+
+

घरभाडाका कारण गोरखाको साम्दोमा बीओपी स्थापना अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २ गते १९:०३

२ भदौ, गोरखा । चीनको सीमा क्षेत्रमा पर्ने गोरखाको चुमन्ब्री गाउँपालिकाको साम्दोमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गर्ने भाका पटक पटक सरेको छ । पछिल्लो पटक बोर्डर आउटपोस्ट स्थापना गर्ने भनिए पनि घरभाडा कसले तिर्ने भन्ने टुंगो नलाग्दा र ढुवानी गर्न हेलिकप्टर नै चाहिने भएपछि ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गृहजिल्ला गोरखा आएका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउनभित्रै बीओपी स्थापना गर्ने बताएका थिए । तर गृहमन्त्रीले निर्धारण गरेको समयसीमा बितिसक्दा पनि बीओपी स्थापना हुन सकेको छैन । साम्दोमा स्थापना हुने भनिएको बीओपीका लागी सबै तयारी पूरा भइसकेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

बीओपी स्थापना स्थलको केही समयअघि स्थलगत निरीक्षण गरेर घर समेत यकिन गरेपनि घरभाडा कसले दिने भन्ने बिषय टुंगो नलाग्दा बीओपी स्थापना हुन नसकेको उनले बताए । घरभाडा उपलब्ध गराउने भन्ने गृह मन्त्रालयको आधिकारिक पत्र नआएका कारण अन्योल भएको प्रशासन कार्यालयको भनाइ छ ।

‘सीडीओको अध्यक्षतामा जिल्ला घरभाडा निर्धारण समिति हुन्छ’ प्रजिअ भुसालले भने, ‘बीओपी स्थापना गर्ने घर यकिन गरी भाडा निर्धारण गर भनेर हामीलाई कहीबाट केही पेश भएर आएको छैन ।’ घरभाडा उपलब्ध गराउने बिषयको आधिकारिक निर्णय आएसँगै बीओपी स्थापना हुने उनले जानकारी दिए ।

यता सशस्त्र प्रहरी बल नेपाल नम्वर २९ गुल्म गोरखाले भने आवश्यक जनशक्ति र सामान ढुवानीका लागि हेलिकप्टर आवश्यक पर्ने बताएको छ । ‘साम्दोमा मोटरबाटो पुगेको छैन, कम्तीमा तीन÷चार दिनको पैदल यात्रा गर्नुपर्छ’, सशस्त्र प्रहरी बल गोरखा गुल्मका डीएसपी सुमन बोगटीले भने, ‘मान्छे मात्र जान त सहज हुन्थ्यो होला तर हातहतियार र आवश्यक सामानहरु पनि लानुपर्छ, । त्यसैले हेलिकप्टर नभइ सम्भव छैन, त्यसकै पर्खाइमा छौँ ।’ प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली तयारी अवस्थामा रहेको समेत उनले जानकारी दिए ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बीओपी स्थापनाका लागि गोरखाको साम्दो र दार्चुलाको तिङ्कर भन्ज्याङ पहिलो प्राथमिकतामा रहेको बताए ।

घरभाडा मन्त्रालयले तिर्ने बताउँदै उनले भने, ‘घरभाडाको केही समस्या छैन । हामी यहीँबाट तिरिदिन्छौँ । मान्छे लान पनि हेलिबाट लाने कि पैदल जाने भन्ने बिषयमा हामी बुझ्दै छौँ । हेलिबाटै लान परेपनि हामी लगिदिन्छौं त्यसमा कुनै समस्या छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?