+
+

मर्मत र सरसफाइपछि रौतहटसम्म पुग्यो गण्डक नहरको पानी   

रासस रासस
२०८० भदौ २३ गते १९:००

२३ भदौ, कलैया । क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले पर्सा, बारा तथा रौतहटसम्मको ८१ किमी लम्बाइको नहर सरसफाइ तथा मर्मतसम्भार गरेपछि सिँचाइ सुविधा पुर्‍याइएको हो ।

नहरमा पानी उपलब्ध भएपछि सिँचाइको सुविधा उपलब्ध भएको छ । पर्सादेखि रौतहटसम्म १५ वटा ब्लक रहेको नहरको सम्पूर्ण ब्लकमा पानी पुगेको कार्यालयले जानकारी दिएको छ ।

विगतमा ११ नं ब्लक बारासम्म मात्र नहरको पानी आउने गरेको थियो । कार्यालयले नहरको सरसफाइका साथै प्राविधिक निर्माण आफ्नै स्रोतसाधनबाट गरेको थियो भने मर्मतसम्भार भारतीय पक्षबाट गरिएको कार्यालयका प्रमुख मनोरञ्जनकुमार सिंहले जानकारी दिए ।

कार्यालयका अनुसार पर्सास्थित नेपाल–भारत सीमाभन्दा करिब २७ किमी पश्चिम भारतीय क्षेत्रको घोडहरा र कटरा नदी एकै स्थानमा मिसिएर बाढी आउँदा नहरको मूल संरचना करिब एक सय फिट बगाएको थियो । त्यसपछि नहरमा उक्त नदीको बाढी पसेको र नेपालमा पानी आउन छोडेको थियो ।

गण्डक नहर क्षतिग्रस्त हुनु अघिसम्म भारतीय पक्षले नहरमा सात सय २४ क्युसेकसम्म पानी दिने गरेको थियो । मर्मतपछि भारतीय पक्षबाट यस वर्ष पानी उपलब्ध गराएपछि नहरको १५ ब्लकसम्म पानी पुगेको हो ।

गण्डक ब्यारेजको निर्माण भारतले गरेकाले सञ्चालन पनि भारतीय पक्षले नै गर्दै आएको छ । नगरको पानी भारतीय पक्षले समेत लिने गरेको कार्यालयका सूचना अधिकारी सुरेश साहले जानकारी दिए ।

नगर निर्माणपछि सन् १९७५ र १९७६ मा दुई चरणमा गरी भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नवलपरासीको भैसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले गण्डक नहरमा पानी छोड्ने गरेको छ ।

गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन जिल्लामा गरी ३७ हजार चार सय हेक्टर जमिन सिँचाइ सुविधा उपलब्ध भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?