+
+

विश्व चर्चित वान च्याम्पियनसिपमा नेपालका रविन्द्रले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १९:३३

१५ भदौ, काठमाडौं । मिक्स मार्सल आर्ट पछिल्लो समय विश्वमा निकै चर्चित खेलको रुपमा विकास हुँदैछ ।

विशेषगरी युवा पुस्तामाझ अझ लोकप्रिय रहेको एमएमएप्रति नेपालमा पनि पछिल्लो समय युवा पुस्ताहरु विस्तारै आकर्षित हुन थालेका छन् । मार्सल आर्ट्सका विभिन्न खेल खेलेका खेलाडीहरु समेत एमएमएमा लाग्न थालेका छन् ।

टिभीमा हेर्दै आएको युएफसी, वान च्याम्पियनसिप, फाइट नाइट्स ग्लोबलहरु केही विश्व चर्चित मिक्स मार्सल आर्ट्स प्रोमोसन्सहरु हुन् ।

त्यसमध्येको एक वान च्याम्पियनसिपमा नेपाली फाइटर रविन्द्र ढाट पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् र नेपाली खेलकुद क्षेत्रकै लागि यो ऐतिहासिक क्षण हुनेछ ।

‘पहिलो पटक यति ठूलो इभेन्टमा खेल्दैछु, एकदमै उत्साहित छु,’ रविन्द्रले भने, ‘उत्तिकै दबाब पनि छ । सबैले हेरिहनु भएको छ, ट्रेनिङ राम्रो भइरहेको छ, बेस्ट दिनेछु ।’

रविन्द्रले आगामी सेप्टेम्बर १५ मा थाइल्याण्डमा आयोजना हुने वान च्याम्पियनसिपमा रसियन फाइटरसँग प्रतिस्पर्धा गर्नेछन् । हाल त्यसका लागि तयारी गर्न रविन्द्र र उनका प्रशिक्षक दिविज पिया लामा बैंककमा छन् ।

प्रशिक्षक दिविजले नेपाली खेलकुद क्षेत्रकै लागि ठूलो उपलब्धी हुने बताए । ‘वान च्याम्पियनसिप एमएमएको ग्लोबल प्रमोसन अर्गानाइजेसन हो । कुनै पनि नेपाली खेलाडीले वान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो’, दिविजले अनलाइनखबरसँग भने ।

गत जुनमा काठमाडौंमा भएको नेपाल वारियर्स च्याम्पियनससिप (एनडब्लुसी) मा भारतीय खेलाडी जासोन लाइन्डोलाई पराजित गरेका रविन्द्रलाई वान च्याम्पियनसिपले एक फाइटमा प्रतिस्पर्धाको लागि अवसर दिएको दिविजले बताए ।

उनले भने, ‘वारियर्स च्याम्पियनसिपमा उनको फाइट देखेपछि वान च्याम्पियनसिपले रविन्द्रलाई फाइट दिएको छ । यो फाइट जित्यो भन्यो आउने वर्ष वान च्याम्पियनसिपले अरु फाइटहरु पनि दिन सक्छ । मल्टि इभेन्ट र मल्टी कन्ट्रयाक्ट पाउँछ ।’

वान च्याम्पियनसिपका लागि रविन्द्रले सम्झौता  गरिसकेका छन् । अहिले उनी त्यसकै लागि तयारी गरिरहेका छन् ।

बझाङका रविन्द्र कुनै समय आर्थिक अवस्था कमजोर हुँदा काम गर्न भारत पुगेका थिए । तर त्यसपछि मार्सल आर्ट्स खेल्न थालेका उनी अहिले भने फाइट खेल्नका लागि विदेश पुगेका छन् ।

तर दु:खको कुरा उनीहरुले यसका लागि खासै सपोर्ट भने पाउन सकेका छन् । केही साथीभाइको सहयोगमा सबै खर्च व्यक्तिगत रुपमा गर्ने गरी रविन्द्र र दिविज बैंककमा पुगेका हुन् । त्यहाँ रविन्द्रलाई रसियन प्रशिक्षकले पनि ट्रेनिङ दिइरहेको दिविजले जानकारी दिए ।

नेपाली फाइटरले अहिलेसम्मकै ठूलो फाइट खेल्न पाएकोले रविन्द्रलाई वान च्याम्पियन खेलाउने लगेको दिविजले बताए । यो फाइट खेलेवापत रविन्द्रले केही रकम पाउनेछन् । र फाइट नै जितेमा अरु रकम पनि पाउनेछन् । त्यो भने अहिले खुलाइएको छैन ।

रविन्द्रको प्रोफेसनल करियरमा यो धेरै ठूलो उपलब्धि हुने दिविजले बताए । भने, ‘यो फाइटपछि नेपाली एमएमए फाइटरको पनि विदेशमा चर्चा हुनेछ । अरु फाइटरको लागि पनि मोटिभेसन हुन्छ ।’

तर रविन्द्र जस्तै अर्को फाइटर बनाउन भने समय लाग्ने दिविजले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?