+
+
शहर उज्यालो अभियान :

ललितपुर महानगर झिलिमिली, काठमाडौं अँध्यारै

अमृत चिमरिया अमृत चिमरिया
२०८० भदौ २२ गते १८:१०
हाइमास्ट लाइट जडानपछि ललितपुर शहर ।

२२ भदौ, काठमाडौं । पछिल्लो समय रातमा ललितपुर महानगरपालिकाका अधिकांश क्षेत्र झिलिमिली हुन्छ । स्मार्ट स्ट्रिट लाइट र हाइमास्ट लाइटको तेजिलो प्रकाशले ललितपुर शहरको सौन्दर्यलाई थप बढाएको छ । चक्रपथभित्रका कोर एरिया र चक्रपथ बाहिरका क्षेत्र सडकबत्तीले उज्यालिन्छ । महानगरपालिकाले सडकमा स्मार्ट स्ट्रिट लाइट र हाइमास्ट लाइट जडान गरेपछि ललितपुर शहरको मुहार नै फेरिएको आभाष हुन्छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा सडकबत्ती राख्दा स्थानीयले सुरक्षित महसुस गरेको बताए । ‘हामो नगरमा विस्तारै रात्रिकालीन व्यवसाय पनि फस्टाउँदैछ, सुरक्षित नगरको लागि सडक बत्ती र हाइमास्ट लाइटहरु धमाधम जोडेका हौं,’ उनले बताए । ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथूले सुरक्षा र बजारको दृष्टिकोणले सडकबत्ती महत्वपूण रहेको बताए । ‘ललितपुरमा हिँड्ने मान्छे अब असुरक्षित महसुुस गर्नुपर्दैन, गल्लीहरु पनि उज्यालो हुनेगरी बत्ती भएपछि राती अबेर हिँड्ने् मान्छे पनि ढुक्क भएर हिँड्न सक्छन्,’ हाछेथुले बताए ।

पुल्चोकको एक गैरसरकारी कार्यालयमा काम गर्ने रुपेश थिङ भन्छन्, ‘म सँधै बेलुका निस्किँदा ९ बज्ने गर्छ, त्यतिबेला पुल्चोकबाट थापाथली तर्फ जाँदा ललितपुर र काठमाडौं कति फरक छ भन्ने आभास हुन्छ ।’ काठमाडौं महानगरका मेयर बालेन्द्र शाहका समर्थक समेत रहेका थिङले काठमाडौं विकास गर्ने हो भने पहिले सुरक्षित सहर बनाउनुपर्ने सुझाउँछन् । ‘हिँड्ने मान्छेले मोबाइल बालेर, डराइडराइ हिँड्न नपरे हुन्छ, अहिले ललितपुरमा जस्तो उज्यालो छ, काठमाडौंमा पनि त्यस्तै बनाउनुपर्छ ।’

ललितपुर महानगरपालिकाका मुख्य–मुख्य १२ वटा चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान भइसकेको छ । ललितपुर महानगरले ‘उज्यालो शहर अभियान’ अन्तर्गत शहरका मुख्य चोकहरुमा ‘हाइमास्ट लाइट’ जडान गरेको हो । ललितपुरका अधिकांश सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट र मुख्य चोकहरुमा हाइमास्ट लाइट जडान भइसकेको हो । ललितपुरले चक्रपथबाहिरका वडाहरुमा १४ सय बत्ती जडान गरिसकेको छ । ललितपुर महानगरको ‘कोर एरिया’ मा दुई वर्ष अगाडि नै स्मार्ट सडक बत्ती जडान भइसकेको थियो । महानगरभित्रका तीन वटा रुटमा जम्मा ६६९ वटा स्मार्ट स्ट्रिट लाइट जडान भइसकेका छन् । विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न तयारी भइरहेको महानगरले महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

काठमाडौं अँध्यारै 

संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाका एकाध चोक र मुख्य सडक बाहेक अन्य स्थान रातको समयमा अँध्यारै रहन्छ । ललितपुर महानगरसँगै सटेको काठमाडौं महानगरका साना सडक तथा गल्लीहरुमा सडकबत्ती छैन । जसका कारण रातको समयमा शहर अध्यारै रहन्छ । सहायक सडक, गल्ली, सडकपेटी, करिडोर क्षेत्रमा सडकबत्ती नहुँदा पैदलयात्रुहरु समस्यामा पर्दै आएका छन् । रातको समयमा विशेषगरी पैदलयात्रुहरु सडकपेटी, साना गल्ली र करिडोरमा हिँड्न समस्या हुने गरेको उनीहरु गुनासो गर्छन् ।

बिजुली बजारदेखि धोबीखोला करिडोर हुँदै वैदेशिक रोजगार बोर्ड तर्फ जाने सडक अँध्यारो हुँदा मोबाइलमा टर्च बालेर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय सविता क्षेत्री बताउँछिन् । ‘मेनरोड नआइपुग्दासम्म बाटो अँध्यारो नै हुन्छ, अहिले आर्क ब्रिजमा लाइट हालेपनि भित्रीबाटो हिँड्न साह्रै गाह्रो छ,’ उनी गुनासो गर्छिन् ।

यस्तो गुनासो गर्नेमा उनी मात्रै होइनन्, जडीबुटी पुलबाट नरेफाँट तर्फ सँधै पैदलमार्फत हिँड्डुल गर्ने नरेशरत्न बज्राचार्यको गुनासो पनि सविताको जस्तै छ । ‘यहाँको बाटामा धेरै खाल्डाखुल्डी छन्, त्यसमाथि सडक बत्ती नहुँदा हिड्ने मान्छेलाई हैरानै पर्छ,’ बज्रचार्यले भने । मुख्य सडकबाहेक अन्य स्थानमा विद्युत प्राधिकरण, महानगरपालिका र सडक विभागले चासो नदिँदा संघीय राजधानी भन्ने लाज लाग्ने अवस्था आएको उनी बताउँछन् ।

काठमाडौं महानगरपालिकाको कल सेन्टरमा आएको गुनासो हेर्दा पनि उक्त कुरा पुष्टि हुन्छ । कलसेन्टरमा सडक अँध्यारो भएर समस्या भएको भन्ने गुनासो आउने गरेको सेन्टरका कर्मचारीहरु नै बताउँछन् । ‘सडक अँध्यारो भयो भन्ने, फुटपाथमा हिँड्न गाह्रो भयो भन्ने, फ्लाइओभरमा बत्ती छैन भन्ने गुनासाहरु आउने गरेका छन्,’ कलसेन्टरले उक्त गुनासो काठमाडौं महानगरको सार्वजनिक निर्माण विभाग, सहरी व्यवस्थापन विभामा फरवार्ड गरेको ती कर्मचारी बताउँछन् ।

महानगरका नगर प्रहरीका अधिकारी पनि सुरक्षाको दृष्टिकोणले सहर उज्यालो हुनुपर्ने बताउँछन् । ‘महानगरको भित्री भागहरुमा सडक बत्तीहरु खासै छैनन्, भएका पनि मधुरो छ । हिउँदमा त सोलार लाइटमा धुलो जमेर बत्ती नै नबल्ने समस्या छ,’ नगरप्रहरीका एक उच्च अधिकारी भन्छन् । उनले महानगरमा नयाँ जनप्रतिनिधि आइसकेपछि उक्त समस्या सुनाएपनि हल हुने आश्वासन मात्रै पाएको बताए ।

तर काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख राम थापाले मुख्य सडकहरुमा बत्तीको खासै समस्या नरहेको बताए । उनले महानगरमा कति सडकबत्ती छ भनेर यकिन तथ्यांक भने नभएको बताए ।

‘महानगरमा वडा कार्यालय, महानगर आफैं, टेलिकम, विद्युत प्राधिकरणहरुले पनि बत्ती राख्छ, अब कति बत्ती छ भन्ने तथ्यांकमा त गन्न सकिँदैन,’ थापाले भने । उनी भन्छन्, ‘सडक बत्ती नै नभएको भन्ने त होइन, कुनै मधुरो होला, कुनै बिग्रेको होला तर बत्ती मुख्य सडकहरुमा छन्,’ थापा भन्छन् ।

काठमाडौंलाई ६ महिनाभित्र उज्याले बनाउने तयारी

रातको समयमा काठमाडौं महानगर अँध्यारो हुने समस्या नौलो होइन । यो समस्या वर्षौं देखिको समस्या हो । सडकबत्ती र पर्याप्त सुरक्षाको अभावले काठमाडौंको रात्रिकालीन अर्थतन्त्र चलायमान हुन नसकेको बहस हुँदै आएको छ । गत २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सबै उम्मेदवारहरुले सडक बत्ती र सुरक्षालाई प्रमुख एजेन्डा बनाएका थिए । तर, महानगरमा रहेका तीनवटा ‘आर्कब्रिज’हरुलाई सौन्दर्यीकरण गर्न भनेर झिलिमिली गर्न भ्याएको काठमाडौंले सडकबत्तीमा भने अहिलेसम्म प्रगति गरेको देखिँदैन ।

सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भनिएको थियो । त्यसअनुसार विद्युत् प्राधिकरणले बोलपत्र आह्वान गरेर ठेकदार छनोटको प्रक्रिया अन्तिम चरणमा भए पनि महानगरपालिकाले सम्पत्ति कर, बत्तीको स्वामित्व लगायत विषय निकालेपछि त्यो रोकिएको नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका इन्जिनियर सागरमणि ज्ञावलीले बताए ।

अब भने महानगर र प्राधिकरणबीचको करको विषयलाई छोडेर सडक बत्ती जडान गर्ने सहमति भएको उनले बताए । महानगरपालिका, प्राधिकरण सहित अन्य संस्थाहरुको बास्केट फण्डबाट सडकबत्ती हाल्ने काम अन्तिम चरणमा पुगेको ज्ञवालीले बताए ।

‘पहिलेको २–३ वर्ष महानगरबाट यत्तिकै अल्झिन पर्‍यो । डेढ वर्ष अगाडि सक्नुपर्ने काम अहिलेसम्म सुरु हुन सकेको थिएन । अबको २ हप्ताभित्र काम सुरु हुन्छ,’ ज्ञावलीले भने । उनले सडकबत्तीका लागि चाहिने सामग्रीहरु अर्डर गरिसकेको भन्दै ६ महिना भित्र काठमाडौंमा परिवर्तन देख्न पाउने बताए । ‘बास्केट फण्डबाट भएपनि यसको सञ्चालन खर्च विद्युत प्राधिकरणले नै गर्छ, खासमा यो दुई हजार बत्ती जडान गर्ने मात्रै होइन, एउटा प्रणाली सेट गर्ने हो,’ ज्ञावली भन्छन्, ‘यसको केबलिङहरु अण्डरग्राउण्ड हुन्छन्, यो स्मार्ट सिटीको एउटा प्रवेश हो । स्मार्टबत्तीहरु सर्भरबाट नै कन्ट्रोल हुन्छ ।’

पाँच महिनाभित्र काठमाडौंका मुख्य सडकहरु उज्यालो हुने काठमाडौं महानगरकासार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले दाबी गरे । ‘पुरानो योजनाअनुरुप काठमाडौंका मुख्य सडकहरुमा २ हजार भन्दा धेरै स्मार्ट लाईटहरु हाल्दैछौं,’ उनी भन्छन् । महानगरले उज्यालो कार्यक्रमअन्तर्गत थप सडकबत्ती जडान गर्ने योजना रहेको पनि उनले बताए । त्यसका लासग २० करोडको टेन्डर आ्हवान गरेर थप सडकबत्तीहरु राख्ने थापाले बताए । ‘दसैंअघि नै यसका लागि नयाँ टेन्डर आह्वान हुन्छ,’ उनले भने ।

अन्य शहर पनि बन्दैछ उज्यालो

ललितपुर महानगर मात्रै नभई देशका अन्य ठूला शहरहरुलाई पनि उज्यालो बनाउने अभियान सुरु भइसकेको छ । पर्यटकीय नगरीको पहिचान बनाएको पोखरा शहरलाई पनि उज्यालो बनाउने योजना स्वरुप सडकबत्तीहरु धमाधम जडान भइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखरा महानगरपालिकाले शहरका २३ वटा मुख्य चोकहरुमा १६ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक २३ वटा हाइमास्ट लाइट जडान गरिसकेको छ ।

सडकबत्ती जडान गरेपछिको पोखरा शहर ।

महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार सात वटा सडक बत्ती जडान गरिएको छ । त्यस मध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती रहेका छन् । सडक बत्ती जडान आयोजनाको लागत १४ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था महानगरका मेयर धनराज आचार्यले बताए ।

भरतपुरमा दोस्रो चरणको काम जारी

भरतपुर महानगरपालिकामा उज्यालो शहर अभियानअन्तर्गत दोस्रो चरणको काम गरिरहेको जनाएको छ । पहिलो चरणमा ७८ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामो दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्ने गत १४ फागुन २०७९ मा बोलपत्र आह्वान भइसकेको महानगरले जनाएको छ ।

भरतपुरमा जडान गरिएका सडकबत्ती ।

महानगरले निर्माण व्यवसायीसँग सम्झौता गरेर एक वर्षमा सम्पन्न गर्ने गरी काम गरेको जनाएको छ । महानगरका अनुसार दोस्रो चरणमा विभिन्न ठाउँमा आठ वटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राख्ने काम भइरहको छ । पहिलो चरणमा सडक क्षेत्रमा एक हजार नौ सय ३३ वटा बत्ती जडान गरेको थियो । दोस्रो चरणमा २६ करोड ५० लाखको बोलपत्र आह्वान भएर काम मेयर रेनु दाहालले बताएकी छिन् ।

साढे ११ हजार स्मार्ट स्ट्रिट लाइट जडान

यी तीन महनानगर मात्रै होइन, प्राधिकरणले पालिकाहरुसँगको सहकार्यमा ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत विभिन्न ठूला शहरहरुमा साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिसकेको छ ।

नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ ।

प्राधिकरणले ललितपुर र पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काइ, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकेको जनाएको छ ।

भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले उल्लेख गरेको छ । २ महानगरपालिका, ३ उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ ।

सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी रहने छ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहने छ । नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहनेछ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?