+
+

साउनमै घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवै गिरावट

अच्युत पुरी अच्युत पुरी
२०८० भदौ ६ गते १९:३०

६ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो महिनामै वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १.५६ प्रतिशत कम हो । गत वर्ष साउनमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यस महिनामा निर्यातमा ८.६५ प्रतिशतको गिरावट आएर १३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको पहिलो महिनामा १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो ।

आयात र निर्यात दुवैमा आएको गिरावटले समग्र वैदेशिक व्यापार तथा व्यापार घाटा समेत घटेको छ । साउनमा कुल वैदेशिक व्यापारको आकार १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । यो गत आवको यसै महिनाको तुलनामा २.२८ प्रतिशत कम हो । सो आवको साउनमा १ खर्ब ४६ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । साउनमा व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँको भएको छ ।

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४८ प्रतिशत र आयातको हिस्सा ९०.५२ प्रतिशत रहेको छ । साउनमा गत आवको तुलनामा निर्यातको हिस्सा खस्किएको छ ।

पेट्रोलियम पदार्थको आयात खस्कियो

भन्सार विभागका अनुसार साउनमा पेट्रोलियम पदार्थको आयातमै ठूलो गिरावट देखिएको छ । यस आवमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आवको साउनमा पेट्रोलियम पदार्थको आयात २५ अर्ब रुपैयाँको भएको थियो ।

आइरन र स्टीलको आयात १२ अर्ब ९५ करोड रुपैयाँको भएको छ । यस आवमा आइरन र स्टीलको आयात सुधार भएको छ । साउन २०७९ मा ११ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो ।

एक महिनामा साढे २ अर्ब रुपैयाँको तरकारीजन्य वस्तुको आयात भएको छ । यस महिनामा २ अर्ब ८१ करोडको औषधि आयात भएको छ ।

सवारी साधन र यसको पार्टपूर्जा आयातमा ४ अर्ब २९ करोडको आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष यस्तो वस्तुको आयात ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको थियो ।

नेपालको सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ । भारतबाट १ अर्ब २४ करोडको आयात भएको छ । ८ अर्ब ४ करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग साउनमा मात्र ७२ अर्ब ७६ करोड रुपैयाँको व्यापार घाटा रहेको छ ।

चीनबाट २१ अर्ब ९४ करोडको वस्तु आयात हुँदा ३९ करोड रुपैयाँको मात्र निर्यात भएको छ । साउनमा १०९ मुलुक भन्दा बढीसँग वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांक छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?