+
+
Shares

स्टार्टअपदेखि विस्तारसम्म उद्यमीलाई सघाउन चेम्बर-बृहतप्रेनर्स सहकार्य

‘नेपालमा व्यवसाय निर्माण : सुरुवातदेखि विस्तारसम्म’ भन्ने अवधारणा सहित सुरु कार्यक्रमले नयाँ व्यवसाय स्थापना गर्नेमात्र नभई सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित र विस्तारयोग्य बनाउन सहयोग गर्ने जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेनर्सले नयाँ व्यवसायलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरेका छन् ।
  • भृकुटीमण्डपमा जारी नवौं नेपाल ल्यान्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६ का अवसरमा दुई संस्थाबीच औपचारिक सहकार्य घोषणा गरिएको हो ।
  • कार्यक्रम काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने र ३ सयभन्दा बढी उद्यमी तथा १ हजारभन्दा बढी रोजगारीमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ ।

२ असोज, काठमाडौं । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेनर्सले सहकार्य थालेका छन् ।

स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तार चरणसम्म पुर्‍याउने उद्देश्यले दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरिएको हो ।

भृकुटीमण्डपमा जारी ‘नवौं नेपाल ल्यान्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’ का अवसरमा आयोजित कार्यक्रममा चेम्बर र बृहतप्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो ।

‘नेपालमा व्यवसाय निर्माण : सुरुवातदेखि विस्तारसम्म’ भन्ने अवधारणा सहित सुरु कार्यक्रमले नयाँ व्यवसाय स्थापना गर्नेमात्र नभई सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित र विस्तारयोग्य बनाउन सहयोग गर्ने जनाइएको छ ।

कार्यक्रममा सहभागी वक्ताले नेपालमा व्यावसायिक विचार र सम्भावना भए पनि त्यसलाई व्यावहारिक व्यवसायमा रूपान्तरण गर्ने संरचना, मार्गदर्शन र बजार पहुँचको कमी चुनौतीका रूपमा रहेको बताएका थिए ।

चेम्बर उपाध्यक्ष तथा नेपाल महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ प्रधानले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रतासँग जोडेर हेर्नुपर्ने बताइन् ।

बृहतप्रेनर्सकी निर्देशक पूर्णिमा राजभण्डारीले व्यवसायमा सही समयमा प्राप्त हुने मार्गदर्शनले सम्भावित आर्थिक जोखिम कम गर्न सक्ने बताइन् ।

कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने तयारी गरिएको छ । ती सहरमा कम्तीमा ३ सयभन्दा बढी उद्यमीलाई प्रत्यक्ष रूपमा जोड्ने र १ हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?