+
+

वैदेशिक व्यापार निरन्तर घट्दै

पेट्रोलियम पदार्थको आयात मात्र १० अर्ब कम

अच्युत पुरी अच्युत पुरी
२०८० मंसिर ७ गते १७:२०

७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को सुरुवाती महिनादेखि सुरु भएको वैदेशिक व्यापारको ओरालो यात्राले चौथो महिना (कात्तिक)मा समेत निरन्तरता पाएको छ ।

भन्सार विभागका अनुसार यस वर्षको पहिलो चौमासिक अवधि (साउन–कात्तिक)मा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ३.७९ प्रतिशत कम हो । सो आवमा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थको आयात मात्र १० अर्ब रुपैयाँ कम आयात भएको छ । यसो हुनुमा सवारी साधनमा विद्युतीय माध्यमको प्रयोग बढ्नु हो । अर्कोतर्फ आन्तरिक अर्थतन्त्र सुस्ताएका कारण बजारमा माग बढ्न सकेको छैन । यसले उपयोग घटाउँदा समेत आयात खुम्चिरहेको छ ।

सरोकारवालाका अनुसार अहिले बजारमा ‘आम कन्फिडेन्स’ बढ्न नसक्दा अर्थतन्त्रमै त्यसको प्रभाव देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल अर्थतन्त्रमा देखिएको यो प्रभाव साना व्यवसायीबाट सुरु भएको बताउँछन् । अहिले यो विस्तार भएर बैंक तथा वित्तीय संस्थासम्म पुगिसकेको उनको भनाइ छ । विद्यमान प्रणालीमा प्रभाव नपर्ने गरी सरकारले गिरेको आत्मविश्वास बढाउन काम गर्नुपर्ने उनी बताउँछन् ।

तथ्यांक अनुसार पहिलो चौमाससम्म निर्यात व्यापार समेत खस्किएको छ । यस अवधिमा मात्र ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको तुलनामा ७.६८ प्रतिशत कम हो । अघिल्लो आवको यसै अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवै घट्दा समग्र वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ । तथ्यांक अनुसार चार महिनामा कुल ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ४.१५ प्रतिशत कम हो । गत आवको यसै अवधिमा वैदेशिक व्यापारको आकार ५ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ थियो । यस अवधिमा व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको तुलनामा ३.३४ प्रतिशत हो । गत आवको पहिलो चौमासमा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२ र निर्यातको हिस्सा ८.९८ प्रतिशत रहेको छ ।

पेट्रोलियम पदार्थको आयात १० अर्बले खुम्चियो

भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा पेट्रोलियम पदार्थको आयात मात्र १० अर्ब रुपैयाँले कम भएको छ । यस अवधिमा पेट्रोलियम पदार्थ आयातमा ९८ अर्ब ८ करोड रुपैयाँ विदेशिएको छ ।

गत आव यसै अवधिमा १ खर्ब ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । आइरन तथा स्टीलको आयातमा ४३ अर्ब रुपैयाँ विदेशिएको छ । चार महिनामा २३ अर्ब ८१ करोड मूल्यका सवारी साधन आयात भएका छन् । तरकारीजन्य वस्तुको आयातमा ११ अर्ब ८७ करोड रुपैयाँ विदेशिएको भन्सार विभागले जनाएको छ ।

चीनमा बढ्न सकेन निर्यात

मुलुकअनुसार भारतसँग नेपालको सबैभन्दा ठूलो व्यापार छ । भारतसँग ३ खर्ब १४ अर्बको आयात हुँदा ३३ अर्ब रुपैयाँ बराबरको निर्यात देखिन्छ । व्यापार घाटा २ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ । चीनतर्फ भने निर्यात अझै बढ्न सकेको छैन ।

तथ्यांक अनुसार चीनमा १ खर्ब रुपैयाँको आयात हुँदा निर्यात भने मात्र ८३ करोड रुपैयाँको भएको छ । नेपालले १४५ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गरेको तथ्यांक छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?