+
+

चीन र दक्षिण एसियाली क्षेत्र बीच बृहत्तर सहयोगका लागि सहकार्य आवश्यक : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १२:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।

चीनको कुन्मिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षको रूपमा समेत सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्र बीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नु पर्ने बताए ।

सम्बोधनमा अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनु पर्ने बताए । साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न सकिनेमा ढकालले जोड दिए ।

अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरे ।

विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति श्रृङ्खलामा देखा परेका अवरोधहरूबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनु पर्ने पनि ढकालले बताए ।

दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको ढकालको भनाइ थियो ।

दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने ढकालको धारणा थियो । यसबाट दक्षिण एसियाली मुलुकहरू र चीनबीचको अन्तर क्षेत्रीय लगानी प्रवाह र व्यापार बढाउन सकिने पनि उनले बताए ।

डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृङ्‍खलाहरुको साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आईसीटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई प्रविधि र लगानीको हस्तान्तरणबाट नेपाल सहित दक्षिण एसियाले लाभ लिन सक्ने ढकालले बताए ।

दक्षिण एसिया र चीनबीचको आर्थिक साझेदारी बढाउन उद्योग वाणिज्य महासंघको प्रतिबद्धता दोहोर्‍याउँदै ढकालले नेपालमा रहेका लगानी अवसरहरूको उपयोग गर्न पनि लगानीकर्ताहरुलाई आग्रह गरे ।

मध्यम वर्गीय जनसङ्ख्याको वृद्धि, बहुराष्ट्रिय कम्पनीहरूले गरेको उच्च नाफा र चीन तथा भारतका बजारहरूसम्मको सहज पहुँचले लगानीकर्ताहरूका लागि नेपाल आकर्षक लगानी गन्तव्य रहेको पनि ढकालले बताए ।

ढकालले चीन-दक्षिण एसिया व्यापार मञ्चले चीन, दक्षिण एसिया र नेपालबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन, व्यावसायिक संस्था र सरकारी निकायहरूबीचको सम्बन्ध प्रगाढ बनाउन गतिशील माध्यमको रूपमा काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?