
२८ वैशाख, नेपालगञ्ज । ६ वर्षदेखि अलपत्र राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहर निर्माणका लागि दोस्रो पटक टेन्डर खुलेको भएको २ महिना बित्यो । तर प्राविधिक मूल्यांकनका नाममा काम अघि बढ्न सकेको छैन ।
सिक्टा सिंचाइ आयोजनाले डुडुवा नहर निर्माणका लागि १ पुस २०८१ मा ३० दिनको म्याद दिएर टेन्डर आह्वान गरेको थियो । तर टेन्डर प्रक्रियामा आपत्ति जनाउँदै निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि अख्तियारमा उजुरी गरेपछि १ माघमा खोल्नुपर्ने टेन्डर झन्डै तीन हप्ता ढिलो गरी २५ माघमा खुलेको थियो ।
निर्माण व्यवसायी महासंघले हाइड्रोपावर कम्पनीमा काम गरेको अनुभवलाई मान्यता दिएर टेन्डर प्रक्रियामा सहभागी गराउनुपर्ने माग राखेर सार्वजनिक खरिद अनुगमन कार्यालयदेखि अख्तियारमा उजुरी गरेका थिए । त्यसपछि निर्माण व्यवसायीका मागलाई आंशिक रूपमा सम्बोधन गरिएको थियो । आंशिक रूपमा माग सम्बोधन भएपछि ११ वटा निर्माण व्यवसायी टेन्डर प्रक्रियामा सहभागी भएका थिए ।
टेन्डर खुलेपछि प्राविधिक मूल्यांकनका क्रममा निर्माण व्यवसायीले पेस गरेका कागजपत्रको भेरिफिकेसनका लागि आयोजनाले व्यवसायीहरूलाई पटक/पटक पत्र लेखेर आवश्यक डकुमेन्टहरू जुटाएको थियो ।
आयोजना कार्यालय नेपालगञ्जले प्राविधिक प्रस्तावका बारेमा अध्ययन गरी रायसहित स्वीकृतिका लागि सिंचाइ विभागमा पठाएको ४ हप्ता बितिसक्दा पनि विभागले निर्णय नगर्दा ठेक्का स्वीकृत प्रक्रिया लम्बिएको छ ।
प्राविधिक प्रस्ताव स्वीकृत भएपछि ७ दिने सूचना दिएर आर्थिक प्रस्ताव खोल्ने, आर्थिक प्रस्ताव स्वीकृत गरी १५ दिने सूचना दिएर सम्झौताका लागि निर्माण व्यवसायीलाई बोलाउनुपर्ने कानुनी व्यवस्था छ ।
सार्वजनिक खरिद नियमावलीअनुसार १० करोडभन्दा बढीको बोल प्रस्तावको मान्य अवधि १२० दिनको हुन्छ । निर्माण व्यवसायीहरू १२० दिनको बैंक ग्यारेन्टी बनाएर टेन्डर प्रक्रियामा सहभागी हुन्छन् । १२० दिनमा टेन्डर प्रक्रिया स्वीकृत नहुँदा आयोजनाले पुन: निर्माण व्यवसायीलाई पत्राचार गरी थप अवधिको बैंक ग्यारेन्टी बनाएर पेस गर्न आग्रह गर्नुपर्छ ।
निर्धारित समयमा टेन्डर स्वीकृत हुने प्रक्रिया नटुंगिँदा आयोजनाको काम सुरु गर्न केही ढिलाइ हुने भएको सिक्टा सिंचाइ आयोजनाका प्रमुख राजु आर्चायले बताए ।
टेन्डर आह्वान भए पनि एकपछि अर्को विवाद बढ्दै गएका कारण टेन्डर प्रक्रियामैं ढिलाइ हुँदा त्यसको मारमा किसानहरू परेको सिक्टा सिंचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए । फटाफट काम गरेको भए ठेक्का स्वीकृत भएर काम सुरु भइसक्थ्यो । तर विवादका कारण कहिले ठेक्का स्वीकृत भएर काम सुरु हुने टुंगो छैन ।
अध्यक्ष डाँगी भन्छन्, ‘हामी किसानलाई पानी चाहिएको छ । सुख्खा र खडेरीका कारण किसान मारमा छन् । तर हाम्रा नेता, कर्मचारी र निर्माण व्यवसायीहरू आ-आफ्ना स्वार्थ पूरा गर्न एकपछि अर्का विवाद गरेर काममा ढिलाइ गरिरहेका छन् ।’
कृषि प्रधान देश भने पनि वास्तविक किसानको समस्या र पीडा बुझिदिने कर्मचारी र नेता नहुँदा किसानले दु:ख पाएको डाँगीले बताए ।
सिक्टा सिंचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रति–सेकेन्ड) पानी डुडुवा नहरमा खसालेर २३ किलोमिटर लामो डुडुवा शाखा नहर र उपशाखा नहरको निर्माण १६ हजार हेक्टर जमिनमा बाह्रैमास भरपर्दो सिंचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजनाले दोस्रो पटक १ पुस २०८१ मा ३० दिनको म्याद दिएर टेन्डर आह्वान गरेको थियो ।
६ असार २०७३ सिक्टा सिँचाइ आयोजना र कोस्टल पप्पुजेभीबीच २०७३ असार १२ देखि काम सुरु गरी ४ पुस ०७५ सम्म पूरा गर्ने डुडुना नहर निर्माणका लागि ९८ करोड ८१ लाखमा ठेक्का सम्झौता भए पनि आयोजना र निर्माण व्यवसायी नहर निर्माणको कामलाई अलपत्र पारेर मुद्दा मामिलाका दाउपेचमा लागेपछि २८ चैत २०७४ देखि नहर निर्माणको काम ठप्प भएको थियो ।
उच्च अदालत नेपालगञ्ज, मध्यस्थता परिषद्, उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतमा दायर भएका ८ वटा फरकफरक मुद्दाको अन्तिम टुंगो नलाग्दा नहर निर्माणको काम अवरुद्ध भएको थियो ।
मुद्दा मामिलाका कारण लामो समयदेखि अवरुद्ध भएको नहर निर्माणको काम आयोजना र सिंचाइ विभागको निरन्तरको प्रयासपछि पुन: निर्माणका लागि गत वर्ष लागत इस्टिमेट तयार पारेर बजेटको सुनिश्चितताका लागि १५ साउन २०८१ मा सिंचाइ विभागमा पेस गरेको थियो ।
अर्थ मन्त्रालयबाट नेपाल सरकारकै स्रोतमा डुडुवा नहर निर्माणका लागि आवश्यक पर्ने करिब २ अर्ब ५० करोड रुपैयाँ बजेट उपलब्ध गराउने सुनिश्चितता गरेसँगै २ वटा प्याकेजमा ४० महिनामा निर्माण सम्पन्न गर्ने टेन्डर आह्वान गरिएको हो ।
६ वर्षदेखि अलपत्र परेको डुडुवा नहर पुन: निर्माणका लागि टेन्डर आह्वान भएको थाहा पाउँदा उत्साहित भएका बाकेका किसानहरू ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण निराश भएको बाँके इन्द्रपुरका किसान तुल्सीराम शुक्लाले बताए ।
अपलत्र परेको ६ वर्षपछि डुडुवा नहर विस्तारको तयारी
सुख्खा र खडेरीले खेतबारी बाँझो राखेर छिमेकी मुलुक भारतबाट दाल, चामल र तरकारी किनेर खाँदै आएका बाकेका किसान डुडुवा नहर पुन: निर्माण हुने आशाले उत्साहित भएका छन् ।
सुख्खा र खडेरीले वर्षभरिमा मुस्किलले २ बाली खेती गर्दै आएको बताउँदै बाँके खजुराका अगुवा किसान परशुराम शुक्ला भन्छन्, ‘डुडुवा नहर बनेर बाहैमास पानी चल्यो भने एकै वर्षमा ३/४ बाली खेती हुने र उत्पादन पनि दोब्बर वृद्धि हुन्छ । आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले वर्षभरि खाएर बेच्न पनि पुग्छ ।’
प्लटिङले सिंचित क्षेत्र खुम्चिँदै
सिंचित भनी छुट्याइएको क्षेत्रमा पनि प्लटिङ हुने क्रम बढ्दै गएको छ । आयोजना सम्पन्न हुन ढिलाइ हुँदा सिंचित क्षेत्र घटेर अपेक्षा गरेअनुसार लाभ नहुने जोखिम बढेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङअनुसार, बाँके जिल्लामा पछिल्ला १० वर्षमा २१ हजार ४ सय १६ घर धुरीथपिएका छन् ।
औसतमा एउटा घरधुरी थपिँदा १ कठ्ठा जग्गा प्रयोग भए पनि यो अवधिमा करिब ७ सय १३ हेक्टर सिंचाइयोग्य जमिन घटेको छ । प्लटिङ भएको तर घरजग्गा बनिनसकेको जग्गा पनि बाँके जिल्लाभरमा करिब ३ देखि ४ सय हेक्टरसम्म भएको अनुमान घरजग्गा व्यवसायीहरूको छ ।
दायाँबायाँ नहरको जग्गा नै अतिक्रमण गरी घर, घरको पर्खाल लगायतका संरचना निर्माण गर्ने क्रम बढ्दै गएको छ ।
बाँकेको खेतीयोग्य उर्बरा जमिनमा सिंचाइ पुर्याउने उद्देश्यले २०१६/१७ सालमा डुडुवा नहर निर्माणको काम सुरु भयो । भारत सरकारको सहयोगमा डुडुवा खोलामा निर्माण गरिएको बाँधको १९ फागुन २०२० मा राजा महेन्द्रले उद्घाटन गरेका थिए । बाँध निर्माण भएसँगै २०२६ सालसम्म डुडुवा नहर विस्तार गरिएको थियो ।
प्रतिक्रिया 4