+
+

१० लाखभन्दा बढी नाफा लैजान नसक्ने गरी सेयर बजारमा एनआरएनको लगानी खोल्न सिफारिस

विजय पराजुली विजय पराजुली
२०८० भदौ २१ गते १७:२०

२१ भदौ, काठमाडौं । १० लाखभन्दा बढी नाफा फिर्ता लैजान नपाउने गरी गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रमा लगानी खुला गर्नुपर्ने सुझाव एक अध्ययनले दिएको छ । धितोपत्र बोर्डले गरेको एक अध्ययनले यस्तो सुझाव दिएको हो ।

गैरआवासीय नेपालीले नेपाली बैंकमा डलर खाता खोलेर त्यहाँ पठाएको रेमिट्यान्सको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

त्यसरी रेमिट्यान्सका रुपमा ल्याएर धितोपत्रमा लगानी गरेको सम्पूर्ण रकम फिर्ता लैजान दिनुपर्ने तर नेपालमा त्यसरी लगानी गरेर कमाएको नाफा वा पाएको लाभांशबाट भने वर्षमा १० लाख रुपैयाँ भन्दा बढी फिर्ता लैजान नपाउने गरी सेयर बजारमा लगानीको बाटो खोल्नुपर्ने सुझाव समितिको छ ।

धितापत्र बोर्डले सञ्चालक समिति सदस्य सुजनकुमार काफ्लेको संयोजकत्वमा अर्का सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक दीपा दाहाल रहेको अध्ययन समिति गठन गरेको थियो । समितिले गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रमा लगानी खुला गर्न यी लगायत अन्य कानूनी सुधारको सुझाव पनि प्रस्तुत गरेको हो ।

गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्ने प्रयोजनले खाता खोल्न कस्टोडियन बैंकको व्यवस्था गर्नुपर्ने, त्यस्तो बैंकमा खोलेको खातामा उनीहरुले रेमिट्यान्सका रुपमा रकम पठाउनुपर्ने र बैंकले त्यो रकममध्ये ९० प्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रदान गर्नसक्ने व्यवस्था गर्न समितिले सुझाव दिएको हो । गैरआवासीय नेपालीहरुले नेपाली मुद्रामा लिएको सोही कर्जा रकमबाट धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था गर्नुपर्ने अध्ययन समितिको निष्कर्ष छ । तर, आफैंले पठाएको रेमिट्यान्स बैंकमा राखेर कर्जा लिँदा बैंकले ब्याज लिन्छ कि लिंदैन भन्ने विषयमा भने प्रतिवेदनमा उल्लेख छैन ।

यसरी बैंकबाट लिएको कर्जाको राफसाफ गरेपछि रेमिटयान्समार्फत ल्याएको वा विदेशी मुद्रा खातामा जम्मा रहेको मौज्दात रकम एनआरएनले चाहेको बखतमा नेपालबाट विदेशमा विप्रेषण गरी पठाउन सक्ने व्यवस्था गर्न अध्ययन समितिले सुझाव दिएको हो ।

समितिले नेपालको धितोपत्र बजारमा एनआरएनले गर्न पाउने लगानीको सीमा र औजारहरु तोक्ने अधिकार नियामक निकायहरुलाई दिन पनि अध्ययनले सिफारिस गरेको छ । यी विषय समेटेर विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गर्न पनि समितिको सुझाव छ ।

अध्ययन समितिले गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा प्रवेश गर्ने सम्बन्धमा केही विद्यमान कानुनमा संशोधन, परिवर्तन तथा थप व्यवस्थाहरुमार्फत् कारोबार खुला गराउनुपर्ने अध्ययन समितिको सुझाव दिएको हो ।

अन्य देशहरुले अपनाएका नमूना अभ्यासहरुलाई समेत आधार लिई बैंकिङ प्रणाली तथा धितोपत्र बजार प्रणालीमा केही प्रकृयागत व्यवस्थाहरु मिलाएर गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्राउन सकिने समितिको निष्कर्ष छ । त्यसको लागि बैंक खाता सञ्चालन, कारोबार तथा डिम्याट खाता सञ्चालन, कस्टोडिएन बैंकको अवधारणासहित दोस्रो बजारमा कारोबार गराउन सकिने समितिको निष्कर्ष छ ।

‘नेपालको संविधानले गैरआवासीय नेपालीहरुलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने अवसर प्रदत्त भइसकेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत धितोपत्रको केही सीमित क्षेत्रमा मात्र लगानी गर्न पाउने नीति घोषणा भएकोमा लगानीका सीमित क्षेत्रहरु मात्र नतोकी धितोपत्रका सबै क्षेत्रहरुमा क्रमशः लगानीका अवसर खुला गरिएमा गैरआवासीय नेपालीहरु नेपालको बजारमा लगानी गर्न उत्प्रेरित हुनेछन् ।’

सरकारले लामो समयदेखि बजेटमार्फत धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्ने घोषणा गरेको छ । तर, त्यसका आगि आवश्यक नीतिगत र कानुनी सुधार भने हुन सकेको छैन ।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्ने कानुनी व्यवस्था मिलाइने भनी घोषणा गरेको थियो । चालु आवको बजेटमा पनि ‘एनआरएनलाई सेयर बजारमा सूचीकृत भएका हाईड्रोपावर तथा अन्य वास्तविक क्षेत्रका कम्पनीहरुमा लगानी गर्ने बाटो खुला गर्ने तथा गैरआवासीय नेपालीको पूँजी, प्रविधि र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने’ उल्लेख गरेको थियो ।

यस्तो छन् समितिका सुझावहरुः

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन

समितिले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा संशोधन गर्दै गैरआवासीय नेपालीलाई विदेशी लगानीकर्ताको परिभाषाभित्र समेटिएकोमा ऐनमा अलग्गै परिभाषा थप गर्न उपयुक्त सुझाव दिएको हो । यस्तै, गैरआवासीय नेपालीलाई लगानी गर्ने क्षेत्रमा समेत खुकुलो नीति लिन समितिले सुझाव दिएको हो । आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा एनआरएनलाई सेयर बजारमा सूचीकृत भएका हाईड्रोपावर तथा अन्य वास्तविक क्षेत्रका कम्पनीहरुमा लगानी गर्ने बाटो खुला गर्ने उल्लेख थियो । तर, धितोपत्र बोर्ड गठन गरेको अध्ययन समितिले भने धितोपत्रमा गरिने लगानीका लागि सबै क्षेत्रहरु क्रमशः खुला गर्ने सुझाव दिएको हो ।

त्यसका लगानी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको दफा १० मा संशोधन गर्दैै गैरआवासीय नेपालीहरुले नेपालको धितोपत्र बजारमा तोकिएबमोजिमका क्षेत्र तथा उपकरणहरुमा लगानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी लगानी गर्ने क्षेत्र तथा उपकरणका सम्बन्धमा नेपाल सरकारसँगको समन्वयमा नियामक निकायले समय समयमा तोके बमोजिम व्यवस्था गर्न सुझाव दिएको हो । यस्तै लगानीको सीमा पनि सरकारसँगको समन्वयनमा नियामक निकायले तोक्नसक्ने व्यवस्था गर्न सुझाव दिएको हो ।

अध्ययन समितिले गैरआवासीय नेपालीले लगानी फिर्ता लैजाने सम्बन्धमा पनि विदेशी लगानी तथा प्रविधि हसतान्तरण ऐनमा संशोधन आवश्यक रहेको बताएको छ । गैरआवासीय नेपालीहरुले नेपालको धितोपत्रको दोस्रो बजारको उपकरणमा गरेको शुरुको लगानी रकम फिर्ता लैजान चाहेमा सीमा नलाग्ने व्यवस्था गर्न सुझाव दिएको हो ।

लगानीबाट आर्जित मुनाफा तथा लाभांशको विप्रेषणको हकमा नियामक निकायले तोके बमोजिम सम्बन्धित निकायको स्वीकृति लिएर वार्षिक रुपमा १० लाख नेपाली रुपैयाँसम्म फिर्ता लैजान सकिने व्यवस्था गर्नु उपयुक्त गर्न समितिले सिफारिस गरेको छ । ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा धितोपत्रको कारोबार तथा स्वीकृति गर्दा गैरआवासीय नेपालीले व्यक्तिगत रुपमा समेत धितोपत्र सम्बन्धी दोस्रो बजारमा कारोबार गर्नसक्ने व्यवस्था गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गैरआवासीय नेपालीलाई विदेशी लगानीकर्ता भन्दा फरक रुपमा व्यवस्था गरी धितोपत्रको दोस्रो बजारमा लगानीका लागि स्वीकृति लिनुपर्ने व्यवस्था हटाएर नियमनकारी निकायबाट जारी नियमावली बमोजिम लगानी गर्न सकिने व्यवस्था गर्नुपर्छ ।’

यस्तै एनआरएनले धितोपत्रमा गर्न लगानीको स्वीकृति तथा नियमन गर्न ऐनमा धितोपत्र सम्बन्धी कारोबारको सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम हुने उल्लेख गर्नुपर्ने सुझाव दिएको हो । साथै दोस्रो बजारमा लगानी गर्न सक्ने सम्बन्धमा अन्य आवश्यक नीतिगत व्यवस्था गर्ने अख्तियारी धितोपत्र बोर्डलाई प्रदान गर्नुपर्ने सुझाव दिएको हो ।

यस्तै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको अन्य प्रावधानहरुमा विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली लगानीकर्तालाई छुट्याई अलग्गै व्यवस्था गर्न सुझाव दिएको हो । गैरआवासीय नेपालीहरुले धितोपत्र बजारमा लगानी गर्न सहज हुनेगरी कानुनमा आवश्यक संशोधन एवं परिमार्जन गर्न समेत सिफारिस गरेको छ ।

राष्ट्र बैंकले गर्नुपर्ने सुधार

समितिले नेपाल नेपाल राष्ट्र बैंकले पनि आवश्यक सहजीकरण गर्नुपर्ने सुझाव दिएको हो । राष्ट्र बैंकले गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्नका लागि सहजीकरण गर्न संरक्षक सदस्य बैंकको नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ । त्यस्तै बैंकमा गैरआवासीय नेपालीले अलग्गै बैंक खाता खोल्ने सक्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । गैरआवासीय नेपालीले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सहज हुनेगरी राष्ट्र बैंकले छुट्टै निर्देशन, नियमन वा कार्यविधि जारी गर्न सुझाव दिएको छ ।

धितोपत्र बोर्डले गर्नुपर्ने सुधारहरु 

  • गैरआवासीय नेपालीले डिम्याट खाता डिजिटल माध्यमबाट समेत खोल्न सकिने व्यवस्था लागू गर्नुपर्ने । त्यसको लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावलीमा निक्षेप सदस्यहरुले गैरआवासीय नेपालीहरुको डिम्याट खाता खोल्दा नेपाल सरकारले जारी गरेको गैरआवासीय परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान गरी खाता खोल्न तथा खाता अद्यावधिक गर्न सक्ने गरी संशेधन गर्नुपर्ने ।
  • गैरआवासीय नेपालीलाई धितोपत्र दलालकोमा ट्रेडिङ खाता खोल्न, ग्राहक पहिचानलाई सरलीकरण गरी प्रविधि प्रयोग गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गर्नुपर्ने ।
  • धितोपत्र दलालले सेवा प्रदान गर्दा अपनाउनुपर्ने उपाय र सेवालाई सरलीकरण धितोपत्रको दोस्रो बजारमा गरिने कारोबारका लागी खोलिएको बैंक खाता, डिम्याट खाता र धितोपत्र दलालसँग खोलेको खाता एक आपसमा आवद्ध हुनु पर्ने । यस्तै गैरआवासीय नेपालीले कारोबार गरेको धितोपत्रको राफसाफ तथा फर्छ्यौट गरी प्रचलित कर एवम् शुल्क कमिसनहरु भुक्तानी गरी ग्राहकको बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा गरिदिने ।
  • गैरआवासीय नेपालीले खरिद गर्न सक्ने/लगानी गर्न पाउने धितोपत्र/क्षेत्र/संख्या/लगानीको सीमा रकम/अवधि तथा रकम फिर्ता लाने प्रकृया, सूचीकृत संगठित संस्थाको वार्षिक साधारण सभामा मतदान गर्ने तथा सञ्चालक समितिमा भाग लिने सम्बन्धी व्यवस्था, सम्पत्ति हस्तान्तरण/अपुताली सम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने ।
  • गैरआवासीय नेपालीका लागि धितोपत्रको दोस्रो बजारमा परिवर्तनीय बैंक खाता खोली कारोबारका लागि सहजीकरण गर्न (विदेशी तथा स्वदेशी मुद्रामा खाता खोल्ने) धितोपत्र बोर्डको अनुरोधमा नेपाल राष्ट्र बैंकबाट इच्छुक वाणिज्य बैंकहरुलाई गैरआवासीय नेपालीको लागि नेपालको दोस्रो बजारमा कारोबारका लागि सहजीकरण गर्न संरक्षक सदस्य बैंकको अनुमतिको व्यवस्था गर्नु पर्ने ।
  • संरक्षक सदस्य बैंकले गैरआवासीय नेपाली ग्राहकको तर्फबाट डिम्याट खाता खोल्ने, धितोपत्र दलालकोमा ग्राहकको तर्फबाट कारोबार खाता खोलिदिने, ग्राहकको तर्फबाट विद्युतीय निर्देशन पुर्जी जारी गर्न सक्ने सम्बन्धमा धितोपत्र बोर्डले सदस्य बैंकको कार्यक्षेत्र तोक्ने व्यवस्था मिलाउने । सदस्य बैंकलेशुल्क लिई गैरआवासीय नेपालीसंग सम्झौता गरी यी सेवा प्रदान गर्न सक्ने ।
  • संरक्षक सदस्य बैंकले गैरआवासीय नेपाली ग्राहकको कारोबारको प्रतिवेदन नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डलाई तोकिएको समय भित्र गराउनुपर्ने व्यवस्था मिलाउने ।

अध्ययन समितिले गैरआवासीय नेपालीलाई सेयर कारोबार गर्न प्रकृयागत व्यवस्था गर्न ९ बुँदे सुझाव दिएको छ । बैंक खाता व्यवस्थापन डिम्याट तथा कारोबार खाता लगातका काम गर्न आवश्यक प्रकृया निमार्ण गर्न सुझाव दिएको हो ।

  • धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न इच्छुक गैरआवासीय नेपालीले परिचयपत्रका आधारमा संरक्ष बैंकमा विदेशी मुद्रा खाता खोल्नु पर्ने व्यवस्था गर्ने ।
  • गैरआवासीय नेपालीले संरक्षक बैंकमा विदेशी मुद्रा खाता खोल्दा सेयर कारोबार प्रयोजनका लागि नेपाली मुद्राको चल्ती खाता खोल्नु पर्ने व्यवस्था गर्ने ।
  • संरक्षक सदस्य बैंकले गैरआवासीय नेपालीको तर्फबाट डिम्याट खाता खोल्ने तथा धितोपत्र दलालकोमा ग्राहकको कारोबार खाता खोलिदिई त्यसको युजर आइडी तथा पासवर्ड ग्राहकलाई उपलब्ध गराउने व्यवस्था मिलाउने । ग्राहकले कारोबार गरेपछि विद्युतीय निर्देशन पुर्जी जारी बैंकले गरिदिने । त्यसको जानकारी ग्राहकलाई तत्कालै गर्नुपर्ने व्यवस्था मिलाउने ।
  • ग्राहकले कारोबार गर्ने प्रयोजनका लागि विदेशी मुद्रा खातामा सुरुमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गर्ने । ग्राहकको अनुरोधमा उक्त खातामा जम्मा भएको विदेशी मुद्रामा अंकित रकममध्ये ग्राहकले चाहेजति रकम कारोबार प्रयोजनका लागि खोलिएको नेपाली मुद्राको चल्ती खातामा प्रचलित विनिमय दरले रकमान्तर गरी जम्मा गरिदिने व्यवस्था संरक्षक बैंकले मिलाउने । त्यस्तो खातालाई ग्राहकको डिम्याट खाता तथा कारोबार खातासँग आवद्घ गराई त्यस्तो खाताबाट खरिद कारोबार गर्दा कट्टा गर्ने र बिक्री कारोबार गर्दा जम्मा गर्ने व्यवस्था बैंकले मिलाउने । (सदस्य बैंकलेयो कार्यको लागि कुनै धितोपत्र दलालसँग सम्झौता गरी कार्य गर्न सक्ने ।
  • ग्राहकले रकम फिर्ता नलैजाने गरी कारोबार गर्न चाहेमा त्यस्तो ग्राहकले विदेशी मुद्रा खाताबाट चाहेजति रकम ‘फिर्ता नहुने नेपाली मुद्रा खाता’मा रकमान्तर गरी त्यस्तो खाताबाट दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था मिलाउने । त्यस्तो खाता वचत खाताको रुपमा समेत खोल्न सक्ने र कारोबार पश्चात् त्यस्तो खातामा प्राप्त रकमलाई विप्रेषण गर्न नसक्ने व्यवस्था संरक्षक सदस्य बैंकले मिलाउने । फिर्ता नहुने नेपाली मुद्रा खाता’ प्रयोग गरी सेयर कारोबार गर्दा त्यसको लागि सदस्य बैंकले ग्राहकको अलग्गै कारोबार खाता तथा डिम्याट खाता खोलिदिने व्यवस्था हुनुपर्ने ।
  • ग्राहकले ‘फिर्ता गर्न सकिने नेपाली मुद्रा खाता’ बाट दोस्रो बजारमा कारोबार गर्दा संरक्षक बैंकले त्यसको लागि ग्राहकको अलग्गै कारोबार खाता तथा डिम्याट खाता खोलिदिने । कारोबार पश्चात् प्रचलित कर तथा कमिशनहरु भुक्तानी गरी धितोपत्र दलाले संरक्षक सदस्य बैंकमा रहेको ‘फिर्ता गर्न सकिने नेपाली मुद्रा खाता’ मा जम्मा गरिदिने व्यवस्था मिलाउने ।
  • ग्राहकले संरक्षक सदस्य बैंकसँग सम्झौता बमोजिम शुल्क भुक्तानी गरी तोकिएका सबै सेवा लिन सक्ने र ग्राहकको कारोबारको प्रतिवेदनको कार्य सदस्य बैंकले आवश्यकता तथा तोकिए अनुसार नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलाई गराउने व्यवस्था मिलाउने ।
  • प्रकृयागत सुधारको लागि नेपाल राष्ट्र बैंकसँग समेत समन्वय गरी नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड दुवैले जारी गर्ने परिपत्रहरुमा सामान्जस्यता कायम गर्ने
  • यदि गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको सीमा कायम गरिएमा कुनै गैरआवासीयले उक्त सीमा भन्दा बढी लगानी गरेको वा सो सीमा नजिक पुग्न लागेको सजगताको जानकारी ग्राहकलाई नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम मार्फत् जारी हुने व्यवस्था मिलाउने । तोकिएको सीमाभन्दा बढीको कारोबार ट्रेड म्यानेजमेन्ट सिस्टम मार्फत् गर्न नमिल्ने व्यवस्था स्टक एक्सचेन्ज वा धितोपत्र दलालले स्फटवेयर मार्फत गर्ने ।
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?