
२० वैशाख, काठमाडौं । अष्ट्रेलियामा आज संघीय निर्वाचनका लागि मतदान भइरहेको छ। निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बनीज नेतृत्वको लेबर पार्टी र विपक्षी नेता पीटर डटन नेतृत्वको लिबरल-नेसनल गठबन्धनबीच छ ।
२८ मार्च २०२५ मा संसद भंग गरिएपछि सरकार कामचलाउ अवस्थामा गएको थियो। त्यसपछि अप्रिल २२ देखि ३० सम्म पोस्टल मतदान सम्पन्न भएको थियो ।
अष्ट्रेलियामा दुई सदनात्मक व्यवस्था छ। माथिल्लो सदनलाई ‘सेनेट’ र तल्लो सदनलाई ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ भनिन्छ ।
तल्लो सदनमा बहुमत ल्याउने पार्टी वा गठबन्धनको नेता नै प्रधानमन्त्री बन्ने प्रचलन छ। यस सदनका १५० सिटका लागि आज मतदान भइरहेको हो । यसको नतिजा ढिलामा भोलि बिहान (मे ४ को बिहान) सम्म आउने अनुमान छ ।
तल्लो सदनसँगै माथिल्लो सदनका ७६ मध्ये ४० सिटका लागि पनि आज मतदान भइरहेको छ। यस सदनका सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक ३ वर्षमा आधा सदस्य फेरिन्छन् ।
अनिवार्य मतदान
अष्ट्रेलियामा १८ वर्ष वा सोभन्दा बढी उमेर पुगेका सबै नागरिकलाई मतदान गर्न अनिवार्य छ । यदि कुनै ठोस कारणबिनै मतदान नगरेमा २० अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्छ ।
यहाँ प्रधानमन्त्री बन्ने उमेरको कुनै सीमा छैन। अर्थात् १८ वर्ष नाघेका जोसुकैले मतदान गर्न र चुनाव लड्न सक्छन् र प्रधानमन्त्री समेत बन्न सक्छन् ।
प्रमुख चुनावी मुद्दाहरू
बढ्दो महँगी र चर्को ब्याज दर यसपटक प्रमुख मुद्दाका रूपमा उठाइएको छ। दुवै प्रमुख दलले जनतालाई आर्थिक राहत दिने वाचा गरेका छन् ।
त्यस्तै, अष्ट्रेलियाली जनताको लागि घर किन्नु कठिन बन्दै गएको छ। विशेषगरी युवाहरूले नयाँ घर किन्नमा ठूलो चुनौती भोग्नुपरेको छ ।
त्यहाँ २०२२ को बाढी, २०२३ को बुसफायर, जैस्पर चक्रवात र २०२५ को अल्फ्रेड चक्रवातका कारण जलवायु परिवर्तन पनि चुनावी मुद्दा बनेको छ ।
लेबर पार्टीले नवीकरणीय ऊर्जामा लगानी गरेको छ भने लिबरल पार्टीले आणविक ऊर्जाको प्रस्ताव अघि सारेको छ ।
अष्ट्रेलियामा विशेषगरी महिला मतदाताहरू स्वास्थ्य सेवामा सुधारको माग गरिरहेका छन् ।
कसले के भने ?
अष्ट्रेलियाका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बनीजले आफ्नो लेबर पार्टीको चुनावी प्रचार टोलीलाई धन्यवाद दिएका छन् । सिड्नी मोर्निङ्ग हेराल्डका अनुसार, चुनाव अभियानको अन्तिम दिन उनले अष्ट्रेलियाको मतदान प्रणालीको प्रशंसा गरेका थिए ।
उनले भने, ‘हामी जीवित लोकतन्त्रमा बाँचिरहेका छौं, जहाँ हरेक व्यक्तिलाई आफ्नो भनाइ व्यक्त गर्ने अधिकार छ र हरेक मतको एउटै मूल्य हुन्छ ।’
उनले जनतालाई लोकतन्त्रलाई हल्कासँग नलिन आग्रह गरे ।
त्यसैगरी, प्रधानमन्त्री पदका अर्का उम्मेदवार कन्जरभेटिभ लिबरल-नेसनल गठबन्धनका नेता पीटर डटनले मतदान गरेपछि सञ्चारमाध्यमसँग भने, ‘मलाई विश्वास छ, जनताले यो सरकारका असफलताहरू बुझिसकेका छन् ।’
उनले थपे, ‘हाल धेरैजसो परिवारहरू समस्यामा छन्, र देशले लेबर सरकारलाई थप तीन वर्ष सहन सक्दैन ।’
पीटर डटनले गठबन्धनसँग अर्थतन्त्र सुधार्ने र जनतालाई तुरुन्तै सहयोग पुर्याउने ‘सकारात्मक योजना’ रहेको दाबी गरे ।
चुनावी सर्वेक्षणमा लेबर पार्टी अगाडि
चुनावपूर्व गरिएका सर्वेक्षणहरूमा लेबर पार्टी अगाडि देखिएको छ। अनुमान अनुसार लेबर पार्टीले ८४ सिट जित्न सक्नेछ भने लिबरल गठबन्धनलाई ४७ सिट मिल्ने सम्भावना छ ।
यदि यस्तै नतिजा आयो भने एन्थोनी अल्बनीज दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेछन् ।
यद्यपि त्रिशंकु संसदको पनि अनुमान गरिएको छ। यदि कुनै पनि पार्टीले ७६ सिट जित्न सकेन भने साना दलहरूसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ ।
सन् २०१० मा जुलिया गिलार्डले यस्तै परिस्थिति झेल्दै सरकार बनाएकी थिइन् ।
प्रधानमन्त्री पदका प्रमुख उम्मेदवारहरू
एन्थोनी अल्बनीज
अष्ट्रेलियाका ३१औं प्रधानमन्त्री तथा लेबर पार्टीका नेता हुन् । उनले २०२२ को निर्वाचनमा स्कट मोरिसनलाई हराएर सरकार बनाएका थिए। उनका आमा मेरीएन एलरी आयरिस मूलकी थिइन् भने बुवा कार्लो अल्बनीज इटालियन मूलका थिए ।
अल्बनीजले सिड्नी विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री लिएका थिए । उनी १६ वर्षको उमेरमै लेबर पार्टीमा आबद्ध भएका थिए ।
त्यसपछि सिड्नी विश्वविद्यालयको विद्यार्थी राजनीतिमा सक्रिय रहे। सन् १९९६ देखि सिड्नीको इनर वेस्ट सिटबाट लगातार सांसद रहँदै आएका छन्, जुन क्षेत्रलाई लेबर पार्टीको गढ मानिन्छ ।
पीटर डटन
यसपटक लिबरल-नेसनल गठबन्धनतर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार हुन् । उनी २०२२ देखि विपक्षी नेताको जिम्मेवारी सम्हालिरहेका छन् ।
उनले क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीबाट व्यवसाय अध्ययनमा डिग्री लिएका छन् ।
डटनले सन् १९८९ देखि सन् १९९९ सम्म क्विन्सल्यान्ड प्रहरी सेवामा काम गरे, जहाँ उनले ड्रग स्क्वाड र यौन अपराध स्क्वाडमा सेवा गरे ।
सन् २००१ मा उनी लिबरल पार्टीबाट क्विन्सल्यान्डको सिटमा सांसद बने। उनी स्वास्थ्य तथा खेलकुद मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
सन् २०२२ को निर्वाचनमा पराजयपछि स्कट मोरिसनले राजीनामा दिएपछि डटनलाई निर्विरोध लिबरल पार्टीको नेता चयन गरिएको थियो ।
प्रतिक्रिया 4