+
+

‘ओल्के’ पर्व मनाउँदै सुदूरपश्चिमेली, आज प्रदेशभर सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते ५:४०

१ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के  पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिमका पहाडी जिल्लामा भदौ १ गते ओल्के पर्व मनाउने चलन छ ।

ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो ।

आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो/मसिनो खानु, हात-खुट्टामा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सदभाव बाँड्ने गरिन्छ । वर्षायाममा झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भन्दै ती रोगबाट बाँचिएको खुसी साट्न पनि यो पर्व मनाउने चलन छ ।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ ।

यो पर्वका दिन विवाहिता छोरीलाई माइत आमन्त्रण गरेर सेलरोटी, माणा, निसौसे, डुब्कालगायतका मिष्ठान्न परिकार खुवाउने प्रचलन छ ।

ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिमा साँझ गाउँका सबै जना भेला भएर जलाउने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि  छ ।

राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा ‘बूढी पोल्ने’ पर्व प्रत्येक असोज १ गतेका दिनमा मनाउने चलन रहेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?