+
+

पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने रास्वपाको विधान

एकपटक केन्द्रीय सदस्य भएको व्यक्ति मात्रै सभापति उम्मेदवार हुन पाउने मापदण्ड बनाइएको छ । सभापति उम्मेदवार हुन प्रस्तावक र समर्थक गरी १० जना चाहिने विधान बनाइएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ वैशाख ४ गते २१:०६

४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षमा दुई पटक महाधिवेशन गर्ने गरी विधान संशोधन गरेको छ । रास्वपाले विधान दोस्रोपटक संशोधन गर्दै पाँच वर्षमा दुई पटक महाधिवेशन गर्ने विधान बनाएको छ ।

पाँच वर्षको अन्तरमा दुई पटक महाधिवेशन गरेर सभापति सहित ५० जना पहिलो चरणमा र थप ५० जनाका लागि दोस्रो चरणको महाधिवेशन हुने प्रावधान राखिएको छ । एक महाधिवेशनबाट अर्को महाधिवेशनको समयावधि १८ महिना देखि ३६ महिनाको फरक हुनुपर्ने विधानको व्यवस्था छ ।

‘केन्द्रीय समितिलाई स्थिरता दिन दुई चरणको महाधिवेशन गर्ने विधि बनाइएको हो,’ रास्वपामा महामन्त्री मुकुल ढकाल भन्छन्,‘चुनावी राजनीति र पार्टी राजनीति छुट्याउनलाई यस्तो गरिएको हो ।’

महाधिवेशन प्रतिनिधिहरुमा पालिका, निर्वाचन क्षेत्र परिषद्, जिल्ला परिषद्, प्रदेश परिषद्, केन्द्रीय लेखा आयोग, अनुशासन आयोग, केन्द्रीय विभाग, प्रदेश विभाग, प्रवास सम्पर्क विभागका सदस्य, आयोजक समितिका सदस्य सहभागी हुनेछन् ।

सभापतिले पहिलो चरणको महाधिवेशनमा १० र दोस्रो चरणमा १० गरी २० जना मनोनित गर्ने विधान बनाइएको छ । संघीय सांसद, पार्टीका प्रदेश प्रमुखहरू स्वतः केन्द्रीय सदस्य हुनेछन् । रास्वपामा १२१ केन्द्रीय समिति हुने व्यवस्था छ । २१ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था राखिएको छ । केन्द्रीय समितिमा एक तिहाई महिला र ६१ जना युवा हुनुपर्ने प्रावधान छ ।

एक पटक केन्द्रीय सदस्य भएको व्यक्ति मात्रै सभापति उम्मेदवार हुन पाउने मापदण्ड बनाइएको छ । सभापति उम्मेदवार हुन प्रस्तावक र समर्थक गरी १० जना चाहिने विधान बनाइएको छ । पार्टी सभापतिमा उम्मेदवार भएको तर १० प्रतिशत मत ल्याएको व्यक्ति स्वतः केन्द्रीय सदस्य बन्ने छ । सचिवालय गठन, महाधिवेशन दुई चरणमा हुने, प्रदेश संरचनाको आकार घटाउने लगायतका संशोधन गरिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी गराए ।

११ जनाको कार्यसम्पादन समिति हुने विधि हटाइएको छ । केन्द्रीय समिति सदस्यबाट २१ जनाको सचिवालय गठन गर्ने व्यवस्था राखिएको छ । सचिवालयमा एक तिहाई सांसद हुनुपर्नेछ । सचिवालयले पूर्णता भने पाइसकेको छैन ।

सचिवालयको बैठक हुँदा पदाधिकारीहरु सम्मिलित बैठक बस्ने गरिएको छ । आन्तरिक केन्द्रीय कार्यकारिणी समितिको समेत व्यवस्था राखिएको छ । सांसद र प्रदेश प्रमुखको जिम्मेवारीमा नरहेका केन्द्रीय सदस्यहरुबाट आन्तरिक केन्द्रीय कार्यकारिणी समिति हुनेछ । यस संरचना बढीमा २१ जनाको हुनेछ ।

केन्द्रीय, प्रदेश र स्थानीय गरी तीन तहका पार्टी संरचना बनाइएको छ । केन्द्रीय तहमा केन्द्रीय समिति र त्यसलाई नियमन गर्न केन्द्रीय परिषदको व्यवस्था गरिएको छ । केन्द्रीय समितिभन्दा उपल्लो संरचना केन्द्रीय परिषदलाई बनाइएको छ । तीनै तहका पार्टी संरचनालाई नियमन गर्ने  गरी परिषदको व्यवस्था गरिएको छ । जिल्ला अन्तर्गत रहेर उम्मेदवार क्लब, वडा समिति, वडा परिषद्, पालिका परिषद् र निर्वाचन क्षेत्र परिषद राखिएको छ । पार्टीको आधार समितिमा ‘वडा समिति’ रहनेछ ।

रास्वपाको पार्टी संरचनामध्ये सबैभन्दा ठूला आकार केन्द्रीय समिति (१२१) हुनेछ । वडा समिति ३ देखि ११ जनासम्म, पालिका समितिको संख्या यथावत ११ जना, जिल्ला समिति ३ जना हुने व्यवस्था छ । प्रदेश समितिका लागि राखिएको यस अघिको व्यवस्था हटाएर नयाँ प्रयोग गर्न लागिएको छ ।

प्रदेश समितिलाई कार्यसम्पादन समिति नामाकरण गरिएको छ । प्रदेशगत समिति बनाउँदा त्यस अन्तर्गत रहेका सबै जिल्लाका सभापतिमा थप ११ जना थपिने भएको छ । थप ११ जनामा ६ युवा, ४ महिला, १ दलित अनिवार्य गरिएको छ । यस अघि प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट १/१, थप ११ जना निवाचित र प्रदेश सभापतिले मनोनित गरेका तीन जनाको हुने व्यवस्था थियो ।

सदस्यता प्रदान तीन प्रकृतिका हुने व्यवस्था छ । प्रारम्भिक मतदाता नामावलीमा नाम नभएकाहरु प्रारम्भिक सदस्य, मतदातामा नामावली नभएकाहरु साधारण सदस्य र मानार्थ सदस्यताको व्यवस्था राखिएको छ ।

राष्ट्रका लागि उच्च योगदान दिएका प्रतिष्ठित व्यक्तिका लागि मानार्थ सदस्यता दिने सकिने उल्लेख छ । प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिने । पालिका, प्रदेश र केन्द्रीय समितिले सदस्यता प्रदान नगर्ने रास्वपाले विधान बनाएको छ ।

वडा, पालिका र जिल्ला गरी तीन तहमा राष्ट्र सेवक समाज गठन गरिने संशोधित विधानमा उल्लेख छ । प्रत्येक राष्ट्र सेवक समाजमा ७ देखि ३३ जना हुने व्यवस्था गरिएको छ । रास्वपाका शुभेच्छुक जागरुक नागरिकलाई पार्टीमा आवद्ध बनाउनका लागि राष्ट्र सेवक समाज गठन गर्ने रास्वपाले जनाएको छ ।

दैवि प्रकोप, विपत व्यवस्थापन तथा मानवीय उद्धार गर्ने स्वयंसेवी संस्थाका रुपमा र्‍यापिड एक्सन टीम गठन गरिने विधानमा उल्लेख छ । र्‍यापिड एक्सन केन्द्रदेखि तल्लो तहसम्म हुनेछ ।

रास्वपाबाट तीन तहमा उम्मेदवार हुन इच्छुकका लागि ‘उम्मेदवार क्लब’ मा नाम दर्ता गर्नुपर्ने व्यवस्था बनाइएको छ । उम्मेदवार क्लबमा सूची दर्ता गराउँदा पार्टी सदस्य भने हुनुपर्दैन । पार्टीका तर्फबाट उम्मेदवार हुनका लागि पार्टी सदस्यहरुलाई प्रशिक्षण दिने गरी लिडरसीप एकेडेमीको व्यवस्था विधानमा राखिएको छ । एकेडेमीबाट प्रशिक्षित नभएको व्यक्ति कुनै पनि तहकोे उम्मेदवार हुन नपाउने रास्वपाले जनाएको छ ।

केन्द्रीय समितिको बैठकको समयावधि ४५ दिन नकट्ने गरी यस अघि राखिएको व्यवस्था हटाएर ४ महिनामा एकपटक बस्ने विधान बनाइएको छ ।

केन्द्रीय तहमा सात विभाग रहने अघिल्लो व्यवस्था संशोधन गर्दै एक विभाग थपिएको छ । नीति तथा विचार, प्रचार प्रसार, मानवीय विकास प्रवद्र्धन, प्रवास नेपाली सम्पर्क, प्रशिक्षण, संगठन र अन्तराष्ट्रिय विभाग, र्‍यापिड एक्सन टिम (र्‍याट) विभाग थपिएको छ । तर, केन्द्रीय तहमा नै ३६ वटा विभाग बनिसकेका छन् । गत वैशाखमा ३६ वटा केन्द्रीय विभागको संयोजक समेत तोकिएको थियो । एउटा विभागमा बढीमा ११ जना हुने व्यवस्था छ । आवश्यकता अनुसार विभागहरु थप्न सकिने केन्द्रीय सदस्य कार्कीले जानकारी गराए ।

पार्टीको जलेश्वर बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो । विधान संशोधनका लागि कार्यदल बनाइएको थियो । उक्त कार्यदलमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु सोविता गौतम, डा. तोसिमा कार्की, क्रान्तिशिखा धिताल, गणेश कार्की र वरिष्ठ अधिवक्ता नारायण घिमिरे सदस्य थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?