाले संसदीय दल बैठकमा बोल्दै यो सरकार पूर्वमन्त्री खाँणविरुद्ध लागिपरेको दाबी गरेका थिए ।

नक्कली भुटानी शरणार्थी बनाउने कार्य पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको समयबाट प्रारम्भ भएको दाबी गर्दै उनले भने, ‘सबै नक्कली काम सुरु गर्ने केपी शर्मा ओली सरकारका गृहमन्त्री बादललाई केही नहुने, बालकृष्ण खाँण चाहिं पक्राउ पर्ने ?’

कांग्रेसका नेतालाई भ्रष्टाचारी देख्ने तर आफ्नालाई बचाएको भन्दै माओवादीप्रति आक्रोश पोखिएको छ । प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिँदै केन्द्रीय सदस्य जीतजंग बस्नेत भन्छन्, ‘यो पाकिस्तान चाहिं होइन । आफूसँग विचार नमिलेकै कारणले आफ्नो पार्टी बाहेककालाई भ्रष्टचारी देख्ने ।’

कांग्रेसप्रति माओवादी पूर्वाग्रही देखिएकाले सहकार्यका लागि पार्टीले पुनर्विचार गर्नुपर्ने बेला आएको धारणा बस्नेतले केन्द्रीय समितिको बैठकमा राखेका थिए ।

माओवादीसँग कांग्रेस नेताहरु चिढिने अर्को कारण सुनील शर्मा पक्राउ प्रकरण बन्यो । साउन १० को प्रतिनिधि सभाको बैठकमा शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागे । उनले देखाएको व्यवहारप्रति पार्टी सन्तुष्ट थिएन । गत बिहीबार शर्मालाई पक्राउ गरेर एक दिन पछि रिहा गरियो ।

उनलाई प्रतिशोधवश पक्राउ गरिएको भन्दै सरकारप्रति कांग्रेस नेताहरुले आक्रोश पोखे । संसदीय दलको बैठकमा नेता डा. शेखर कोइरालाले भने, ‘हाम्रो सांसदलाई अपरहरणको शैलीमा जसरी समातियो । प्रतिशोधको भावनाले समातिएको छ । दुख प्रकट गर्न चाहन्छु ।’

सार्वजनिक रुपमा शर्माको पक्राउ बारे नेता शेखरले केही बोलेका थिएनन् । तर, पक्राउको कारणले उनी सरकारप्रति असन्तुष्ट थिए । कांग्रेस स्रोतका अनुसार शर्मा गत शुक्रबार साँझ रिहा भएपछि गृहमन्त्री श्रेष्ठले शेखरलाई भेट्न खोजेका थिए । गृहमन्त्रीले निरन्तर शेखरलाई फोन गरे पनि उनले उठाएनन् । शेखर निकट एक नेतालाई गृहमन्त्रीले फोन गरेर संवादको इच्छा राखेपछि मात्रै दुई जना बीच कुराकानी सम्भव भएको थियो ।

संसदीय दलको बैठकमा धारणा राख्ने प्राय सबैजसोले शर्माको पक्राउप्रति वर्तमान सरकारको विरोध गरे । सत्ता गठबन्धन दलभित्रै समेत सरकारले फरक फरक व्यवहार देखाएको केन्द्रीय सदस्य उदय शमशेर राणाले बताए ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल माथि अनुसन्धान गर्नु भनी आदेश दिएको थियो । आदेश आएको भोलिपल्ट विहान उनी युरोप तिर लागे ।

त्यही प्रसंग उठाउँदै राणाले भने, ‘सर्वोच्चले अनुसन्धान गर् भनेकालाई विदेश जान दिने तर पुरानो मुद्धा ल्याएर किन शर्मालाई पक्राउ गरियो ? त्यसैले अनुसन्धानमा सरकारको व्यवहार पूर्वाग्रही देखिएको छ ।’

कांग्रेस र माओवादी विचको दूरी बढाउन ल्हारक्याल लामाको नियुक्ति पनि बन्यो । २१ साउनमा सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा लामालाई नियुक्त ग¥यो । झण्डै आधा दर्जन गैर कानुनी कार्यमा संलग्न रहेका कारण उनी विवादित व्यक्ति हुन् । दोहोरो नागरिकता, अकुत सम्पत्ति आर्जन, राहदानी, हतियार लगायतका मुद्धाले उनी विवादित बनेका थिए । लामाको नियुक्तिको निर्णय मन्त्रिपरिषद्बाट गरिँदा कतिपय मन्त्रीले समेत भेउ पाएनन् ।

उनको नियुक्तिको विरोध महामन्त्री विश्वप्रकाश शर्माले भोलिपल्ट नै गरेका थिए । सोही प्रसंग नेता शेखर कोइरालाले संसदीय दलको बैठकमा पनि उठाए । लामा नियुक्ति हुन लाग्दा मन्त्रिपरिषद् बैठकमा कांग्रेसका सांसदले विरोध गर्न नसकेको उनले बताए । ‘यसरी नियुक्त गर्दै जाँदा पार्टीको छवि कमजोर हुँदै गएको बुझ्न जरुरी छ’, कोइरालाले भने ।

सोमबार सकिएको संसदीय दलको बैठकमा ल्हारक्याल लामाको नियुक्तिको विषयमा सांसदहरुलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले स्पष्टिकरण दिएका थिए । लामाको नियुक्तिलाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले जानकारी गराए ।

कतिपय निर्णयमा सम्बन्धित मन्त्री र प्रधानमन्त्रीलाई मात्रै थाहा हुने उनले स्पष्टिकरण दिएका थिए । कांग्रेसका सांसदहरुलाई आश्वस्त पार्दै खड्काले कतिपय संवेदनशील निर्णय प्रधानमन्त्री र मुख्य सचिवलाई बाहेक अन्यलाई जानकारी हुन नसक्ने बताएका थिए ।

यसका अलावा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिबाट पनि कांग्रेस तर्सिएको छ । २४ साउनमा २९ औं विश्व आदिवासी दिवसको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दुई तिहाई मत दिए आदिवासीको पहिचान सहितको प्रदेश नामाकरण गर्ने बताएका थिए । उक्त बोली प्रधानमन्त्री पदमा बस्ने व्यक्तिबाट आउनु आश्चर्यजनक भएको नेता शेखर बताउँछन् ।

जातीय राज्यको पक्षपोषण गर्ने गरि प्रधानमन्त्री बोलेको भन्दै उनले विरोध गरे । ‘आदिवासी दिवसका दिन प्रधानमन्त्री जीले बोलेको कुरा म सम्झन्छु । माओवादीलाई भोट दिनुस् । जिताउनुस्, जातीय राज्य दिन्छौं भनेर भन्नुभयो’, शेखरले भने, ‘प्रधानमन्त्री भएर यसरी बोल्ने अधिकार छैन । यसरी बोल्न पाईंदैन । कांग्रेसले खेद प्रकट गर्नुपर्दछ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग सोध्नुपर्ने केन्द्रीय सदस्य सञ्जय गौतम बताउँछन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?