+
+

सोह्रौं योजना वस्तुनिष्ठ र परिणाममुखी हुनुपर्छ : चेम्बर अफ कमर्स

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १७:११

३२ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएको छ ।

मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो ।

सोह्रौं योजनाको अवधारणा एवं अतिकम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतीपछि उत्पन्न परिस्थितीबारे चेम्बरले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ सहित निजी क्षेत्रका सरोकारवालसँग चेम्बर भवनमा आजवृहत छफल गरेको हो ।

पन्ध्रौं योजनामा उल्लेखित कतिपय लक्ष्यहरु पुरा हुन नसकेको सन्र्दभमा सोह्रौं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए ।

योजना आयोगको लक्ष्य एवं सरकारको वार्षिक बजेटबीच समन्वय हुन नसक्दा अपेक्षा अनुसारको परिणाम हासिल हुन नसकेको मल्लको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले भने, ‘पन्ध्रौं योजनाको अन्त्य हुने आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धि १०.३ प्रतिशत गर्ने लक्ष्य राखिएको थियो, चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिको लक्ष्य नै ६ प्रतिशत राखिएको छ ।’ पन्ध्रौं योजनामा समावेश गरिएका अधिकांश लक्ष्यहरु अधुरै रहेको अध्यक्ष मल्लको भनाइ छ ।

प्रमुख शहरहरुमा मेट्रो रेल निर्माण, १८ स्थानमा औद्योगिक क्षेत्र निर्माण जस्ता महत्वकांक्षी कार्यक्रमहरु पन्ध्रौं योजनामा समावेश भए पनि कार्यन्वयन हुन नसकेको अध्यक्ष मल्लले बताए ।

नेपाल सन २०२६ मा अतिकम विकसित राष्ट्रहरुको सूचीबाट स्तरोन्नती हुने भएकाले त्यसपछिको अवस्थालाई मध्यनजर गरेर रणनीति तय हुनुपर्ने चेम्बरले सुझाव समेत दिएको छ ।

आयोगका उपाध्यक्ष श्रेष्ठ समक्ष अध्यक्ष मल्लले भने, ‘नेपाल अवको केही वर्षमै विकासशील राष्ट्रमा प्रवेश गर्दैछ त्यसपछि राष्ट्रले युरोपेली मुलुकमा पाउँदै आएको व्यापार सहुलियत समेत गुमाउँदैछ, । ’

भारत र चीनका ठूला बजारलाई जोड्न भूजडित रणनीतिक सडकहरु निर्माणको विषयलाई सोह्रौं योजनाले समेट्नुपर्ने अध्यक्ष मल्लले बताए ।

उत्तर दक्षिण जोड्ने सडक पूर्वाधार एवं रेल निर्माणको विषय राष्ट्रिय प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

सोह्रौं योजनामा जलविद्युत, कृषि, पर्यटन, र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठले सोह्रौं योजना सामाजिक न्याय र सुशासन सहितको आर्थिक समृद्धिमा केन्द्रित हुने बताए । कृषिको पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधी लगायतका क्षेत्रको वस्तुनिष्ठ अध्ययन गरेर योजना तर्जुमा गर्ने काम भईरहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

अतिकम विकसित मुलुकहरुको सूचिबाट नेपाल स्तरोन्नती भएपछि उत्पन्न हुने परिस्थिति सम्वन्धमा आयोगले रणनीतिक तयारी गरिरहेको समेत उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?