+
+

साउनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्यो

अच्युत पुरी अच्युत पुरी
२०८० भदौ ७ गते १८:२५

७ भदौ, काठमाडौं । नयाँ आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९/८० को साउन महिनामा ६३ हजार ३९ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीका अनुसार साउन महिनामा सामान्यतया विदेश जाने संख्या कम नै हुने गर्छ । त्यसमा पनि ५५ हजार नाघ्नु ठूलो संख्या नै मानिने उनी बताउँछन् । ‘यसलाई कम भएको मान्न सकिन्न, किनकी यही औसतमा नेपाली विदेश जाँदा पनि वार्षिक ७ लाख संख्या नाघ्छ ।’

आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा ७ लाख ७१ हजार ३२७ जना नेपालीले श्रम स्वीकृति लिएका थिए । यो कीर्तिमानी संख्या हो । साउनमा मात्र ३९ हजार १५२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार व्यवसायीमार्फत २९ हजार २२४ र व्यक्तिगतमा ७ हजार ५६८ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ । जीटूजी सम्झौता अनुसार यस महिनामा २ हजार ३६० जना विदेश गएका छन् । यो सबै दक्षिण कोरिया गएको संख्या हो । साउनमा श्रम स्वीकृति लिनेमध्ये महिलाको संख्या ७ हजार ७२५ जना रहेको छ । जसमध्ये कोरियामा मात्र १३५ जना महिला विदेशिएका छन् ।

युरोपमा बढ्दै नेपाली कामदार

साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ । क्रोएसियाका लागि १६ सय ४९ जनाले श्रम स्वीकृति यस महिनामा लिएका छन् । पोल्याण्डका लागि ४६२, साइप्रसमा ४७८, रोमानियाका लागि ४७३, बेलायतमा १७७, रुसमा ५३, माल्टामा ६७२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्‍क छ ।

प्रमुख गन्तव्य यूएई

साउनमा नेपाली धेरै संख्यामा पुगेको मुलुक यूएई हो । गत वर्षभरमा मलेसियामा धेरै नेपाली गएका थिए । साउनमा भने यूएईमा ११ हजार ८७८ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा कतार रहेको छ । कतारमा साउनमा १० हजार ५६१ जना विदेशिएका छन् । साउदी अरेबियमा १० हजार ३० जना गएका छन् । मलेसियामा भने ९ हजार २६८ जना गएको तथ्याङ्‍क छ । कुवेतमा ३ हजार ७१७ जना नेपाली साउनमा पुगेका छन् । दक्षिण कोरियामा २ हजार ४१४ जना पुगेका छन् ।

२०७९ साल साउनमा मलेसियामा मात्र २४ हजार ४८४ जना नेपाली कामदारले श्रम स्वीकृति लिएका थिए । दोस्रो स्थानमा कतार थियो । जसमा १२ हजार ५६८ जना पुगेका थिए । यो वर्ष भने मलेसिया जाने कामदारको संख्या केही खस्किएको छ ।

काम सिकेर जाने श्रमिकको संख्या बढ्दै

केही वर्ष अगाडिसम्म अदक्ष कामदारको बाहुल्य रहेकोमा अब भने केही न केही काम सिकेर विदेश जाने नेपालीको संख्या उल्लेख्य देखिन थालेको छ । साउनमा श्रम स्वीकृति लिएकामध्ये केही न केही काम सिकेर विदेश जाने नेपालीको संख्या ३८ हजार ७४५ जना रहेको छ । अदक्ष कामदारको संख्या १२ हजार २४८ जना रहअ‍ेको छ । ‘सेमी स्कील्ड’, ‘प्रोफेसनल’ र ‘हाइ स्कील्ड’ कामदारको संख्या क्रमशः ४ हजार ४६४, ८१ र ३७ जना रहेका छन् ।

साउनमा धेरै नेपाली कामदार गएका प्रमुख ५ मुलुक

  • यूएई : ११,८७८
  • कतार : १०,५६१
  • साउदी अरव : १०,०३०
  • मलेसिया : ९,२६८
  • कुवेत : ३७१७
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?