+
+
वैदेशिक व्यापार :

घट्यो आयात–निर्यात, बढ्यो राजस्व संकलन

अच्युत पुरी अच्युत पुरी
२०८० माघ ५ गते १९:५८

५ माघ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा वैदेशिक व्यापार घट्दा भन्सार बिन्दुबाट हुने राजस्व संकलन भने बढेको छ ।

भन्सार विभागका अनुसार पुस मसान्तसम्म आयात र निर्यात दुवै घटेको छ । यसले व्यापार घाटासमेत कम भएको छ । तर, राजस्व संकलन भने गत वर्ष सोही अवधिको दाँजोमा बढेको छ ।

विभाग महानिर्देशक शोभाकान्त पौडेलका अनुसार ६ महिनामा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ । यो गत आव सोही अवधिको तुलनामा ३.०९ प्रतिशत कम हो ।

गत आव ६ महिनामा ७ खर्ब ९२ अर्ब ६७ करोडबराबर वस्तु आयात भएको थियो । आयात २४ अर्ब ५० करोड रुपैयाँले घटेको हो । पुसमा मात्र १ खर्ब २५ अर्ब ९६ करोडको आयात भएको छ ।

उता, यो ६ महिनामा ७४ अर्ब ९७ करोडको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ७.२३ प्रतिशतले कम हो । गत आव ६ महिनामा ८० अर्ब ८१ करोडको वस्तु निर्यात भएको थियो । आयात र निर्यात दुवै घट्दा व्यापार घाटा ६ खर्ब ९३ अर्ब २० करोडमा झरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २.६२ प्रतिशतले कम हो ।

गत वर्ष ६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब ८६ करोडबराबर थियो । कुल वैदेशिक व्यापार आकारसमेत ६ महिनामा ३.४७ प्रतिशतले खुम्चिएको छ । चालु आवमा ८ खर्ब ४३ अर्ब १३ करोड रहेको कुल वैदेशिक व्यापार आकार गत वर्ष भने ८ खर्ब ७३ अर्ब ४७ करोड थियो ।

बढ्यो राजस्व संकलन, भेटेन लक्ष्य 

वैदेशिक व्यापार घटेको वर्ष सरकारले भन्सार बिन्दुबाट उठाउने राजस्व भने बढेको छ । यो वर्ष ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब १० करोड रुपैयाँ उठेको छ ।

यो गत आवको यसै अवधिको तुलनामा ६.३४ प्रतिशत धेरै हो । गत आवमा सरकारले १ खर्ब ८८ अर्ब १७ करोडबराबर राजस्व उठाएको थियो । राजस्व बढे पनि यो वृद्धि अनुमानको तुलनामा भने धेरै कम हो ।

यस वर्ष सरकारले ६ महिनामा भन्सारबाट ३ खर्ब ६ अर्ब १७ करोड राजस्व संकलन लक्ष्य राखेको थियो । तर, संकलन भने लक्ष्यको ६५ प्रतिशतमात्र भएको छ ।

उता, कुल लक्ष्यको तुलनामा भने ६ महिनामा ३१ प्रतिशतमात्र असुली भएको छ । यस वर्ष सरकारले भन्सार राजस्व ६ खर्ब २७ अर्ब ७५ करोड उठाउने लक्ष्य राखेको छ ।

डिजेल र एलपी ग्याँस आयात घट्दा, पेट्रोल बढ्यो

भन्सार विभागको ६ महिनाको तथ्यांकअनुसार यो वर्ष डिजेल र एलपी (खाना पकाउने) ग्याँसमा गत आवको तुलनामा कम रकम विदेशिएको छ । तर, पेट्रोल आयातमा भने गत आवको तुलनामा बढी रकम बाहिरिएको छ ।

यो वर्ष ६ महिनामा ६६ अर्ब ४९ करोडको डिजेल आयात भएको छ । गत आव ६ महिनामा ७० अर्ब ११ करोडको डिजेल आयात भएको थियो । यो वर्ष ६ महिनामा पेट्रोल आयातमा ३३ अर्ब ९२ करोड विदेशिएको छ । गत वर्ष ३३ अर्ब ५४ करोडको पेट्रोल आयात भएको थियो ।

यो वर्ष ६ महिनामा २५ अर्ब ४६ करोडको एलपी ग्याँस आयात भएको छ । गत वर्ष ६ महिनामा २८ अर्ब २० करोडको आयात भएको थियो ।

यो वर्ष विद्युत्बाट चल्ने जिप, कार र भ्यान आयातमा ठूलो वृद्धि भएको छ । गत वर्ष ४ अर्ब ९३ करोड रुपैयाँका यस्ता सवारीसाधन आयात भएकोमा यो वर्ष १३ अर्ब १२ करोडको आयात भएको विभागको तथ्यांक छ ।

त्यस्तै एचआर सिट आयात उल्लेख्य बढेको छ । गत वर्ष ५ अर्ब ५३ करोडको एचआर सिट आयात भएकोमा यो वर्ष २२ अर्ब ३६ करोडको आयात भएको छ ।

यो वर्ष सुन आयातमा भने ठूलो गिरावट आएको छ । पुससम्म ११ अर्ब ८९ करोडको सुन आयात भएको देखिन्छ । गत वर्ष ६ महिनामा २९ अर्ब २० करोडको सुन आयात भएको थियो ।

प्रशोधित पाम तेल निर्यात घट्दा समग्र निर्यात प्रभावित

यो वर्ष ६ महिनाको तथ्यांकअनुसार प्रशोधित पाम तेल निर्यात सबैभन्दा धेरैले घटेको छ । गत वर्ष १३ अर्ब ९ करोडले निर्यात भएको पाम तेल यस वर्ष भने २ अर्ब ९० करोडमा झरेको छ ।

त्यस्तै फलामे पाता, तयारी कपडा, फलफूलको जुस, अलैंची, प्लाइउडजस्ता वस्तु निर्यात बढेको छ । सेन्थेटिक यार्न, ऊनी गलैंचालगायत वस्तु निर्यात भने केही घटेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?