+
+

संसदीय समितिको सभापतिमा रास्वपाले उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १९:१९

८ भदौ, काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ ।

समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरु सबैमा समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने बताए ।

‘११ गते हुने संसदीय विषयगत समितिका सभापतिहरुको निर्वाचन, हामीले यो अधिवेशनमा प्रस्ताव गरेका संकल्प र सार्वजनिक महत्वका विषयहरु र आगामी संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले खेल्नुपर्ने भूमिका विषय थियो, उनले भने,  ‘सभापतिको विषयमा पार्टीले जहाँ आफ्नो क्षमताले भ्याउँछ, त्यहाँ हामीले उम्मेदवारी दिने, अन्य समितिमा एक खालको आन्तरिक छलफल गर्नेछौं।’

उनले बैठकमा पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वको विषय भदौ १७ गतेपछि बस्ने संसदको बैठकमा छलफल गर्ने निर्णय गरेको बताए ।  उनले भने, ‘पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वका विषय जो राख्नुभएको छ, त्यो संसदमा छलफलमा अघि बढाउने, १७ गतेपछिको संसदमा छलफल गर्नेछौँ ।’

उनले पार्टीका उपनेता विराजभक्त श्रेष्ठले डेंगु रोग सम्बन्धी संकल्प प्रस्ताव दर्ता गरेको र त्यसलाई पनि संसदमा छलफल गर्ने निर्णय भएको बताए ।

‘पार्टीका उपनेता विराजभक्त श्रेष्ठले संकल्प प्रश्ताव दर्ता गर्नुभएको थियो, डेंगु रोग सम्बन्धी त्यो पनि राजनीतिक पार्टीसँगको अनौपचारिक छलफलमा संसदमा अब प्रक्रियामा लैजाने भन्ने छ ।’ उनले भने ।

उनले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको बताए ।

उनले भने, ‘निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले जुन बजेट छुट्याएको थियो, त्यसमा छलफल गर्ने भन्ने थियो, त्यसमा सर्वोच्च अदालतले रोकेको छ, त्यसको स्वागत गरेका छौ।’

प्रमुख सचेतक परियारले संसद अवरुद्ध खुलाउन पार्टीले महत्वपूर्ण भूमिका खेलेकाले अहिले संसद सुचारु भएको दाबी गरे । ‘गएको संसद अवरुद्धका विषयमा हामीले जिम्मेवारी भूमिका खेलेका थियौँ । आज संसदको अवरुद्ध खुलेको छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?