+
+

महेन्द्र यादवमाथिको आक्रमणलाई लिएर कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १४:४२

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय र शून्य समयमा कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।

‘सन्काहाले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिंदैछ । नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्’ महामन्त्री थापाले भने ।

साथै, महामन्त्री थापाले शान्तिसुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराए । ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु – के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?’ महामन्त्री थापाले प्रश्न गरे ।

प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँ–ठाउँमा ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकोले धेरै बोल्ने होइन गर्ने हो ।’

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभाको अर्को बैठकमा घटनाको सत्यतथ्य सहितको विवरण लिएर आउन आग्रह गरे ।

‘म गृहमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु – यसपछि बस्ने प्रतिनिधिसभाको बैठकमा यो घटनाको बारेमा सम्पूर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट माग गर्न चाहन्छु’ प्रमुख सचेतक लेखकले भनेका छन् ।

पक्राउ परेका दोषी लगायत अरु पनि मानिसहरुको संलग्नता छ भने सत्यतथ्य छानबिन गरी कडा भन्दा कडा कारबाहीका लागि समेत उनले सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?