+
+

सिन्धु मल्ललाई अष्ट्रेलियाले दिएन भिसा, भन्छिन्- कलाकारले मानव तस्करी गर्ने र लुक्ने नगर्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १६:५४

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सिन्धुले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुनसक्ने उल्लेख गरेकी छन् । आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलियाले समयमा भिसा नदिएको भन्दै उनले तीजको अवसरमा त्यहाँ हुने आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको समेत जानकारी गराएकी छन् ।

सिन्धुले लेखेकी छन्, ‘समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पूर्वनिर्धारित मेरा सम्पूर्ण कार्यक्रमहरु रद्द भएका छन् । म अष्ट्रेलियामा तीज विशेष कार्यक्रममा आउन नसकेकोमा सम्पूर्ण आदरणीय दर्शक-श्रोताज्यूहरुसँग क्षमा माग्दछु । कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने  कार्य नगर्नुहोला । यसको असर अन्य सच्चा कलाकारहरुलाई पर्दो रहेछ । विदेशमै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रक्रिया पूरा गरेर बस्न सक्नुहुन्छ ।’

उनले आफ्नो झण्डै तीन दशकको गायन यात्रामा पहिलो पटक अष्ट्रेलियाले समयमा भिसा नदिएको बताएकी छन् । ‘नेपालमा मन्दी छ, नेपाली कलाकारहरु विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन् भन्ने रहेको छ । संसारका ठूला देशहरु अमेरिका, बेलायत, क्यानडा, युरोप, जापान लगायतका २० वटाभन्दा बढी देशमा पटकौं कार्यक्रम गरेर समयमै नेपाल फर्केको मेरो रेकर्ड छ’ सिन्धुले भनेकी छन्, ‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भएको छैन । अष्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनु अगावै नेपाल फर्किएको रेकर्ड छ । तर यो पटक अष्ट्रेलियाले समयमा भिसा नदिनुलाई मैले मेरो कलाकारिताको अपमान ठानेकी छु ।’

सिन्धुले यस विषयमा नेपाल सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?