+
+

प्रेम, पहिचान र आशाको खोजीमा आधारित रोडिज सिजन ५ को तेस्रो शृंखला

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १३:०९

काठमाडौं । यदि तपाईं हिमालय रोडिज सिजन ५ को नियमित दर्शक हुनुहुन्छ भने पक्कै पनि भरपुर मनोरञ्जन लिइरहनुभएको छ । रमाइला र साहसिक टास्कदेखि जीवनलाई अलग ढंगले बाँचेका विभिन्न पात्रको जीवन भोगाइले तपाईंले मर्मस्पर्शी तुल्याएको हुनुपर्छ ।

पछिल्लो तेस्रो एपिसोडमा दर्शकले यस्तै अनुभव महसुस गर्न पाए । हिमालय टेलिभिजन एचडीबाट प्रसारण भएको रोडिजको पछिल्लो श्रृंखलालाई युट्युबमा मात्र झण्डै साढे ६ लाख पटक हेरिएको छ ।

पछिल्लो एपिसोडमा कमेडियन सजन श्रेष्ठ र म्याक्सिम गौडेल अतिथिको रुपमा सहभागी थिए । ग्याङ लिडर्सले टायरको माला लगाएर उनीहरुलाई स्वागत गरे । यी दुईले ग्याङ लिडर्सलाई कटाक्ष (रोस्ट) पनि गरे ।

तेस्रो एपिसोडमा सत्यनारायण चौधरी पहिलो प्रतिस्पर्धी थिए । उनले आफू २५ लाख थारुको प्रतिनिधित्व गर्दै रोडिजमा आएको बताए । उनले भने, ‘के थारु भारतीय र बेलायती लाउरे बन्न सक्दैनन् ? यस पछाडिको कारण के हो ? कहाँ लेखेको छ ? नेपालको नागरिकता छ भने अधिकार पाउनुपर्छ । २५ लाख थारु विशेष आन्दोलन गर्न पनि तयार छौं ।’

ग्याङ लिडरले उनले लिडरसिप गुण मन पराए । टास्क राम्रो गर्न सक्छ र मौका दिनुपर्छ भन्दै उनलाई मौका दिइयो । प्रतिमा नामक प्रतिस्पर्धी दोस्रो पटक अडिसन दिन आइपुगेकी थिइन् । अघिल्लोपटक भन्दा यसपटक उनले सुधार गरेको भन्दै ग्याङ लिडरले उनलाई छनोट गरे ।

सिक्किमबाट अडिसन दिन आइपुगेकी थुचेन शेर्पा पछिल्लो एपिसोडकी रोचक पात्र हुन्, जसको जीवन अनुभव प्रेरणादायी रह्यो । तर उनी छनोट हुन सकिनन् । इलेक्ट्रिकल इन्जिनियर थुचेन समलिंगी समुदायकी सदस्य हुन् जो प्रेमिकासँग गहिरो प्रेममा थिइन् । तर ब्रेकअपपछि उनले घरको दोस्रो तलाबाट हामफालेर आत्महत्या प्रयास गरिन् ।

यो क्रममा परिवार र आफन्त महत्वपूर्ण छन् भन्ने कुरा उनले बुझिन् । यही बोध लिएर उनी रोडिजमा अडिसन दिन पुगेकी थिइन् । ‘परिवार र आफ्नोबारे सोच्नु, जीवन लामो छ,’ उनले भनिन् । तेस्रो एपिसोडमा रमाइला नियमितसहित रमाइला टास्क थिए । पोखरीमा डुबेको बच्चालाई उद्धार गरेको देखाउनु, बाइकबाट जिरो शैलीमा घुमाएर स्टन्ट गराउनु, टायर उचाल्नु, मुखले मैनबत्ती बालेर पुसअप गर्नुसहितका साहसिक टास्क यसपटक दिइएको थियो ।

यसपटक सुरज सिंह ठकुरी होस्टको रुपमा छन् भने आशिष राना लाउरे, प्रियंका कार्की, दीया मास्के र अनुपविक्रम शाही ग्याङ लिडरको रुपमा छन् । प्रियंकाको लागि यो पहिलो अनुभव हो । हिमालय रोडिजको सिजन पाँच हिमालय टेलिभिजन एचडीमा प्रत्येक सोमबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?