+
+

पाटनको कृष्ण मन्दिरमा राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १५:५१

२० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् ।

१७औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिर गोरखा भूकम्पबाट आंशिक क्षति पुगेकामा हालै मर्मतसम्भार गरिएको हो । मन्दिरको जीर्णोद्धार रु ५७ लाखको लागतमा काठमाडौँ उपत्यका संरक्षण कोषले गरेको हो ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पुजारी विष्णुधर राजोपाध्यायले जानकारी दिए ।

मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । अपराह्न २ बजेसम्म दुई लाख ५० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजा एवं दर्शन गरेको बताइएको छ ।

वैदिक सनातन धर्मावलम्वीहरुले आजका दिन जागरम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।

आज देशभरका भगवान कृष्णका मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?