+
+

७ महिनाको वैदेशिक व्यापार : आयात घट्दा भन्सार राजस्व ८ प्रतिशत बढ्यो

चालु आव माघ मसान्तसम्म आयात र निर्यात दुवै घट्दा व्यापार घाटासमेत कम भएको भन्सार विभागको तथ्यांक छ । माघसम्म ८ खर्ब ९७ अर्ब ९४ करोडको वस्तु आयात भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते २०:१५

९ फागुन, काठमाडौं । पुसको दाँजोमा माघ महिनामा आयात केही बढेको देखिए पनि वैदेशिक व्यापार गत वर्षको तुलनामा घटेको छ ।

भन्सार विभागका अनुसार पुस २०८० मा १ खर्ब २६ अर्बको वस्तु आयात भएको थियो । माघमा १ खर्ब ३० अर्बको आयात भएको छ । तर, चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ७ महिनाको समग्र वस्तु आयात भने गत आवको तुलनामा घटेको देखिन्छ ।

गत वर्ष ७ महिना (साउन–माघ) तुलनामा आयात र निर्यात दुवैमा संकुचन भएको भन्सार विभागको तथ्यांक छ । वैदेशिक व्यापारमा संकुचन भए पनि गत वर्षभन्दा चालु आव ७ महिनामा सरकारको भन्सार राजस्व भने बढेको छ ।

चालु आव माघ मसान्तसम्म आयात र निर्यात दुवै घट्दा व्यापार घाटासमेत कम भएको भन्सार विभागको तथ्यांक छ । माघसम्म ८ खर्ब ९७ अर्ब ९४ करोडको वस्तु आयात भएको छ ।

सोही अवधिमा ८६ अर्ब ८३ करोडको वस्तु निर्यात हुँदा व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रहेको भन्सार विभागको तथ्यांक छ ।

गत आव सात महिनामा ९ खर्ब १९ अर्ब १७ करोडको वस्तु आयात र ९३ अर्ब ४३ करोडको निर्यात हुँदा ८ खर्ब २५ अर्ब ७३ करोडको व्यापार घाटा भएको थियो ।

गत आवको तुलनामा चालु आवमा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घट्दा व्यापार घाटा १.७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

आयात र निर्यात दुवैमा संकुचन आउँदा कुल वैदेशिक व्यापार २.७५ प्रतिशत घटेर ९ खर्ब ८४ अर्ब ७७ करोडमा झरेको छ । गत आव सात महिनामा १० खर्ब १२ अर्ब ६० करोडको वैदेशिक व्यापार भएको छ ।

आयात घटे पनि बढ्यो भन्सार राजस्व

वैदेशिक व्यापार घटे पनि भन्सार राजस्व भने बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालु आव ७ महिनामा २ खर्ब ३६ अर्ब ९८ करोड भन्सार राजस्व संकलन भएको छ । जुन गत आवको तुलनामा ८.२९ प्रतिशतले बढी हो ।

गत आव सोही अवधिमा २ खर्ब १८ अर्ब ८३ करोड राजस्व संकलन भएको विभागको तथ्यांकले देखाउँछ ।

माघमा ५० अर्ब ९९ करोड राजस्व उठाउने लक्ष्य भए पनि ३३ अर्ब १७ करोडमात्र संकलन भएको भन्सार विभागले जनाएको छ । यो लक्ष्यको ६५.०४ प्रतिशत हो ।

इन्धन आयात घट्यो

चालु आव पहिलो ६ महिनामा इन्धन आयात खर्च सबैभन्दा धेरै १ खर्ब ८४ अर्ब ९३ करोड पुगेको छ । जसमध्ये डिजेल ७७ अर्ब ४२ करोड, पेट्रोल ३८ अर्ब ८३ करोड र खाना पकाउने एलपी ग्याँस ३० अर्ब ३१ करोडको आयात भएको भन्सार विभागले जनाएको छ । गत आव ७ महिनामा १ खर्ब ९४ अर्ब ९६ करोडको इन्धन आयात भएको थियो ।

समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादन आयात ७६ अर्ब ५ करोड ५८ लाख बराबर आयात भएको छ । गत आव सोही अवधिमा ७६ अर्ब २६ करोडको फलाम तथा स्टिल र तिनका उत्पादन आयात भएको थियो ।

इन्धनका साथै फलाम तथा स्टिल र तिनका उत्पादनको अन्तर्राष्ट्रिय बजार मूल्यमा गिरावट आउँदा आयात परिमाण गत वर्षको तुलनामा वृद्धि भए पनि मूल्यमा भने कमी देखिएको हो ।

मेसिनरी तथा पार्ट्स आयात ६० अर्ब ८४ करोड पुगेको छ । गत आव सोही अवधिमा यी वस्तु आयात ५८ अर्ब २४ करोड रहेकोमा चालु आवमा सामान्य बढेको हो ।

फलामका उत्पादन निर्यात बढ्यो

निर्याततर्फ भने सबैभन्दा धेरै फलाम तथा तिनका उत्पादन रहेको भन्सार विभागको तथ्यांक छ । चालु आव ७ महिनामा ९ अर्ब २९ करोड रुपैयाँ बराबर फलाम तथा तिनका उत्पादन निर्यात भएको छ ।

गत वर्ष ५ अर्ब ४६ करोडका मात्रै निर्यात भएको फलाम तथा तिनका उत्पादन निर्यात चालु आव ७ महिनामै करिब ४ अर्बले बढेको देखिन्छ ।

कफी, चिया तथा मसला लगायत वस्तु चालु आव माघसम्म ८ अर्ब ७ करोड ८९ लाख रुपैयाँको निर्यात भएको छ । गत आव सोही अवधिमा यी वस्तु ८ अर्ब ५६ करोड २० लाखको निर्यात भएकोमा चालु आव घटेको हो ।

यस्तै कार्पेट तथा अन्य टेक्सटाइल निर्यात ६ अर्ब ६१ करोडको हुँदा ऊनी ६ अर्ब ३५ करोडको निर्यात भएको छ । गत आवमा तयारी पोसाक ६ अर्ब ९८ करोडको निर्यात भएकोमा चालु आवमा घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?